• कपुरी ब्युरो

धरान : वीपी प्रतिष्ठानको हाडजोर्नी विभागका डाक्टर रोशन कलवारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान नियमावली २०५५ को ठाडो उल्लङ्घन गर्दै प्रतिष्ठानको गेटैमा निजी क्लिनिक खोलेका छन् ।

उक्त समाचार 'कपुरी न्यूज'ले प्रकाशित गरेपछि उनले फेसबुकमा लेखेको प्रतिक्रियाले रोशन कलवार वीपी प्रतिष्ठानका ‘डक्टर’ हुन कि ‘डन’ हुन भन्ने प्रश्न आफै उठाएका छन् ।

‘बिपीका डाक्टर कलवार भित्र एसोसिएट प्रोफेसरको जागिर खाँदै गेट बाहिर मेडिकल व्यापार गर्दै’ शीर्षकको समाचारमा उनको भनाई पनि छ । कलवारले ‘हामी वीपी (प्रतिष्ठान)को दास होइनौँ ।’ भनेको समाचारमै उल्लेख छ ।

उनको त्यो भनाई एक सभ्य ‘डाक्टर’ले बोल्ने भाषा नभई ‘डन’ शैलीमा भएकोप्रति हाम्रो ध्यानाकर्षण भएको थियो । ‘डाक्टर’ इज्जतका लागि त्यस्तो भनाई राख्ने कि नराख्ने भन्नेमा हामी अलमलमा थियो। तर समाचारमा ‘व्यालेन्स’ पुर्‍याउन उनले भनेको वाक्य राख्न हामी बाध्य भएका हौँ ।

समाचार प्रकाशित भएपछि आएको उनको फेसबुककै प्रतिक्रियाले वीपी प्रतिष्ठान र स्वयं कलवारलाई सोध्न बाध्य बनाएको छ ‘रोशन कलवार वीपी प्रतिष्ठानका ‘डाक्टर’ हुन कि ‘डन’ हुन ?

समाचारमा ‘सन्तुलन’ नभए, चित्त नबुझे, मानहानी, प्रतिष्ठानमा आँच आएको लागेमा नियम, कानुनका प्रक्रियाहरू छन् । विद्वान सभ्य ‘डाक्टर’लाई हामीले त्यो बुझाई रहनु पर्दैन । उनी त झन् एसोसिएट प्रोफेसर भैसकेका डाक्टर ।

तर कलवारले एक डाक्टरको भाषामा जस्तो नलाग्ने निकृष्ट भाषामा समग्र पत्रकारितालाई नै ‘जुठो खान पल्केको हो ?’ प्रश्न गरेका छन् । पीत पत्रकारको नाम लिनु नपरोस भन्दै ‘कपुरी न्यूज’की पत्रकार रश्मी प्रधानको नाम समेत उल्लेख गरी इज्जत प्रतिष्ठामा आँच पुर्‍याउने प्रयास समेत गरेका छन् ।

पत्रकारलाई गाली गलौज गर्ने रोशन कलवारले यसो भन्नु आकाश तिर फर्केर थुकेका हुन । उनले आफ्नै विगतलाई सम्झिएर आफैलाई धिक्कारेका हुन । नेपालीमा उखानै छ ‘जो चोर उसैको ठुलो स्वर’ पत्रकारको इज्जत, प्रतिष्ठामा आँच पुर्‍याउने गालीगलौज सभ्य डाक्टरले कहिल्यै पनि गर्दैन ।

कलवार डाक्टर हुन कि के हुन भन्ने कुरा २०७८ माघ ७ र २५ गते प्रकाशित समाचारमा कलवारले गरेको हरकतबाट प्रष्ट हुन्छ । कलवारसंग त्यो समाचारको खण्डन गर्ने अहिले पनि तागत छैन । किनकि छानबिनले उनी जे थिए त्यो त्यो स्पष्ट गरेको थियो ।

वीपी प्रतिष्ठानमा विदेशी दातृ संस्थाले निःशुल्क प्रत्यारोपण गर्न दिएको ‘साइन नेल’ स्टोरमा दाखिला नगरी व्यक्तिगत पसलमा राखेर बिरामी लाई मोटो रकम लिएर आफै अपरेशन गर्ने भन्दै विक्री गरेको देखिएको थियो । (उक्त घट्नाको समाचार लिङ्क)

छानबिनले कलवार दोषी प्रमाणित भएपछि उनलाई ३ महिना कारबाही समेत भएको थियो । यो कुरा त्यसै बेला प्रकाशित समाचारले पुष्टि गर्दछ र उनले नेपाली उखान चरितार्थ गरी रहेका छन् भन्ने पनि प्रष्ट पार्दछ ।

हामी वीपी प्रतिष्ठानका विद्वान डाक्टहरुको सम्मान गर्दछौँ । डाक्टर कर्मचारीको पेशागत मागको आन्दोलनलाई हामीले समर्थन गर्दै आएकै हों । कलवारको डाक्टरी योग्यता, विशेषज्ञताप्रति हाम्रो कुनै प्रश्न छैन, सम्मान छ ।

तर प्रतिष्ठानको प्रचलित नियमावलीमा उल्लेख भएको कुरालाई ठाडो उल्लङ्घन भयो भनी प्रश्न उठाउनै नपाउने जस्तो डन शैलीमा कलवारले जुन फेसबुके स्ट्याटस लेखेका छन् । त्यसले स्वतन्त्र पत्रकारिताप्रति धम्की, डर त्रास फैल्याउने कार्य गरेको छ भन्ने हाम्रो भनाई हो ।

‘डाक्टर’ कलवार सभ्य विद्वान चिकित्सक हुन भने उनको आफ्नै प्रतिष्ठालाई नसुहाउने उक्त स्ट्याटस डिलिट गर्नु उचित हुने हाम्रो सुझाव छ । पत्रकारलाई निकृष्ट भाषामा डर, धाक, धम्की दिने खालको प्रवृत्तिलाई निरुत्साहित गर्न नेपाल पत्रकार महासङ्घले यसमा गम्भीर चासो राख्नु पर्दछ भनी हामी ध्यानाकर्षण गराउन चाहन्छौँ ।