धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आज शुक्रवार ‘सूचना/परिपत्र’ जारी गर्दै प्रतिष्ठानको ऐन, २०४९ को दफा १२ को उपदफा २ र प्रतिष्ठानको नियमावली, २०५५ को नियम १०,२६ का उपनियम (४) विपरीत कार्य गर्नेलाई प्रचलित कानुन बमोजिम कारबाही भइजाने सूचना सार्वजनिक गरेको छ । 

प्रतिष्ठानका हाडजोर्नी, नशा तथा मेरुदण्डका एसोसिएट प्रोफेसर डा. रोशन कलवारले उक्त ऐन नियम ठाडो उल्लङ्घन गरी प्रतिष्ठानको गेट बाहिर स्वास्थ्य सेवा सञ्चालन गरी मेडिकल व्यापार गर्दै आएका छन् ।

उनले धरान-१८ चन्द्र बुद्ध बजारमा फागुन २ गते भव्यरुपमा कार्यक्रम समेत गरेर निजी अस्पताल खोलेको भन्दै क्लिनिक उद्घाटन समेत गराएका छन् ।

कलवारले प्रतिष्ठान ऐन, नियमको ठाडो उल्लङ्घन गरेको ‘कपुरी न्युज’ले फागुन २२ गते समाचार प्रकाशित गर्दा कलवारले फेसबुकमा एक डाक्टरको भाषामा जस्तो नलाग्ने निकृष्ट भाषामा समग्र पत्रकारितालाई नै ‘जुठो खान पल्केको हो ?’ गर्दै कपुरी न्यूज’की पत्रकार रश्मि प्रधानको नाम समेत उल्लेख गरी इज्जत प्रतिष्ठामा आँच पुर्‍याउने प्रयास समेत गरे गरेका थिए ।

अनि हामीले लेख्न बाध्य भएका थियौँ ‘रोशन कलवार वीपी प्रतिष्ठानका ‘डक्टर’ हुन कि ‘डन’ हुन भन्ने प्रश्न आफै उठाएका छन् ।’ शुक्रवार प्रतिष्ठानद्वारा प्रकाशित ‘सूचना/परिपत्र’मा रोशन कलवारको नाम उल्लेख नभए पनि कलवारले फेसबुकमा प्रतिष्ठानलाई नै खुल्ला चुनौती दिएको स्ट्याटसले ऐन कानुन उल्लङ्घन गर्ने उनै हुन भन्ने स्पष्ट भएको छ ।

परिपत्रमा भनिएको छ ‘प्रतिष्ठानका कतिपय शिक्षक, चिकित्सक एवम् कर्मचारीहरूबाट ऐन, नियम विपरीत प्रतिष्ठान बाहिर प्राइभेट प्राक्टिस मेडिकल प्राक्टिस, ट्युसन र अन्य काम गरेको भन्ने जनगुनासो, उजुरी र विभिन्न पत्रपत्रिका एवं सामाजिक सञ्जालमा समाचार प्रकाशन भएको पाइएकोले प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ ।’

रोशन कलवारले ऐन नियम उल्लङ्घन गरेको समाचार प्रकाशित भएपछि ‘हामी वीपी प्रतिष्ठानको दास हौइनौं’ समेत भनेका छन् । उनको कथनमा वीपी प्रतिष्ठानको कलावरलाई वीपी प्रतिष्ठानको ऐन, नियमले छुँदैन भन्ने हुङ्कारको भाव पाइन्छ ।

रोशन कलवारले सामाजिक सञ्जालमा लेखेको कुराप्रति प्रतिष्ठानको ध्यानाकर्षण भएको सङ्केत गर्दै परिपत्रमा भनिएको छ ‘सामाजिक सञ्जालमा कसैबाट प्रतिष्ठानको ऐन र नियमावली विपरीत कार्य गरी प्रतिष्ठानको प्रतिष्ठा एवम् छविमा आँच ल्याउने कार्यहरू हुन गएमा प्रतिष्ठानको ऐन, नियमावली र प्रचलित कानुन बमोजिम कारबाही भई जाने ब्यहोरा सम्बद्ध सबैमा सूचित गरिन्छ ।’

रोशन कलवारको विगतको काम कारबाही र हालैको गतिविधि एवं सामाजिक सञ्जालमा आएका कुराहरूले वीपी प्रतिष्ठानको प्रतिष्ठामा आँच पुर्‍याउनका साथै उनको गलत कार्यप्रति औला उठाउनेलाई आतङ्कित गर्न पनि खोजिएको छ।

त्यसप्रति वीपी प्रतिष्ठानको सजग रहेको कुरा आज प्रकाशित सार्वजनिक ‘सूचना/परिपत्र’ल पुष्टि गरेको छ ।

प्रतिष्ठानका रजिष्ट्रार प्रा.डा. सूर्य प्रसाद सङ्ग्रौलाको हस्ताक्षरमा प्रकाशित सूचना’परिपत्रको पूर्णपाठ यस्तो छ : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हामी सबैको गौरव एवम् राष्ट्रकै गहना हो । यसको विकास तथा सुसञ्चालनको जिम्मेवारी हामी सबैको काँधमा रहेको विषयमा दुई मत छैन । यसको स्थापनाकाल देखिनै प्रतिष्ठान परिवारले पुर्‍याएको योगदान स्वरूप आज हामी यो स्थितिमा पुग्न सफल भएको तथ्य हामी सामु छर्लङ्ग छ ।

प्रतिष्ठान एउटा स्वायत्त एवम् ननप्राक्टिसिङ्ग संस्था हो। प्रतिष्ठानमा कार्यरत कुनै पनि शिक्षक बा कर्मचारीले आफ्नो कार्यालय सम्बन्धी काम बाहेक प्राइभेट प्राक्टिस  (मेडिकल प्राक्टिस), ट्युसन र अन्य कुनै प्रकारको वैतनिक वा अवैतनिक काम गर्न हुँदैन भनी प्रतिष्ठानको ऐन, २०४९ को दफा १२ को उपदफा २ र प्रतिष्ठानको नियमावली, २०५५ को नियम १०.२६ को उपनियम (४) मा व्यवस्था रहेको छ । यद्यपि, प्रतिष्ठानका कतिपय शिक्षक, चिकित्सक एवम् कर्मचारीहरूबाट ऐन, नियम विपरीत प्रतिष्ठान बाहिर प्राइभेट प्राक्टिस मेडिकल प्राक्टिस, ट्युसन र अन्य काम गरेको भन्ने जनगुनासो, उजुरी र विभिन्न पत्रपत्रिका एवम् सामाजिक सञ्जालमा समाचार प्रकाशन भएको पाइएकोले प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण भएको छ ।

भविष्यमा कहीँ कसैबाट प्रतिष्ठानको ऐन र नियमावली विपरीत कार्य गरी प्रतिष्ठानको प्रतिष्ठा एवम् छविमा आँच ल्याउने कार्यहरू हुन गएमा प्रतिष्ठानको ऐन, नियमावली र प्रचलित कानुन बमोजिम कारबाही भई जाने ब्यहोरा सम्बद्ध सबैमा सूचित गरिन्छ ।

BPKIHS Paripatra