धरान : अन्ततः बराह ज्वेलरीका बचतकर्ताको रकम फिर्ता नभई स्वामित्व परिवर्तन गर्दै नयाँ नाममा पसल सञ्चालन गरिने भएको छ । 
बराहको भानुचौक धरान-१२ स्थित भवन र धरान–८ मा रहेको बराह कम्प्लेक्समा साउन १ गते स्तुति रिटेल्सले पसल सञ्चालन गर्ने तयारी पुरा भएको बिहीबार जानकारी गराइएको हो ।
धितोमा रहेको बराहको सम्पत्तिलाई प्राईम बैङ्कले लिलामी गर्दा बराहकै सञ्चालकहरू समेत रहेको नयाँ समूहसँग मिलेर स्तुति रिटेल्स प्रालिले सकारेको थियो । सोही अनुसार बराहका दुबै भवनमा स्तुति रिटेल्स सञ्चालनमा आउने जनाइएको छ ।
नयाँ स्वामित्वका लागि प्राईम बैंङकले सम्पूर्ण प्रक्रिया पुरा गरेता पनि धरान उपमहानगरपालिका वडा १२ र वडा ८ ले भने सिफारिस दिएका छैनन् । धरान-८ बराह कम्प्लेक्सको भेलामा स्तुति रिटेल्सका सञ्चालक विष्णु तिम्सिनाले भने ‘वराह पीडित असन्तुष्ट पक्षसँग समन्वयको प्रयास गर्दैछौं ।’
धरान वडा १२ का अध्यक्ष टङ्कबहादुर राईले बराह पीडितहरूले लिखित रूपमा बचतकर्ताको रकम फिर्ता नगरी स्वामित्व परिवर्तन गर्ने सिफारिस नदिन आग्रह गरेकाले सिफारिस रोकिएको बताए ।
बचतकर्ताहरूको स्वामित्व, रकम फिर्ताको कुरा धरान उपमहानगरपालिकाको न्यायिक समितिमा छलफल भएर कानुनी सल्लाहकारको राय आएपछि मात्र स्वामित्व परिवर्तनको सिफारिस दिन सकिने उनको भनाई छ ।
वडा १२ र वडा ८ ले सिफारिस नदिएको कारण पूर्ण रूपमा भानुचौकको बराह भवन र धरान–८ मा रहेको बराह कम्प्लेक्स स्तुति रिटेल्सका नाममा नामसारी हुन बाँकी नै छ । चाडै सिफारिस मिलाएर प्रक्रिया पुरा गरी साउन १ गते देखि पसल भने सञ्चालन गरिने स्तुतिका सञ्चालक तिम्सिनाले बताए ।
प्राईम बैंङकले स्वामित्व परिवर्तनको प्रक्रिया पुरा गरेता पनि २ वटा वडाको सिफारिस नआउँदा अहिले सम्म रोकिएको स्वामित्व परिवर्तन ‘कसरत’ चलिरहेको बराह पीडित असन्तुष्ट समूहको एक अगुवाले बताए ।
नयाँ सञ्चालक तिमिल्सिनाले भने केही बराह पीडितले दुःख दिनका लागि विभिन्न बहाना बनाएको उल्लेख गर्दै चुनौतीको भाषामा भने ‘उनीहरूको असन्तुष्टिलाई चिर्दै बराहको भवन स्तुतिमा ल्याउने प्रयासमा छु ।’
नयाँ व्यवस्थापनका साझेदार धरान वडा २ का अध्यक्ष रमेश राईले आफू पीडितहरूको पक्षमा रहेको दाबी गर्दै स्तुति रिटेल्सल गरेको सम्झौताले पीडितलाई न्याय गर्ने बताए ।
लिम्बुवानपछि नागरिक उन्मुक्तिका नेता भएका अमर ईजमले पनि नयाँ व्यवस्थापन मार्फत पीडितहरूलाई राहत दिन लागि परेको बताए ।
भेलामा सहभागी एक पीडितले भने स्वामित्व परिवर्तन भइसकेपछि पहिलेका बराहका बचतकर्ताहरूको नयाँ व्यवस्थामा अधिकार चैँ के रहन्छ भन्ने बारेमा कसैले स्पष्ट नगरेकाले आफू अन्यौलमा रहेको बताए ।