धरान : बराह बचत तथा ऋण सहकारी संस्थालाई सङ्कटग्रस्त घोषणा गरी कारबाही गर्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सङ्घीय मन्त्रालयमा पत्राचार गरेका छन् ।

२०८० असोज २६ गतेको मितिमा मेयर साम्पाङले सङ्घीय भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, सिंहदरबारलाई धरान उपमहानगरपालिका, कार्यपालिकाबाट पत्राचार गरी कारबाहीको प्रक्रिया अघि बढेको उल्लेख गर्दै पत्राचार गरेका हुन् । उक्त पत्र गत कार्तिक १९ गते आइतबार मात्र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा दर्ता भएको पाइएको छ ।

‘कारबाही गराउने प्रक्रिया अघि बढेको’ भनी पत्रमा उल्लेख गरिए तापनि कस्तो ‘कारबाहीको प्रक्रिया’ अघि बढाइएको हो भन्ने कुरा भने पत्राचारमा उल्लेख छैन ।

बराहको विषयमा यसअघि मन्त्रालयले पत्राचार गरेको जवाफमा (मन्त्रालयको पत्रको ब्यहोरा उल्लेख छैन) भनिएका छ ‘धरान उपमहानगरपालिकामा कार्यक्षेत्र रहेका धरान-८ स्थित बराह बचत तथा ऋण सहकारी संस्थाको धरान उपमहानगरपालिकाले कुनै ज्ञारेन्टी लिन नसक्ने भएकोले उक्त संस्थालाई सङ्कटग्रस्त घोषणा गरी कानुन मुताबिक कारबाही गराउने प्रक्रिया अघि बढिसकेको ब्यहोरा जानकारी गराउँदछौ ।’

यसअघि बराह सहकारीमा रकम फसेका पीडितहरूले पटक पटक समस्या समाधानका लागि धरान उपमहानगरपालिकाबाट मध्यस्थता गर्न मेयर साम्पाङलाई आग्रह गरेका थिए ।

बराह पीडितहरू सँग मेयर साम्पाङको विवाद पनि भएको थियो । उनले पीडितहरूलाई ‘मलाई सोधेर बराहमा पैसा राख्नु भएको हो ?’ भन्ने जवाफ पनि दिएका थिए ।

पछिल्लो समय बराह पीडितहरू मध्येका ‘ठुला रकमवालाहरू’ बराहका केही पदाधिकारीहरूको सहकार्यमा स्वामित्व हस्तान्तरण गर्ने प्रक्रियामा लागेको साना पीडितहरूले आशङ्का गरेका छन् । उनीहरू छुट्टै रूपमा सहकारी पीडितहरूको संयुक्त अभियान मार्फत रकम फिर्ताको दाबी गरिरहेका छन् ।

तर कारबाहीको प्रक्रिया तथा रकम फिर्ताका कुरा परिणाममुखी रूपमा कतैबाट प्रष्ट रूपमा आएको पाइन्न । बराहको बाँकी रहेका जायजेथाबाट आफ्नो रकमको केही अंश फिर्ता हुने आशामा धेरै छन् । यो कुन प्रक्रियाबाट फिर्ता हुनसक्छ भन्ने कुरामा पीडितहरू अन्यौलमा छन् ।

मेयर हर्क साम्पाङले महिना दिन अघि पत्राचार गरे तापनि ढिलो गरी मन्त्रालयमा दर्ता भएकाले त्यसको परिणाम भने देखिएको छैन । बराह बचत तथा ऋण सहकारीमा ४ हजार ९९१ शेयर सदस्य रहेकोमा बचतकर्ताको सङ्ख्या भने १३ हजार ५५४ जना छन् ।

पीडित पक्षले सेयर सदस्य र बचतकर्ताको करिब ८ अर्ब रकम रहेको दाबी गर्दै आएका छन् । उनीहरूले बचतकर्ताको रकम सहकारीका पदाधिकारी र कर्मचारीले व्यक्तिगत रूपमा दुरुपयोग भएको आरोप लगाउँदै आएका छन् । सहकारीको बाह्रौँ साधारण सभामा शेयर सदस्यको ५७ करोड ९० लाख ८६ हजार ३९५ रुपैयाँ बचत सङ्कलन गरेको तथ्याङ्क दिइएको थियो ।

तर, सहकारीले २०७९ साल जेठ २१ गते सम्म भने बचत भन्दा ऋण लगानी गरेको छ । जेठ मसान्त सम्म सहकारीले ६७ करोड १६ लाख ५९ हजार २०८ रुपैयाँ ऋण लगाएको छ । शेयर रकम भन्दा ९ करोड २५ लाख ७२ हजार ८१३ रुपैयाँ बढी लगानी गरेको यस अघि विभिन्न मिडियामा आएको छ ।

Baraha-patrachar-letter