धरान : धरान-१७ स्थित पञ्चकन्या माविको ४ कोठे भवन निर्माणमा ४ लाख रुपैयाँ आर्थिक अनियमितता भएको पुष्टि भएपछि प्रधानाध्यापक खेम सुवेदीलाई हाजिर नगर्न र बिदामा बस्नु भनी धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले पत्र पठाएका छन्।

नगर प्रमुख साम्पाङले बिहीबार स्कुललाई पत्राचार गर्दै प्रधानाध्यापक सुवेदीलाई बिदामा बसी अर्को प्रधानाध्यापक नियुक्ति गर्नु भनी स्कुललाई पत्र पठाएको उपमहानगरपालिका स्रोतले बताएको हो ।

यस विषयमा मेयर साम्पाङ र उनका सचिवालयलाई फोन गर्दा फोन उठेन ।

पत्रबारे प्रमुख प्रशासकीय अधिकृत अनभिज्ञ :

प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र राईलाई फोन सम्पर्क गर्दा उनले यस विषयमा आफू जानकार नभएको  बताए । उनले भने ‘म बिरामी भएकाले त्यो विषयमा अनभिज्ञ छु ।’

स्कुललाई प्रमुख प्रशासकीय अधिकृत राईले गत साउन २९ गते पत्र सङ्ख्या १०/१११९० (८१/८२) चलानी नम्बर ८०६ बाट ३ लाख ९२ हजार ३ सय चौबिस रुपैयाँ रकम ३ दिन भित्र फिर्ता गर्न पत्राचार गरेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत राईले ३ दिन भित्र बेरुजु भएको रकम खातामा दाखिला गर्न स्कुललाई पत्र पठाएका हुन ।

बेरुजु रकम प्रधानाध्यापक सुबेदीद्वारा दाखिला 

३ दिन भित्र दाखिला गर्नु पत्राचार गरे पनि प्रधानाध्यापक सुवेदीले बेरुजु भएको रकम ३ लाख ९२ हजार ३ सय २४ रुपैयाँ उपमहानगरपालिकाको खातामा भदौ ६ गते बिहीबार मात्र रकम दाखिला गरेको  उपमहानगरपालिकाका लेखा अधिकृत भेषराज अधिकारीले बताए ।

पत्रबारे शिक्षा महाशाखा अनभिज्ञ :

स्कुलमा हाजिर नगर्न पत्र पठाएको बारेमा कपुरीले शिक्षा महाशाखा प्रमुख गणेश खतिवडालाई बुझ्न खोज्दा उनले पत्र बारे शिक्षा महाशाखालाई थाहा नभएको बताए । उनले भने ‘नगर प्रमुख साम्पाङ आफैले प्रधानाध्यापक सुवेदीलाई हाजिर नगर्न पत्राचार गर्नु भएको भन्ने कुरा सुन्नमा आएको हो ।’

रकम फिर्ता गरेका हुन : प्राविधिक रौनियार 

४ कोठे भवन निर्माण गर्दा आर्थिक अनियमितता भएको अख्तियारमा उजुरी परेपछि अख्तियारको टोलीले समेत अनुगमन गरेको थियो । धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र विक्रम बेघा सहित प्राविधिकको टोलीले पनि अनुगमन गरी मूल्याङ्कन गरेको थियो । 

प्राविधिक मूल्याङ्कन धरान उपमहानगरपालिकाका इन्जिनियर विवेक रौनियारले गरेका हुन । प्राविधिक मूल्याङ्कन अनुसारको रकम प्रधानाध्यापकले फिर्ता गरेको उनले बताए । मूल्याङ्कन अनुसार भवन निर्माणका लागि ३२ लाख ७ हजार ६७६ रुपैयाँ मात्र लागेको छ । 

प्राविधिक विवेक रौनियारले भवन निर्माणका लागि सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट आर्थिक वर्ष २०७८/०७९ मा ३६ लाख रुपैयाँ निकासा भएको थियो । सोही ३६ लाख मध्येबाट प्रअ सुवेदीले रकमबाट फिर्ता गरेका हुन । 

बाकी स्कुलको रकमबारे आफूलाई थाहा नभएको उनले बताए । उनका अनुसार सामुदायिक स्कुलहरू निर्माण गर्दा सङ्घीय सरकारबाट आएको रकम भवन निर्माण सुरु भएपछि खातामा आउने भएकाले रकम खातामा आएको हो ।

रौनियारले प्रअ सुवेदीबाट एक रुपैयाँ पनि नलिएको दोहोर्‍याए । उनका अनुसार प्राविधिक मूल्याङ्कन पछि मात्र गर्नुपर्ने हुन्छ । समय समयमा अवलोकन र अनुगमन गर्नुपर्ने हुन्छ सोही अनुसार अनुगमनमा गएको हुँ । तर ठेकेदारलाई प्रअ सुवेदीलाई भेटेर स्टेटमेन्ट दिन्छु भन्दा प्रअ सुवेदीले भेट दिएनन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुवास वर्देवाले पत्रको बारेमा आफूलाई जानकारी नभएको बताए । उनले भने ‘पत्रको बारेमा प्रधानाध्यापक सुवेदीले मलाई केही भन्नु भएको छैन ।’

प्रधानाध्यापक सुवेदीलाई पटक पटक सम्पर्क गर्दा उनले फोन उठाएनन् । विद्यालय व्यवस्थापन समितिको बैठकमा प्रधानाध्यापक सुवेदीले प्राविधिकलाई ५० हजार रुपैयाँ दिनुपर्ने भनी कुरा उठाएको समितिका सदस्यहरूले बताएका थिए ।

अख्तियारबाट निरीक्षण गरिएपछि स्कुलको भौतिक सामाग्री झ्याल फेरिएको र प्राविधिक मूल्याङ्कन पुनः गरिएको प्रधानाध्यापक खेम सुवेदीले नै स्वीकार गरेका थिए ।