धरान : धरान-१७ स्थित पञ्चकन्या माध्यमिक विद्यालयमा ४ कोठे भवन निर्माणमा मापदण्ड पुरा नभई धरान उपमहानगरपालिकाका इन्जिनियरले भवनको नक्सापास गरेको पाइएको छ ।

भवन निर्माणको मापदण्ड पुरा नभई नक्सा पास गर्ने कार्य उपमहानगरपालिकाका सातौँ तहका इन्जिनियर विवेक रौनियारबाट भएको देखिएको छ ।

स्कुलको लेखाबाट प्राविधिकलाई रकम भनेर ५० हजार निकासा भएको छ। उक्त रकम इन्जिनियर रौनियारले प्रधानाध्यापकबाट लिएको आशङ्का गरिएको छ ।

स्कुलले धरान उपमहानगरपालिकाको शिक्षा शाखामा रिपोर्ट बुझाइसकेको र निर्माण सम्पन्न गरेको कागजपत्र लिने तयारीमा गरेको प्रधानाध्यापक खेम सुवेदीले बताएका छन् ।

तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले भवन निर्माणमा मापदण्ड पुरा नभएको भन्दै पत्र काटेको छ । सोही अनुसार अख्तियारको टोलीले अनुगमन समेत गरेको थियो । लगत्तै  स्कुलले पुनः मापदण्ड अनुसार भौतिक सामान फेरेको छ ।

प्राविधिकलाई दिन ५० हजार स्कुलबाट निकासा : पूर्व प्रअ पौडेल 

पञ्चकन्या स्कुलका पूर्व प्रधानाध्यापक देवेन्द्र पौडेलले प्रधानाध्यापक सुवेदीले लेखापाल अनिल श्रेष्ठसँग प्राविधिक रौनियारलाई ५० हजार रकम दिनुपर्ने भनेर स्कुलबाट रकम निकासी गरेको बताए ।

उनले भने ‘स्कुलबाट चैँ ५० हजार निकासी गरेका हुन तर प्राविधिकलाई कति दिए थाहा छैन ।’ स्कुलबाट रकम निकासी गरिएको दाबी गर्दै उनले आफू पूर्व प्रअ भए पनि योजनाका कुनै पनि बैठक, छलफलहरूमा प्रअ सुवेदीले नबोलाएको बताए ।

पौडेलले भने ‘सङ्घीय सरकारबाट भवन निर्माणका लागि ३६ लाख आएकोमा ३२ लाख ठेक्का लागेको हो तर स्कुलबाट ४ लाख रकम चैँ किन चाहियो ?’

उनका अनुसार सरकारी रकम भन्दा बढीमा ठेक्का लगाएको भए पो थप रकम चाहिने हो । ठेक्का लागेको रकम भन्दा बढी रकम स्कुलले थप्नु पर्ने आवश्यकता भने प्रअ सुवेदीले नबताएको उनको भनाई छ ।

प्रअ सुवेदीले मनोमानी गरे : भवन निर्माण संयोजक राई 

भवन निर्माण समितिकी संयोजक खिला कुमारी राईले आफू संयोजक भए पनि निर्माण कार्यको बारेमा आफूलाई केही थाहा नभएको बताइन् ।

प्रअ सुवेदीकै अनुरोधमा आफू संयोजक बसेको उनको भनाई छ । उनले भनिन ‘तपाई संयोजकमा बस्नुस् सबै कार्य म गर्छु भनेर हेडसरले भनेका हुन ।’

आफू सोझो भएकाले सुवेदीले धेरै जोड गरेपछि समितिमा बसेको उनले बताइन् । विद्यालय व्यवस्थापन समितिको सदस्य पनि भएकाले उनी भवन निर्माण समिति संयोजक बसेको हुन ।

तर अहिले सम्म समितिको बैठक नबसेको उनले बताइन् । उनले भनिन् ‘भवन निर्माणको काममा हेडसर एक्लै लागि राख्नु भएको छ ।’

प्रधानाध्यापक सुवेदी र ठेकेदार एक अर्कामा टाउको हाला हाल मात्रै गर्ने तर हाल सम्म समिति सदस्यको केही कुरा सुनवाइ नभएको संयोजक राईको भनाई छ । उनले स्कुलको हित हुन्छ भनेर संयोजकमा बसेको तर कसैले स्कुलको हित नचाहेको देखिएको बताइन् ।

पहिलाको संरचना अनुसार नक्सापास गरेको हुँ : इन्जिनियर रौनियार

इन्जिनियर रौनियारले ग्राउन्ड फ्लोर अनुसार संरचना बनेकाले नाप जाँच गर्दै बिल पास गरेको बताउँदै भने ‘त्यही पहिलाको संरचना अनुसार मापदण्डको संरचना पास गरेको सत्य हो ।

मापदण्ड नपुगी कसरी पास भयो भन्ने कपुरीको जिज्ञासामा उनले भने ‘सामान्य कुरा हो, एउटा झ्यालमा मात्र मापदण्ड नपुगेको हो ।’ त्यही पनि अख्तियारको अनुगमन गर्दा मापदण्ड नपुगेको पाइएकोले परिवर्तन गरिएको उनले बताए ।

मापदण्ड पुरा नभई नक्सा पास गरेका इन्जिनियर चौधरीले अव फेरी प्राविधिक मुल्याङकन हुने बताए । मुल्याङकन अनुसार बिल पेस गर्न लाउने उनको भनाई छ । पास भैसकेको कुरा कसरी पुनः मूल्याङ्कन हुन्छ भन्ने कुरा उनले बताएनन् ।

यसअघि हिजो सोमबार धरान उपमहानगरपालिका उपप्रमुख अईन्द्र विक्रम बेघा सहितको टोली समेत अनुगमन गएको थियो । उनले अहिले बनेको संरचनाको मूल्याङ्कन गरी त्यसको मात्र रकम निकास हुने र बाँकी रकम फिर्ता जाने बताएका थिए ।

इन्जिनियर रौनियारले स्कुलबाट ५० हजार रुपैयाँ लिएको भन्ने कुरा आएको छ भन्ने प्रश्न गर्दा उनले भने ‘त्यस बारेमा आफू लाई थाहा छैन’ भन्दै तर्किए  । 

इञ्जिनीयरलाई २० हजार दिएको हो : ठेकेदार 

प्रधानाध्यापक सुवेदीले प्राविधिकलाई ५० हजार दिनुपर्ने भन्दै रकम निकासा गरे पनि इन्जिनियर रौनियारलाई २० हजार दिएको र ३० हजार रकम आफै खाएको ठेकेदार गौरा कन्स्ट्रक्सनका पूर्णबहादुर राईले दाबी गरेका छन् ।

उनले भने ‘इन्जिनियर पनि पटक पटक स्कुल आएर हेरेर भवन निर्माण ठिक छ, मापदण्ड पुग्छ भनेपछि स्कुललाई भवन जिम्मा दिएको हुँ ।’

सङ्घीय सरकारको शिक्षा तथा युवा मन्त्रालय काठमाडौँबाट आव २०७८/०७९ बजेटमा ४ कोठे भवन भवन निर्माणका लागि ३६ लाख बजेट र विद्यालयबाट ४ लाख रकम गरी जम्मा ४० लाख रुपैयाँ निर्माणमा छुट्याएकोे थियो । तर ठेकेदारले भने ३२ लाख पनि पुरै रकम पाएका छैनन् ।