धरान : राष्ट्रिय विभूति युवक कवि मोतीराम भट्टको १५९ औँ जन्म जयन्ती यसपालि धरानमा उनको बेवारिसे शालिकलाई कुर्सीमा राखेर मनाइएको छ ।

धरान उपमहानगरपालिकाले नयाँ बिल्डिङ बनाउन झण्डै पाँच दशक पुरानो ऐतिहासिक मोती स्मृति भवन भत्काएपछि त्यहाँ शिलालेख सहित स्थापित मोतीराम भट्टको शालिक बेवारिसे बनेको थियो ।

मोती जयन्ती मनाउन मोती संस्करण समितिले नगर प्रमुख हर्क साम्पाङ सँग ५ दिन अघि शालिक उपलब्ध गराई दिन आग्रह गरेको थियो ।

नगर प्रमुख समेतलाई कहाँ राखिएको छ भन्ने थाहा नभएको शालिक भवन भत्काएपछि थोत्रा सामान राख्ने गोदाममा उपेक्षित रूपमा राखिएको फेला परेको थियो । शालिक सँगै रहेको पित्तलको शिलालेख भने कहाँ छ भन्ने थाहा छैन ।

गोदामबाट निकालिएको शालिक पुछपाछ गरेर आज कुर्सीमा राखी कर्मचारी एसोसिएसनको हलमा मोती जयन्ती मनाइएको हो ।

जहाँ स्रष्टा सम्मान हुँदैन त्यो त्यहाँ राष्ट्र हुँदैन 

कार्यक्रममा भाषा, साहित्य सम्बन्धी ऐतिहासिक भवन भत्काउन अघि सरोकारवालाहरूलाई थाहा नदिएको, शालिकलाई उपेक्षित ढङ्गमा राखिएकोमा साहित्यकारहरूले क्षोभ व्यक्त गरे ।

प्रमुख अतिथि प्राडा.टङ्कप्रसाद न्यौपानेले जहाँ ‘श्रष्टको सम्मान हुँदैन त्यहाँ राष्ट्र हुँदैन ।’ उनले साहित्य, कला र संस्कृति बिना राज्य हुन सक्ला तर राष्ट्र नहुने बताउँदै मोती स्मृति भवन र मोतीराम भट्टको सालिकसँग त्यस्तो व्यवहार भएको बताए ।

उनले नेपालका सबै भाषा, साहित्य, कला, संस्कृतिका विभूति र स्रष्टाहरूको सम्मान राज्यले गर्नु पर्ने स्पष्ट गर्दै भने ‘राष्ट्र बन्न भाषा, साहित्य, कला संस्कृति चाहिने कुरा राजनीति गर्नेहरू नबुझ्नु दुर्भाग्यपूर्ण छ ।’

उनले कोशी प्रदेश प्रज्ञा प्रतिष्ठान बनाउने प्रारूप आफूले तयार गरे पनि सरकारमा बस्नेहरूले त्यसमा कब्जा गर्ने ऐन बनाएको आरोप लगाउँदै धरानमा पनि त्यसरी नै कब्जा गरिएको बताए ।

मोतीराम नेपाली भाषालाई छापा युगमा प्रवेश गराउने पहिलो स्रष्टा, संगठक भएको बताउँदै नेपालका राष्ट्रिय विभूतिको नाममा स्थापित संस्था उपमहानगरपालिकाले पुनर्स्थापित गर्न माग गरे ।

साहित्यकारहरूको अपमान भयो 

मोती संस्मरण समितिका संस्थापक सदस्य गिरिराज आचार्यले नेपाली साहित्यको इतिहासमा धरानमा निर्मित मोती स्मृति भवन धरोहरको रूपमा रहको बताउँदै भने ‘भवन भत्काएर नेपाली साहित्यको प्रतीक ध्वस्त बनाउनु भर्त्सना गर्नु पर्ने कुरा हो ।’

उनले २०२५ सालमा नेपालका प्रख्यात साहित्यकारहरू धरान आएका बेला नाटक सम्राट बालकृष्ण समले सिंहदेवी चौक नजिक शिलान्यास गर्ने मोती स्मृति भवन सुरक्षा र संरक्षणका लागि नगरपालिका हातामा निर्माण गरिएको बताउँदै भने ‘सुरक्षा र संरक्षण गर्ने नगरपालिकाले नै ध्वस्त गरेको कुरालाई सबै कवि, लेखकले भर्त्सना गर्नु पर्छ ।’

त्यसबेला धरानका साहित्यकार, कवि, लेखकहरू र नगरपालिका बिच छलफल भई सहमतिमा भवन निर्माण भएको बताउँदै आचार्यले भवन भत्काउँदा कसैलाई थाहा नदिनु र मोतीको शालिक अपमानजनक अवस्था राखिनु अतिक्रमण सहन सकिने अवस्था नभएको बताए । 

Motiram-bhatta-3नेपाली भाषा र साहित्यका प्रथम स्रष्टा

प्राडा.गोपालप्रसाद भण्डारीले युवक कवि मोतीराम भट्टलाई नेपाली भाषा, साहित्यका प्रथम श्रष्ट भएको बताए । उनले माध्यमिक कालका कवि मोतीराम आफूले लेख्ने मात्र नभई अरूलाई लेख्न उत्प्रेरित गर्ने भएकाले कविता लेखनको गुरु भएको बताए ।

मोतीरामले शीर्षक दिएर कविता लेख्न ‘समस्यापूर्ति’ कविता सुरु गरेपछि नेपाली साहित्यमा धेरै कविहरू जन्मिभएको उनले बताए । प्राडा. भण्डारीले भने ‘पहिलो पटक नेपाली गजल लेखनको सुरुआत मोतीरामले गरेका थिए ।’

नेपालमा कविता गोष्ठीको चलन मोतीरामले नै गरेको उनले बताए । उनले भने ‘कविता लेखे पनि सुनाउने चलन नभएको बेला मोतीरामले सामूहिक कविता वाचनको सुरुवात गरेका हुन ।’ त्यसको लागि मोतीरामले बनारसमा गठन गरेको मोती मण्डली गठन पछि काठमाडौँ आएर पनि गठन गरेको प्राडा. भण्डारीले बताए ।

यसपालि नेपाली शिक्षा परिषद् मोती जयन्तीका लागि दिएको समस्यापूर्ति कविताहरू कार्यक्रममा पाठ गरिएका थिए । समस्यापूर्तिका ‘हो देश सर्वोपरी’ शीर्षकमा कविता सुनाइएको हो । कविता पाठ गर्ने कविहरूमा अम्बिका शाक्य, प्रफुल्ल भण्डारी, प्राडा खेमराज खनाल, प्राडा खेमनाथ दाहाल मत्स्येन्द्र खत्री, भरत सेर्नाली थिए ।

मोती संस्मरण समितिका सभापति गोविन्द तिम्सिनाको सभापतित्वमा भएको कार्यक्रममा समितिका पूर्व सचिव हर्ष सुब्बाले मोती स्मृति भवनको महत्त्व तथा भत्काइएपछि मोतीरामको प्रतिमा उपेक्षित अवस्थामा पाइएको बारेमा बताएका थिए ।