बिर्तामोड : नेपाल पत्रकार महासङ्घ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार झापाका जेठा पत्रकार भद्रपुर निवासी गोविन्दचन्द छेत्रीलाई प्रदान गरिने भएको छ।

त्यस्तै केटो पत्रकारिता पुरस्कार दमककी पत्रकार गीताकुमारी ढुङ्गानालाई प्रदान गरिने भएको छ। बिहीबार पुरस्कार छनौट समितिको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कारको राशि क्रमशः ५१ हजार र १५ हजार रुपैयाँ रहेको छ। महासङ्घले हरेक तीन वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ ।

महासङ्घ झापाका अध्यक्ष तथा पुरस्कार छनौट समितिका संयोजक तारामणि सापकोटाको अध्यक्षतामा छनौट समितिका सदस्यहरू महासङ्घका उपाध्यक्ष एकराज गिरी र भीमा सिवाकोटी, सचिव सन्तोष आचार्य र कार्य समिति सदस्य रञ्जित प्रसाईको उपस्थितिमा  भएको बैठकले पुरस्कृत व्यक्तित्व छनौट गरेको हो ।

७७ वर्षको उमेरमा पनि छेत्री  हाल दि हिमालयन टाइम्स अङ्ग्रेजी पत्रिकामा झापाबाट रिपोर्टिङ गर्छन् भने भद्रपुरबाट प्रकाशित नयाँ सन्दर्भ साप्ताहिकको प्रकाशक सम्पादक रहेका छन् । ५२ वर्षदेखि पत्रकारितामा क्रियाशील उनी पूर्वाञ्चल दैनिकका संस्थापक सम्पादकसमेत हुन् ।

केटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुन लागिकी ढुङ्गाना दमकबाट प्रसारित हिमशिखर टेलिभिजनमा आबद्ध छन् । उनी एक दशकदेखि पत्रकारितामा क्रियाशील छिन् ।

उक्त पुरस्कार फागुन २९ गते शनिवार बिर्तामोडको रामचोकस्थित देवी पाटी प्यालेसमा आयोजना हुने समारोहका बिच वितरण गरिने बताइएको छ ।

कार्यक्रम नेपाल पत्रका महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्य तथा पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेको विशेष आतिथ्यमा हुने बताइएको छ ।

पत्रकार महासङ्घ झापाले नेपालका पहिलो पत्रकारका रूपमा सम्मानित मोतीराम भट्टको स्मृतिमा मोती पत्रकारिता पुरस्कार र मेची अञ्चलकै पहिलो पत्रिका श्यामकृष्ण उपाध्याय सम्पादक तथा प्रकाशक रहेको  ‘केटो’मासिकको नामबाट केटो पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।