धरान : झण्डै ५० वर्षको इतिहास रहेको धरान स्थित पुरानो मोती स्मृति भवन अब रहेन । भवन भत्काएर उक्त स्थानमा उपमहानगरपालिकाले नयाँ भवन निर्माण गर्दैछ ।

धरान उपमहानगरपालिका परिसरमा २०३३ सालमा युवक कवि मोतीराम भट्टको शालिक सहित नेपालमा पहिलो र एक मात्र मोती भवन बनेको हो । भवनको उद्घाटन र शालिकको अनावरण तत्कालीन राजा वीरेन्द्रले गरेका थिए ।

मूलकमा गणतन्त्र आएपछि उपमहानगरपालिकाको नयाँ भवनको योजना अनुसार स्मृति भवन भत्काएर नयाँ भवन निर्माण गर्न थालिएको छ ।

यसैबिच देशव्यापी रूपमा मनाउँदै आएको युवक कवि मोतीराम भट्टको जन्म जयन्ती यसपालि भदौ १७ गते कुशेऔँशीका दिन मनाइदैछ ।

धरान स्थित ऐतिहासिक मोती भवनमा माल्यार्पण गरी मनाइँदै आएको मोती जयन्ती मनाउन बिहीबार मोती संस्मरण समितिको टोली उपमहानगरपालिकामा मोतीराम भट्टको शालिक खोजिरहेका थिए ।

टोलीमा समितिका अध्यक्ष गोविन्द तिम्सिना, भाषाविज्ञ प्राडा टङ्कप्रसाद न्यौपाने, समितिका पूर्व सचिव हर्ष सुब्बा, साहित्यकार गोपाल प्रयास श्रेष्ठ, कवि मणि राई ‘गोठाले’ थिए ।

नगर प्रमुख हर्क साम्पाङसंग भेट गरी टोलीले भवन भत्काएपछि शालिक कहाँ राखिएको छ, माल्यार्पणका लागि व्यवस्था गरिदिन आग्रह गरे । प्रमुख साम्पाङले पुराना सामाग्री राख्ने गोदाम जस्तै बनाएको अवस्था भएको भवनमा आफू भित्र पनि नपसेको बताउँदै स्टोर शाखालाई जानकारी भएको बताए ।

प्रमुख साम्पाङलाई अध्यक्ष तिम्सिनाले नयाँ भवनमा संस्मरण समितिको लागि छुट्टै कक्षमा मोतीरामको शालिक स्थापित गर्ने पूर्व नगर प्रमुख स्वर्गीय तारा सुब्बासँग समझदारी भएको स्मरण गराए । टोली शालिक खोज्न स्टोर शाखा तिर लागे ।

स्टोर शाखामा भवन भत्काएर शालिक कहाँ राखिएको छ जानकारी नभएको टोलीले जवाफ पायो । प्रशासन शाखामा बुझ्न लागेको अवस्थामा वारुण यन्त्रका अधिकारीले शालिक अण्डर ग्राउण्ड स्टोरमा भएको बताउँदै त्यहाँ पुर्‍याए।

भवन भत्काएपछि मोतीराम भट्टको शालिक पुराना निर्माण सामाग्रीहरू राख्ने अण्डर ग्राउण्ड स्टोरमा पुराना वस्तु राख्ने अवस्थामा राखिएको भेट्टाइयो । शालिक भेटिएकोले मोती जयन्तीका दिन माल्यार्पण कार्यक्रम सुनिश्चित भएको छ ।

उपमहानगरपालिकाका वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठका अनुसार पुरानै योजना अनुसार मोती स्मृति भवन भत्काइएको बताए । उनका अनुसार उपमहानगरपालिकाको नयाँ भवनको डिजाइन अनुसार निर्माणाधीन तेस्रो ब्लकमा नगर प्रमुखको कार्य कक्ष, नगर सभा हल हुनेछ । सोही भवनमा मोती मृति हल र त्यहाँ शालिक पनि राखिने बताए ।