झापा : मोटरसाइकल चढ्ने रहर र स्टाइलिस बन्ने धुनमा केही युवाहरू अपराधमा फस्ने गरेको पाइएको छ ।

स्टाइलिस बन्दै समाजमा देखासिकी गर्ने प्रवृत्तिका कारण अपराधका घटनामा संलग्न हुने गरेको पाइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले बताए । विष्टका अनुसार घुमफिर र मनोरञ्जन गर्दै खानपिन गर्न कै लागि पनि मोटरसाइकल चोरीमा केही युवाहरू संलग्न भएको अनुसन्धानबाट खुलेको छ ।

चालू आर्थिक वर्ष २०८१/०८२ को यो अवधिसम्ममा इलाका प्रहरी कार्यालय अनारमनी क्षेत्रबाट १२ वटा मोटरसाइकल चोरी भएका छन् । जसमध्ये सातवटा फेला परेका छन् । घटनामा संलग्न १८ जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

प्रहरीले मोटरसाइकल फेला पारेपनि चोरीमा संलग्न फेला नपर्ने गरेको तथा मोटरसाइकल फेला परे पनि सम्बन्धित सवारीमा धनीले मुद्दा दर्ता गर्नका लागि सहयोग नगरेका कारण मुद्दा सङ्ख्या कम देखिएको जनाइएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा ९० वटा मोटरसाइकल हराएका निवेदनहरू इलाका प्रहरी कार्यालय अनारमनीमा परेका थिए । जसमध्ये १४ वटा मोटरसाइकल फेला परेको तथ्याङ्कमा उल्लेख गरिएको छ । घटनामा संलग्न ६ जनालाई पक्राउ गरेर मुद्दा दर्ता गरेर कानूनी कारबाही गरिएको प्रहरीको विवरणमा उल्लेख छ ।

बिर्तामोड क्षेत्रबाट मोटरसाइकल चोरीका घटनामा वृद्धि भएपछि प्रहरीले विशेष निगरानी नै बढाएको थियो । अहिले पनि सम्भावित क्षेत्रको पहिचान गरेर हुन सक्ने चोरीका घटनामा प्रहरीले विशेष निगरानी गर्ने गरेको प्रहरी नायव उपरीक्षक विष्टले बताए । मोटरसाइकल चोरीका घटना वृद्धि भएपछि प्रहरीले चोरीका कारणहरू खोजी गरेको थियो । उक्त क्रममा घटनामा संलग्नहरूले साथीभाइको देखासेखी तथा स्टाइलिस बन्ने बहानामा चोरीका घटनाहरू भएको प्रहरीले अनुसन्धानमा क्रममा पत्ता लगाएको छ ।

कतिपय लागूऔषध प्रयोगकर्ताहरू समेत चोरीका घटनामा संलग्न भएको पाइएको छ । लागू औषधको कुलतमा फसेकाहरू लागूऔषध खरिद गर्नकै लागि पनि मोटरसाइकल चोरीमा संलग्न भएको पाइएको प्रहरी नायव उपरीक्षक विष्टले बताए ।

खुल्ला सीमाका कारण कतिपय चोरी भएका मोटरसाइकल भारतसम्म पुर्‍याउने गरेको पाइएको छ । प्रहरी नायव उपरीक्षक विष्टले भने -'नेपालकै पहाडी जिल्ला तथा ग्रामीण भेगमा समेत चोरीका मोटरसाइकल पुर्‍याएर विक्री गरेको फेला पारेका छौँ' ।

ग्रामीण क्षेत्रमा प्रहरीको निगरानी कमी हुने र सस्तोदरमा सवारी विक्री गरेर आफ्ना इच्छाहरू पूर्ति गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । पैसाकै लागि मोटरसाइकल चोरी गर्ने गरेको पक्राउ परेकाहरूले खुलाएका छन् ।

चोरी भएका सामान प्राप्त भएपछि चोरी गर्ने व्यक्ति विरुद्ध निवेदन नदिँदा अभियुक्तहरूले उन्मुक्ति पाउने गरेको प्रहरी नायव उपरीक्षक विष्टको भनाइ छ । सवारी धनीले आफ्नो साधन बेवास्ता र लापरबाही गरी जथाभाबी रूपमा पार्किङ गर्दा चोरीमा संलग्नहरूलाई चोरी गर्न सहज भएको प्रहरीको भनाइ छ ।

चोरीमा संलग्न विरुद्ध जाहेरी दिएर कानूनी प्रक्रियामा सहयोग गर्ने हो भने धेरैले सजाय पाउने थिए, प्रहरी नायव उपरीक्षक

विष्टले भने : तर, आफ्नो सामान पाए पछि कतिपय सवारी धनीहरू कानूनी प्रक्रिया भन्दा पनि आफ्नो सामान फिर्ता कसरी हुन्छ भन्ने मात्रै सोच्नु हुन्छ, त्यसैले हामीलाई घटनामा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन कठिनाइ भएको छ ।

लागूऔषधको कारोबार तथा प्रयोगमा वृद्धि भएसँगै झापामा अपराधका घटनाहरू बढी रहेका छन् । मोटरसाइकल चोरीको एउटा कारक पनि लागूऔषध भएको प्रहरीको निष्कर्ष छ । मोटरसाइकल चोरीमा संलग्न भएका कतिपयले मोबाइल खरिद, घुमफिर, खानपिन तथा मनोरञ्जनमा खर्च गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक विष्टले भने-सस्तोदरमा सवारी पाएँ भनेर खरिद नगर्नुहोस्, उक्त सवारी चोरीको पनि हुन सक्छ । शङ्का  लागेमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गर्दै उनले भने-आफ्नो सवारी साधनको सुरक्षाका विषयमा आफैँ सचेत हुनुपर्छ ।

चोरीका घटनामा १६ वर्षदेखि ४० वर्ष उमेर समूहका मानिसको संलग्नता पाइएको प्रहरीले जनाएको छ । घटनामा संलग्नहरूलाई कानूनी दायरामा ल्याउनका लागि सवारी धनीले जाहेरी दिएमा मात्रै सहज हुने प्रहरीको भनाइ छ ।

सवारी नभेटिएसम्म कानूनी कारबाहीमा जान्छु भन्ने कतिपय सवारी धनीहरू सवारी फेला परेपछि कानूनी प्रक्रियामा जान नमान्ने गरेको प्रहरी नायव उपरीक्षक विष्टको भनाइ छ ।

बिर्तामोड क्षेत्रमा प्रहरी निगरानी तथा सीसी क्यामेराको निगरानीमा समेत कतिपय चोरीमा संलग्नहरूलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ।

  • पूर्वाञ्चल दैनिकबाट