चतरा : सुनसरीको बराहक्षेत्र नगरपालिका १ स्थित प्रथम जगद्गुरुपीठ, प्राचीन हरिद्वार चतराधामले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ८ लाख २१ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ।
प्रथम जगद्गुरुपीठ, प्राचीन हरिद्वार चतराधामको पहलमा पीठ, मठ, आश्रम, गुरुकुल तथा भक्त भागवज्जनबाट श्रद्धापूर्वक सङ्कलन गरिएको रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।
सङ्कलित रकमको भौचर बिहीबार काठमाडौँस्थित अर्थ मन्त्रालय पुगेर जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका थिए।
चतराधामले विपद्मा परेका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम उपलब्ध गराएको जनाएको छ।








































































