सुनसरी : परिवारको सुखका लागि छ वर्षअघि विदेश गएका सुनसरी वराहक्षेत्र वडा नं. ५ का ४१ वर्षीय शम्भु खड्का अहिले आफ्नै जीवन बचाउन अरूको सहयोगको प्रतीक्षामा छन् । दुवै मिर्गौला फेल भएपछि उपचाररत शम्भुको परिवारले उपचारका क्रममा भएको सम्पूर्ण जायजेथा सकेपछि सहयोगी मनहरूसँग आर्थिक सहयोगको अपिल गरेको छ ।
छ वर्षदेखि अफ्रिकाको मौरिससमा रोजगारी गर्दै आएका शम्भु गत माघदेखि बिरामी परेका थिए । उनी सुगर र प्रेसरका कारण बिरामी परेका थिए । सुरुमा मौरिससमै उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था वैशाखमा गम्भीर बनेपछि परिवारले करिब नौ लाख रुपैयाँ खर्चेर गरेर नेपाल ल्याएको उनका वृद्ध बुबा नगिन्द्र खड्काले बताए ।
‘छोरालाई जसरी पनि बचाउनुपर्छ’ भन्ने एउटै आशामा परिवारले मौरिससमा उपचार गर्दादेखि नेपाल ल्याउँदासम्म ठुलो रकम खर्च गरिसकेको छ । ‘नेपाल ल्याएपछि पनि उपचारका लागि निरन्तर रकम खर्च हुँदै गयो । उपचारमा भएको खर्चले परिवारको जायजेथा सकिएको छ,’ नगिन्द्रले भने ।
मौरिससमा उपचारका क्रममा भएको खर्चको यकिन विवरणसमेत परिवारसँग छैन । अहिले उपचार जारी राख्नुपर्ने अवस्था छ, तर परिवारसँग थप उपचारका लागि आवश्यक रकम जुटाउने सामर्थ्य बाँकी छैन ।
शम्भु अहिले भक्तपुरको मध्यपुर थिमी लोकन्थलीस्थित शान अस्पतालमा उपचाररत छन्। उनको उपचारका लागि भाइ राजन खड्कासहित दिदीबहिनी लिना खड्का र राधा खड्का निरन्तर खटिरहेका छन् ।
परिवारका लागि अहिले सबैभन्दा ठुलो चुनौती पैसा बनेको छ। आफ्नो क्षमताले भ्याएसम्म उपचार गराउँदा पनि आर्थिक स्रोत सकिएपछि परिवारले अब शम्भुको जीवन बचाउन सहयोगी मनहरूको साथ खोजेको हो। ‘छोराको उपचार रोक्नुपर्ने अवस्था नआओस्’ भन्ने आशामा रहेका बुबा नगिन्द्रले शम्भुको उपचारका लागि सक्दो सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् ।
शम्भुको उपचारमा सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले शम्भु खड्काको नाममा रहेको एनआइएमबी बैङ्कको खाता नम्बर ०१९०५०२००२७३३५ मा सहयोग रकम जम्मा गर्न सक्ने परिवारले जनाएको छ । परिवारका लागि सानो सहयोग पनि अहिले ठुलो आशा बन्न सक्छ । उपचारमा निरन्तर सहयोग जुट्न सके शम्भुको जीवन बचाउने प्रयासलाई निरन्तरता दिन सकिने परिवारको अपेक्षा छ ।








































































