धरान : धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख अइन्द्र विक्रम बेघाले विद्यार्थीका पाँच बुँदे माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि आन्दोलनरत विद्यार्थीहरूले लगाएको ताला आफैँ खोलेका छन् ।

बाल सञ्जाल अध्यक्ष मानव गदाइली सहित अनशन बसेका विद्यार्थीहरूले सोमबार बिहान नगर प्रमुखको कार्यकक्ष सहित प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र शिक्षा महाशाखामा, ६ र ११ वडा कार्यालयमा लगाएको ताला खोलेका हुन ।

यसअघि आइतबार खोल्ने सहमति भएपनी विभिन्न समूहको ताल्चा नखोल्न दबाब आएपछि ताला नखोलेको अध्यक्ष गदाईलीले बताए ।

रिक्त शिक्षक दरबन्दीमा नियुक्तिको माग गर्दै विद्यार्थीहरूले शुक्रवार कार्यवाहक नगरप्रमुख बेघाको कार्यकक्षमा तालाबन्दी गरेका थिए । त्यसपछि उपमहानगरपालिकाले रिक्त शिक्षक दरबन्दी पूर्तिका लागि प्रक्रिया अघि बढाउन सम्बन्धित विद्यालयका प्रधानाध्यापकहरूलाई परिपत्र गरेको थियो।

यसअघि धरान-११ को ज्ञानोदय र धरान-६ को सरस्वती माविमा रिक्त दरबन्दीमा शिक्षक नियुक्तिको माग राखी उपमहानगरपालिका घेराउ,तालाबन्दी र कार्यवाहक नगरप्रमुख बेघाको पुत्ला दहन समेत भएको थियो।

कावा प्रमुख बेघाले सर्वपक्षीय छलफल गरी विद्यार्थीका पाँच बुँदे माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए। त्यसपछि विद्यार्थीहरूले आन्दोलनको स्वरूप परिवर्तन गर्दै उपमहानगरपालिकामा लगाएको ताला खोलेका हुन ।

अब सम्बन्धित विद्यालयमा रिक्त शिक्षक दरबन्दी पूर्तिका लागि नगरले अघि बढाएको प्रक्रिया र पाँच बुँदे सहमतिको कार्यान्वयन विद्यार्थी पक्षले निगरानी गर्ने जनाएका छन् ।

बाल सञ्जाल अध्यक्ष गदाईलिले सोमबार बिहान प्रेस विज्ञप्ति सार्वजनिक गर्दै ताला खोलेको जानकारी दिएका हुन । विज्ञप्तिमा विद्यार्थीहरूको माग पूरा भएपछि ताला खोलेको जनाएको छ ।