इटहरी : नेपाली काँग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मोरङ क्षेत्र नम्बर ६ को अधिवेशन उद्घाटनको क्रममा कुटपिट भएको छ । क्षेत्रीय सभापति देवराज तामाङ समर्थित कार्यकर्ताले नेताहरू माथि हातपात गरेका हुन् ।

बुधवार मनोनयन दर्ता गराएर बिहीबार निर्वाचन गर्नेगरि तयारी भइरहेको बेला क्रियाशील सदस्यताको विवादलाई लिएर कुटपिट भएको हो । सुन्दरहरैचाको केही वडामा पुराना र नयाँ केही क्रियाशील सदस्यको नाम नआएको विषयमा विवाद उत्पन्न भएको थियो । सोही विषयमा विवाद बढ्दै गएपछि कार्यक्रम छाडेर हिँडेका नेताहरूलाई बाटोमा छेकेर कुटेको स्थानीयले बताएका छन् ।

सुन्दरहरैँचा ४ स्थित सिग्देल बन्धु प्रतिष्ठानमा कार्यक्रम सुरु हुनु अगावै नेताहरू माथि आक्रमण भएको थियो । झडपमा क्षेत्रीय सभापतिका उम्मेदवार चुमनारायण तबदार सहित चेतराज रेग्मी र समुद्र पोखरेल घाइते भएका छन् । घाइते तीनैजनाको नोबेल मेडिकल कलेज विराटनगरमा उपचार भइरहेको छ ।

झडपपछि अधिवेशन प्रक्रिया स्थगित भएको छ । काँग्रेस केन्द्रीय समितिले घटनाको विषयमा सत्य तथ्य बुझिरहेको र बिहीबार बिहान सम्मका केही निर्देशन आउने नेताहरूले बताएका छन् । सहमहामन्त्री डिला सङ्ग्रौलालाई समेत हातपातको प्रयास भएपछि घटना झनै संवेदनशील बनेको हो । मोरङ ६ मा केन्द्रीय समितिसँगको समन्वयमा प्रतिनिधि र क्षेत्रीय समिति छनौट गर्न सक्ने बताइएको छ ।