झापा : कोरोना भाइरसबाट पीडित झापाका सञ्चारकर्मी मध्ये तीन जनाले कोरोना बिमाको भुक्तानी प्राप्त गरेका छन् ।

हिमालयन जेनेरल इन्स्योरेन्स कम्पनीले शुक्रवार सञ्चारकर्मी माधव खतिवडा ‘कल्पित’लाई बिमा बापतको रकम उपलब्ध गराएको छ । कम्पनीका बिर्तामोड शाखा प्रमुख सुशील थापाले कोरोना बिमा बापतको एक लाख रुपैयाँको चेक नेपाल पत्रकार महासङ्घ झापा शाखाका सह सचिव केशव भट्टराई र सञ्चारकर्मी कल्पितलाई हस्तान्तरण गरेका हुन् ।

यस अघि पत्रकारहरू भूपाल लुइँटेल र रमेश तिवारीले कोरोना बिमा बापतको रकम प्राप्त गरिसकेका छन् । झापाका ११ जना सञ्चारकर्मी कोरोना भाइरसबाट संक्रमित बनेका थिए । उनीहरू सहित झापाका अधिकांश सञ्चारकर्मीको कोरोना बिमा गरिएको छ । अन्य आठ जना सञ्चारकर्मीको भुक्तानी हुनु पर्ने बिमा रकम प्रक्रियामा रहेको इन्स्योरेन्स कम्पनीहरूले बताएका छन् ।

बिमा बापतको चेक हस्तान्तरण गर्दै हिमालयन जेनेरलका शाखा प्रमुख थापाले कागजात मिलेका विमितको रकम भुक्तानी सकेसम्म चाडै गर्दै आइरहेको बताएका छन् ।