झापा : कोरोना भाइरस सङ्क्रमणको जोखिम अझै कायमै रहेको तथा चाडपर्व नजिकिएसँगै हुने भिडभाडलाई मध्यनजर गर्दै बिर्तामोड उद्योग वाणिज्य सङ्घले सङ्घमा आबद्ध व्यवसायीहरूलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ ।

सङ्घको पहलमा लगाउन लागिएको भेरोसिल खोपको पहिलो मात्र हो । पूर्वको व्यस्त सहरको रूपमा रहेको बिर्तामोडका ब्यवसायीहरुलाई आगामी असोज २ र ३ गते दुई दिन कोरोना विरुद्धको खोप लगाउने निर्णय भएको बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश सिवाकोटीले जानकारी दिए ।

दुई चरणमा एक हजार ९५० जना व्यवसायीलाई खोप लगाउने कार्यक्रम बनाइएको छ । खोप लगाउनका लागि आर्थिक वर्ष २०७७/०७८ र आर्थिक वर्ष २०७८–०७९ मा दर्ता वा नवीकरण भएका उद्योगी व्यवसायीलाई नेपाल सरकारले जारी गरेको परिचय पत्र र पानको फोटोकपी लिएर आएमा सङ्घको रेकर्डमा दर्ता भएकालाई मात्र खोप लगाइने निर्णय भएको सङ्घका प्रवक्ता सञ्जीव घिमिरेले बताए ।

उनले भने -"खोप लगाउन पहिला आउनेलाई पहिलो प्राथमिकता दिइन्छ । पहिलो दिन एक हजार र दोस्रो दिन ९५० जनालाई मात्र खोप लगाइन्छ ।" उनले कसैले अगाडी नै खोप लगाएको र दोस्रो डोजका लागि आए नपाउने उल्लेख गरे । पहिलो चरणको खोप कार्यक्रम भएकाले भ्याक्सिन नलगाउनेहरुले मात्रै यो खोप लगाइने बताए।