ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “बचत उठाएर इन्भेष्टमेण्टका सञ्चालक बेपत्ता” शीर्षकको समाचार छापिएको छ । मोरङको बेलबारी ११ लक्ष्मीमार्गस्थित इकोनोमिक्स इन्भेष्टमेण्ट प्रालिका सञ्चालक ग्राहकले बचत गरेको लाखौं रकम उठकएर बेपत्ता बनेका छन् । स्थानीय व्यापारी व्यवसायीले बचतले गरेको रकम संकलन गरेर प्रालिका सञ्चालक बेपत्ता बनेका हुन् । करिब ५ वर्षअघि सञ्चालनमा आएको इन्भेष्टमेण्टले गतवर्षदेखि बेलबारी ११ मै रहेको दीप पशुपति बचत तथा ऋण सहकारी संस्थाको पासबुक प्रयोगमा ल्याएको थियो । अवैधानिक रुपमा प्रयोग गरिरहे पनि स्थानीय प्रशासन मुकदर्शक बनेको थियो । गतवर्ष राष्ट्र बैंकले धरान, इटहरीलगायतका शहरमा यस प्रकारका इन्भेष्टमेण्ट प्रालिहरुमा छापामारेपश्चात् प्रालिले कार्यालयको होडिङ बोर्ड हटाएर काम गर्दै आएको थियो । त्यसलगत्तै सहकारीको बचत पासबुक प्रयोगमा ल्याएको दीप पशुपतिका सचिव विक्रम माझिले बताए ।

यसैगरी आजकै ब्लाष्ट टाइम्स दैनिकमा “कानून निर्माणमा इटहरी अगाडि” शीर्षकको समाचार छापिएको छ । इटहरी उपमहानगरले हालसम्म ४१ वटा कानुन निर्माण गरेको छ । स्थानीय सरकारलाई आफ्नो कानून आफै बनाउन पाउने संवैधानिक अधिकार अन्तर्गत इटहरी उपमहानगरले धमाधम कानून निर्माण गरेको हो । पहिलो वर्ष कानून अभावमा काम गर्न निकै गाह्रो परेकोले अत्यन्तै मेहनत गरेर ४१ व् वटा कानून निर्माण गरिसकेको उपप्रमुख लक्ष्मी गौतमले बताइन् । ऐन, नियमावली र कार्यविधि गरेर ४१ व् वटा कानून निर्माण गरेको उपमेयर गौतमले बताइन् ।

उद्घोष : आजको उद्घोष दैनिकमा “भोजपुरमा गाँजा ओसार्ने पक्राउ” शीर्षकको समाचार छापिएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरले गाजा ओसार पसारमा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । अनुसन्धानका क्रममा गाँजा ओसारपसारमा संलग्न रहेको भेटिएपछि भोजपुर नगरपालिका ६ देउराली बस्ने रमेश राई र भोजपुर नगरपालिका ५ बोखिम बस्ने धनबहादुर विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । उनीहरुलाई भोजपुर ६ भदौरेका जंगल हुँदै गाँजा ओसारपसार गर्दै गरेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख नरबहादुर सलामी मगरले बताए । पक्राउ परेका राई र विकको साथबाट पाँच किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।