विराटनगर : उद्योगी व्यवसायीहरूले उधारो कारोबार नियमित गर्न छुट्टै कानुन बनाउन माग गरेका छन् । व्यावसायिक फर्महरूले समयमा उधारो फर्स्यौट नगर्न समस्या बढ्दै जाँदा उद्योग र व्यापार दुवै क्षेत्र नराम्ररी प्रभावित भइरहेको भन्दै उनीहरूले कानुन बनाएर नियमन गर्नु पर्ने निष्कर्ष निकालेका हुन् ।

मंगलबार मोरङको सुन्दर हरैंचामा उद्योग सङ्गठन मोरङले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी भएका १० वटा उद्योग वाणिज्य सङ्घहरूको भेलाले उधारो समस्या जटिल बन्दै गएकोले कानुन बनाएर व्यवस्थित गर्न नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णयसमेत गरेका छन् । “उधारो समय मै तिरौँ, व्यापारिक सद्भाव कायम राखौँ” भन्ने मूल ध्येयका साथ उधारो कारोबार व्यवस्थापनका लागि सहकार्य तथा समन्वय गर्न कोशी प्रदेशका दश जिल्ला तथा नगर उद्योग वाणिज्य सङ्घहरूले सामूहिक पहल गर्ने सहमति गरेका छन् ।

छलफलमा उधारो कारोबार चुनौती र समस्याका रूपमा देखिएको स्वीकारसमेत गरिएको थियो । सामूहिक भेला पश्चात् जारी ६ बुँदे सम्झौतामा उधारो कारोबारको नियमनका लागि स्पष्ट कानुनी व्यवस्था गर्न नेपाल सरकार समक्ष सामूहिक पहल गर्ने, जिल्ला/नगर उद्योग वाणिज्य सङ्घले सम्बन्धित फर्म, कम्पनी वा उद्योगलाई उधारो रकम यथाशीघ्र फरक फारक पार्न हर सम्भव पहल र प्रयत्न गर्ने, आफू सम्बन्धित क्षेत्रका उद्योग वा व्यापारिक पक्षलाई उधारो कारोबार व्यवस्थित गर्न पत्राचार गरी नैतिक एवं सामाजिक दबाब सिर्जना गर्ने उल्लेख छ ।

त्यसैगरी आगामी दिनमा मुलुकका अन्य जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरूलाई यस पहलमा समावेश गर्दै लैजाने, उद्योग/व्यवसाय लगायत व्यवसायीक क्षेत्रको प्रवर्द्धन र बृहत्तर हितका मुद्दामा साझा धारणा बनाई कार्य गर्ने र संस्थागत विकास एवं सुदृढीकरणका लागि आपसी अन्तरसम्वादलाई थप घनिभूत बनाउँदै लैजाने सहमति गरिएको हो ।

भेलालाई सम्बोधन गर्दै उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुरानाले व्यावसायिक सम्बन्धका आधारमा हुने उधारो कारोबारलाई नियमन गर्न नेपाल सरकारको हालसम्म कुनै स्पष्ट कानुन नभएकाले व्यसायीक हितका लागि सङ्गठनले यसको पहल गर्ने बताए । उनले राजश्व सम्बन्धी विवादको समाधानका लागि राजश्व न्यायाधिकरण, बैङ्कहरूको ऋण असुलीका लागि ऋण असुली न्यायाधिकरण जस्ता निकायहरू भए पनि उधारो उठाउने सम्बन्धमा कुनै न्यायिक निकाय नभएको बताए।

साझा समस्या समाधान गर्न कानुनसँगै आवश्यक संयन्त्र निर्माण गर्न सरकारलाई आग्रह गर्ने उनले बताए । सम्झौतामा उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना, मोरङ व्यापार सङ्घका नवीन रिजाल, सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठ, विराट व्यापार सङ्घका अध्यक्ष नरेश खत्री, इटहरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जीवन पराजुली, दमक उद्योग वाणिज्य सङ्घका अध्यक्ष देवी प्रसाद गुरागाईँ, बिर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रकाश सिवाकोटी, इनरुवा उद्योग वाणिज्य सङ्घका अध्यक्ष वीरेन्द्र कुमार साह, उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष शेरबहादुर भण्डारी, सुन्दरहरैचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्ण रिजालले हस्ताक्षर गरेका छन् ।

-हाम्रोमत दैनिकबाट