विराटनगर : कोशी प्रदेश सरकारले विभिन्न नामका स्मृति भवनका लागि विनियोजन गरेको बजेट सम्बन्धित दलका पार्टी कार्यालय मर्मत तथा निर्माणमा खर्च हुने देखिएको छ।

विगतदेखि नै केही प्रतिष्ठानका नाममा विनियोजन भएको बजेटले पार्टी कार्यालय निर्माण तथा मर्मतको काममा खर्चिने कार्यलाई यस पटक पनि निरन्तरता दिइएको छ ।

प्रदेश सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको आर्थिक वर्ष २०८०-८१ को बजेटमा तीन ठुला पार्टीसँग सम्बन्धित स्मृति भवनहरूका लागि बजेट विनियोजन गरिएको छ ।

उक्त बजेटबाट पार्टी कार्यालयको भवन, कार्यालय परिसर आदि निर्माण तथा मर्मतको काम हुने बताइएको छ । पार्टी कार्यालयलाई सरकारले सोझै बजेट नदिने भएकाले त्यस्ता पार्टी कार्यालयहरू प्रतिष्ठान वा स्मृति भवनको नाममा सञ्चालन गर्ने गरिएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पनि सम्हालेका मुख्यमन्त्री केदार कार्कीले आफ्नो दल नेपाली काँग्रेस, विपक्षी दल नेकपा एमाले, र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको कार्यालय भवन बनाउन विभिन्न स्मृति भवनका नाममा चार करोड ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेका हुन् ।

काँग्रेस प्रदेश समितिको भवन मोरङको कटहरी गाउँपालिका-२ मा निर्माणाधीन छ । पार्टी कार्यालयको नाम शुशीला विश्वेश्वर स्मृति सामुदायिक भवन राखिएको छ ।

गत वर्ष एक करोड विनियोजन भएपछि निर्माण थालिएको उक्त कार्यालयका लागि यो वर्ष थप दुई करोड ५० लाख रुपैयाँ बजेट व्यवस्था गरिएको हो ।

सुशीला–विश्वेश्वर स्मृति सामुदायिक भवन नाममा एक करोड ५० लाख र सुशील विश्वेश्वर स्मृति प्रतिष्ठान भवनका नाममा थप एक करोड छुटाइएको छ । दुवै नाम गरेको भवन पार्टी कार्यालय नै भएको काँग्रेस प्रदेश समिति स्रोतले बताएको छ ।

एमाले मोरङको कार्यालय विराटनगर–११ पाञ्चालीमा रहेको मदन स्मृति भवनका लागि पनि बजेट विनियोजन गरिएको छ । पहिले दुई तले भवन रहेकोमा अब माथिल्लो तलामा प्रदेश कमिटीका लागि भवन थप्ने एमालेको योजना छ ।

एमाले प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाले कार्यालय प्रयोजनका लागि स्मृति प्रतिष्ठानको तला थप गर्ने तयारी गरेको जानकारी दिए । त्यसका लागि कोशी प्रदेश सरकारले ५० लाख रुपैयाँ बजेट विनियोजन गरिदिएको छ ।

सत्तारुढ नेकपा माओवादी केन्द्रको प्रदेश कार्यालय बुढीगंगा गाउँपालिका–२ मा निर्माणाधीन छ । डोलराज कोइराला सामुदायिक स्मृति भवन नाम दिइएको उक्त भवन निर्माण गर्न यस वर्ष विभिन्न शीर्षकमा १ करोड ७५ लाख रुपैयाँ विनियोजन गरिदिएको छ । गत वर्ष पनि उक्त भवनका लागि ४० लाख रुपैयाँ विनियोजन गरेकोमा खर्च हुन सकेको थिएन ।

काँग्रेस र माओवादीको पार्टी कार्यालय रहने भवन शहरी विकास तथा भवन निर्माण कार्यालय, मोरङ मार्फत निर्माण गर्ने कार्य जारी रहेको छ भने एमालेको मदन स्मृतिको काम पनि सोही कार्यालयबाट हुने गरी बजेट विनियोजन गरिएको छ ।

हाम्रोमत दैनिकबाट