धनकुटा : धनकुटाको पाख्रीवास नगरपालिका-६ का वडाध्यक्ष देवेन्द्र गुरागाईँको घरमा आगजनी भएको छ। डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईँको घरमा परिवारका सदस्यलाई भित्रै थुनेर गए राति आगो लगाइएको हो ।
राती घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर घरमा कसैले आगो लगाइदिएको वडाध्यक्ष गुरागाईँले जानकारी दिए । ‘हामी तलामाथि सुतेका थियौँ, बरण्डाबाट हिँड्ने बाटो छ, त्यहाँको ढोकामा तलबाट चाबी लगाइदिएर तल्लो तलाबाट आगो सल्काएको रहेछ,’ वडाध्यक्ष गुरागाईँले भने, ‘राती धुवा आएको थाहा पाएर निस्किन खोज्दा बाहिरबाट चाबी लगाइदिएको थाहा भयो, छिमेकीलाई बोलाएर झ्यालमा भर्‍याङ लगाउन लाएर बाहिर भागेर ज्यान जोगाइयो ।’
नेपाली काँग्रेसको तर्फबाट गुरागाईँ वडाध्यक्षमा निर्वाचित भएका हुन् । घरमा गुरागाईँका श्रीमान-श्रीमती सुतेका थिए । उनीहरू सुतिसकेपछि राती १२ बजेपछि घटना भएको हो । तल्लो तलामा रहेको भान्छा कोठाको ढोका खोलेर दुई वटा ग्यास सिलिण्डर एकै ठाउँमा भेला गरी सबै कपडाहरू पनि एक ठाउँमा थुपारेर आगो सल्काइएको पाइएको वडाध्यक्ष गुरागाईँले बताए । उनका अनुसार तल्लो तलाका तीन वटा कोठामा आगो लागेको छ । आगोले तल्लो तलामा रहेका अधिकांश सामान जलेका छन् । घटना थाहा पाएपछि भेला भएका छिमेकीहरूले आगो निभाएका हुन् ।
आगो कसले लगाएको भन्ने खुलेको छैन । तर, घटनाको प्रकृति हेर्दा ज्यान मार्ने नियतले आगो लगाइएको देखिएको वडाध्यक्ष गुरागाईँ बताउँछन् । उनी भन्छन्, ‘गाउँमा कसैसँग पनि मेरो दुस्मनी छैन । कसले यस्तो गर्‍यो थाहा भएन । तर, मान्छे मार्ने नियतले ढोका थुनेर घरमा आगो लगाइदिएको प्रस्ट हुन्छ ।’
आगो निभाउन केही ढिलो भएको भए ग्यास सिलिण्डर विस्फोट भएर घर पुरै ध्वस्त हुने अवस्था रहेको उनी बताउँछन् । घटनापछि आज बिहान प्रहरी टोली त्यहाँ पुगेको थियो । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान अघि बढाएको छ ।
सो विषयमा शङ्कास्पद एक जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजबाबु महर्जनले जानकारी दिए । उनका अनुसार मानसिक सन्तुलनमा समस्या भएको र चोरी गर्ने काममा संलग्नले घटना गराएको हुन सक्ने प्रारम्भिक निष्कर्षसहित अनुसन्धान अघि बढाइएको छ ।
dhankuta-aago-2
राजधानी दैनिकबाट