झापा : दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाले क्वार्टरमा अनैतिक गतिविधि गर्दै गरेको भिडियो बाहिरिएको छ । एक महिलासँग मदिरा सेवन गर्दै अनैतिक क्रियाकलाप गर्दै गरेको भिडियोमा देखिन्छ ।

महिलाले भिडियो टिकटकमार्फत लाइभ गरेकी थिइन् । मदिराले लठ्ठ भएका निरौलाले लाइभमै अनैतिक गतिविधि गरेको देख्न सकिन्छ । भिडियो देखिएको कोठा दमक नगरपालिकाले उपलब्ध गराएको निरौलाको सरकारी क्वार्टर हो । क्वार्टरमै अश्लील हर्कत गरेको बाहिरिएपछि उनको विरोध सुरु भएको छ ।

प्रमुख प्रशासकीय अधिकृत निरौलाले भने यो भिडियो काठमाडौंको भएको दाबी गरे । ‘यो क्वार्टरमा होइन, काठमाडौँमा जन्मदिन मनाउँदाको भिडियो हो । धेरै जना ग्रुपमा हुँदाको भिडियो हो । कसरी बाहिरियो म अचम्मित छु,’ उनले भने, ‘काठमाडौंको होटेलमा जन्मदिन मनाउँदाको भिडियो हो, क्वार्टरमा होइन । कसैले मेरो चरित्रहत्या गर्न खोजेको हो ।’ उनले क्वार्टरमा नभएको दाबी गरे पनि मिडियालाई प्राप्त भिडियो अनुसार त्यो नगरपालिकाले उपलब्ध गराएको क्वार्टर नै भएको पुष्टि हुन्छ ।

दमक नगरपालिकाका प्रवक्ता धर्मप्रसाद दाहालले भिडियोमा देखिएका व्यक्ति नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निरौला भएको पुष्टि गरे ।

उनले छानबिन गरी प्रमाणित भए कारबाही गरिने बताए । ‘अहिले हेर्दा भिडियो बाहिर आएको देखिएको छ । छानबिन गर्छौँ । प्रमाणित भए कारबाही गर्न नगरपालिका पछि पर्दैन,’ उनले भने, ‘भिडियोले दमक नगरपालिकाकै बदनाम भएको छ ।’

damak-office

नयाँ पत्रिकाबाट