औजार : आजको औजार दैनिकमा “रेडपाण्डा ट्रेलमा सेवक अभियानको तीनदिने पदयात्रा” शीर्षकको समाचार छापिएको छ । सुर्योदय महोत्सवमा धरानको पदयात्रा टोलीले १७ घण्टा पदयात्रा गरेको छ । सुर्योदयन नगरपालिका इलामको आयोजनामा भएको प्रथम सुर्योदय महोत्सवमा सहभागी भएको सेवक अभियानको टोलीले नगरपालिकाको पर्यटकीय पदमार्गमा पदयात्रा गरेका छन् । विशेष गरी सुर्योदय नगरपालिकाले रेडपाण्डा ट्रेलको प्रबद्र्धनका लागि भन्दै धरानको सेवक अभियानलाई पदयात्रा गरिदिन निमन्त्रणा गरेको थियो । अभियानका अध्यक्ष राजिव हलवाईको नेतृत्वमा २३ जनाको टोलीले उक्त पदमार्गमा पदयात्रा गरेको छ ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “दमकका सहकारी सेवाग्राही लुट्दै भाग्दै” शीर्षकको समाचार छापिएको छ । दमकमा सञ्चालित विभिन्न कोठे सहकारीहरुले सेवाग्राहीको बचत रकम कुम्ल्याएर सुइँकुच्चा ठोक्ने गरेका छन् । फितलो सञ्चालक समिति, कमजोर व्यवस्थापन समूह भएका कारण दमकका कोठे सहकारीहरु एकपछि अर्को बन्द हुँदै भाग्नेक्रम बढ्दो छ । बुधबार ब्लाष्ट टाइम्स दैनिकले दमक ६ मा रहेको स्वर्गपुरी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको बिजोग भएको समाचार सार्वजनिक गरेपछि दमकमा अन्य सहकारीका पीडितहरु प्नि सम्पर्कमा आएका छन् । मेहनत र दुःख गरेर बचाएको रकम सहकारीमा राख्दासमेत असुरक्षित भएको भन्दै गुनासो गरेका छन् । नारायणी बचत तथा ऋण सहकारी संस्थाले दमक ६ नजिकैको एक घरमा कार्यालय सञ्चालन गरी आएको र सो संस्थामा बचत गरेका बचतकर्ताहरुको लाखौं रुपैयाँ निक्षेप फिर्ता नगरेको भन्दै पीडितहरु हारगुहार गरिरहेका छन् ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “कृष्णदासको नक्सा पास नगरेको भवनको अनुसन्धान कहिले ? ” शीर्षकको समाचार छापिएको छ । जवजस्ती करणीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका सिद्धबाबा भनिने कृष्णदास गिरीले नक्सा पाससमेत नगराई सुनसरी मोरङ सिँचाई आयोजनाको चतरास्थितनहर पश्चिम किनारको १३ विघा जग्गामा भौतिक संरचना निर्माण गरेका छन् । करिब ८ करोड रुपैयाँ लागतको एक सय २८ कोठे भवनको गिरीले नक्सा पास समेत नगराई संरचना बनाएका हुन् । वातावरण प्रदुषण शुद्धीकरण गर्ने विशेष उद्देश्य राखेर गिरीले चतरामा गत फागुनमा श्रीराम तारक ब्रहम महायज्ञ गरेका थिए ।