इटहरी : इटहरीको कामक्ष्यदेवी सहकारीका सञ्चालक अनिल गौतम पक्राउ परेसँगै सहकारीहरूमा समस्या आएको भन्दै चिन्ता बढ्न थालेको छ । शनिवार पक्राउ परेका गौतमलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धानको लागि १० दिनको म्याद थप भएको छ । 
बचतकर्ताका अनुसार गौतमले ५ करोड ४५ लाख ५५ हजार १८३ रुपैयाँ उनले ठगी गरेको रकम फिर्ता गर्नुपर्ने देखिन्छ । त्यसमध्ये ३ करोड ७६ लाख ३७ हजार ६ सय १६ रुपैयाँ मात्र ऋण लगानी भएको छ । बिना धितो ऋण दिएको कारण लगानी फिर्ता आउने सम्भावना नभएको भन्दै बचतकर्ता चिन्तित छन् । 
यसअघि धरानको बराह सहकारीमा पनि यस्तै समस्या देखिएको थियो । बराह ग्रुप अफ कम्पनी अन्तरगत बराह सहकारीले अझै बचतकर्ताको रकम फिर्ता गर्न सकेको छैन । कोभिड महामारी र पछिल्लो आर्थिक सङ्कटले लगानी उठ्न गाह्रो परेको भन्दै बराहले केही समयपछि सम्पूर्णको बचत फिर्ता गर्ने आश्वासन दिएको छ । तर त्यसमा बचतकर्ता र सेयर सदस्य भने ढुक्क हुन सकेका छैनन् । 
सानीमा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जितेन बस्नेत केही सहकारीले फटाई गरेको कारण अन्य सहकारीलाई पनि समस्या परेको बताउँछन् । पछिल्लो समयमा सहकारीमा बचत फिर्ता गराउनेको लाइन लाग्न थालेपछि समस्या झनै बढ्न थालेको उनले बताए । सहकारीले अधिकतम ३० प्रतिशत मात्र तरलता राख्ने हुँदा लगानी भएको पैसा तत्काल फिर्ता गर्न सक्ने अवस्था नरहेको उनले प्रस्ट पारे । 
‘सहकारीले ऋण लगानी गर्ने र त्यसैको आम्दानीले संस्था चलाउने हो । ऋण लगानी एकै पटक उठ्ने अवस्था हुँदैन । अहिले बजारमा पनि तरलता अभाव छ । सबैले सहकारीमा गरेको बचत फिर्ता लिने हो भने संस्थाले धान्न सक्दैन ।, उनले भने, ‘निश्चित समयका लागि गरेको लगानी भाखा भन्दा अगाडी माग्ने कुरा हुँदैन । अब त्यही बिचमा सबै बचत फिर्ता गर्नुपर्दा कसरी सम्भव हुन्छ ? अहिले आत्तिने अवस्था आएको हैन । केही समय धैर्य गर्दा सबै समस्या समाधान हुन्छ ।’ 
बचत तथा ऋण सहकारी सङ्घ सुनसरीका कोषाध्यक्ष समेत रहेका बस्नेतले बजारमा चालु पुँजीको अभाव हुनु र सबैले बचत गरेको रकम निकाल्न खोज्दा तत्कालीन समस्या देखिएको बताए । 
नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घले समस्यामा परेका सहकारीलाई उद्धार गर्दै आएको छ । बचत तथा ऋण सहकारी संस्थाको सहयोगी संस्थाको रूपमा चिनिएको नेफ्स्कुनले इटहरीमा पनि केही सहकारीलाई सहयोग गरिरहेको छ । 
नेफ्स्कुन इटहरी फिल्ड कार्यालयका व्यवसाय अधिकृत मुकेश दाहाल बजार कतिपय सहकारीले अटेर गरेर बचत सिद्धान्त र कारोबारको रेसियो नबुझ्दा समस्या बढेको बताउँछन् । धेरै सहकारीमा गएर सिकाउन खोज्दा पनि बेवास्ता गर्ने अवस्था रहेको उनले बताए । 
बचतको अनुपातमा अधिकतम ७० प्रतिशत लगानी गर्नुपर्ने भए पनि ९० प्रतिशत सम्म लगानी गर्दा यो अवस्था आएको हो । नेफ्स्कुनले नेपाल सरकार, सहकारी विभाग र राष्ट्र बैक सँग मिलेर स्थिरिकरण कोष खडा गरेको छ । स्थिरिकरण कोषमा भाग लिने र त्यसमा रकम छुट्याउने सहकारीमा समस्या आए पनि सहज समाधान हुने गरेको छ । 
दाहालले भनेजस्तै इटहरीका समग्र सहकारीको अवस्था कारोबारको अनुपात मिलेको देखिँदैन । इटहरी उपमहानगरपालिकाको नगर स्तरीय सहकारीमा मात्र साढे ३ अर्ब ३५ करोड बचत हुँदा ३ अर्ब ७८ करोड भन्दा बढी लगानी भएको छ । त्यसमध्ये विभिन्न वित्तीय संस्थाबाट साढे ३८ करोड ऋण लिएका छन् भने साढे १४ करोड जगेडा कोष र २६ करोड हाराहारी स्थायी सम्पत्ति देखिन्छ । बचत र ऋणको अनुपात नमिल्दा समस्या बढ्दै गएको देखिन्छ । 
हाल इटहरी उपमहानगरपालिका भित्र नगर स्तरीय मात्र १२७ सहकारी सञ्चालनमा छन् । त्यसमध्ये ९२ वटा बचत तथा ऋण सहकारी मात्र छन् । इटहरी उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार ७८ हजार ७ सय ५९ सेयर सदस्यको एक अर्ब एक करोड बढीको सेयर कारोबार भएको छ ।