धरान: वचतकर्ताहरुको करोडौं रकम हिनामिना गरेको अभियोगमा धरानको सल्लेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष कृष्ण बिकसहित ३ जना जेल चलान भएका छन् ।

जिल्ला अदालत सुनसरीको आदेश अनुसार अध्यक्ष बिक, व्यवस्थापक रहेका उनका छोरा मोहन दर्नाल र लेखापाल कृष्णकुमारी बिक जेल चलान भएका हुन् । जिल्ला न्यायाधिश धर्मराज पौडेलले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार अध्यक्ष बिकलाई पुर्पक्षमा राखेर अनुसन्धान गर्न आदेश दिएका थिए भने मोहन र कृष्णकुमारीलाई २-२ लाख धरौटी वा त्यो बराबर जमानत राख्न आदेश दिएका थिए । मोहन र कृष्णकुमारीले पनि धरौटी बुझाउन नसकेपछि पुर्पक्षको लागि जेल गएका हुन् ।

सल्लेरीका अध्यक्ष बिकले वचतकर्ताहरुको ६ करोड बढी रकम हिनामिना गरेको खुलेको थियो । उनले सुनचादी पसल पनि सञ्चालन गरेको र सहकारीको रकम झिकेर त्यहाँ लगानी गरेको बताइएको छ । अध्यक्ष बिक असार २३ गतेदेखि संस्थामा सम्पर्कविहिन भएर फरार भएका थिए । उनलाई झण्डै एक महिनापछि प्रहरीले बुटवलबाट पक्राउ गरेर धरान ल्याएको थियो । उनी बुटवलमा डेरा लिएर लुकीछिपी बसिरहेको अवस्थामा भेटिएको थियो ।

प्रहरीले बुटवलस्थित विकको डेराबाट सुनजस्तो देखिने धातुको गरगहनाहरु १६३.२९६ ग्राम (अन्दाजी १४ तोला) र चाँदी जस्तो देखिने धातु २७९.९३६ ग्राम (अन्दाजी २४ तोला) पनि विश्वकर्माको डेराबाट वरामद गरेको थियो । प्रहरीका अनुसार अध्यक्ष विश्वकर्माले सहकारीको रकम हिनामिना गरेको भन्दै ८५ जना वचतकर्ताहरुले उजुरी दिएका छन् । उनीहरुको मागदाबी कुल ६ करोड ३ लाख २० हजार ६ सय ६५ रुपैया पुग्छ ।