इटहरी : शुक्रवार दिउसो इटहरी उपमहानगरपालिकामा कामक्ष्यादेवी बचत तथा ऋण सहकारीका बचतकर्ताले घेराउ गरे । सहकारीका अध्यक्ष अनिल गौतमले ५ करोड ठगी गरेको भन्दै बचतकर्ताले गौतम विरुद्ध आक्रोशित भए । 

लामो समयदेखि फरार रहेका गौतमलाई इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेलले सहमति गराउने भन्दै बोलाए । शुक्रवार हाजिर भएका गौतमलाई कानुनी प्रक्रियाबाट समाधान गराउनुपर्ने भन्दै प्रहरी प्रशासनको जिम्मा लगाए । सहकारीका बचतकर्ताको रकम हिनामिना गरेका गौतमलाई सहमति गराउने विगतको प्रयास असफल भएपछि प्रहरीले पक्राउ गरेको हो ।
यसअघि भदौ ३१ गते पन्ध्र प्रतिशत बचत फिर्ता गर्ने गौतमले बाचा गरेका थिए । त्यसपछि फरार रहेका उनलाई उपमहानगरपालिका कार्यालयबाटै प्रहरीले पक्राउ गरेको हो । बचतकर्ता भजेन्द्र रिजालका अनुसार गौतमले ५ करोड ४५ लाख ५५ हजार १८३ रुपैयाँ उनले ठगी गरेको रकम फिर्ता गर्नुपर्ने देखिन्छ । त्यसमध्ये ३ करोड ७६ लाख ३७ हजार ६ सय १६ रुपैयाँ मात्र ऋण लगानी भएको छ। 
बिना धितो ऋण दिएको कारण लगानी फिर्ता आउने सम्भावना नभएको उनले बताए । आफ्नो १ लाख ३० हजार बचत डुबेको कारण हरतरहले पैसा फिर्ता हुनुपर्ने उनको भनाई छ । 
१६ लाख बचत पैसा डुबेपछि आक्रोशित भएको युवराज श्रेष्ठ प्रहरी प्रशासनले न्याय दिलाउनुपर्ने बताउँछन् । आफूहरूको पैसा अन्यत्रै लगानी भएको सुनिएकाले जसरी पनि फिर्ता हुनुपर्ने उनको माग छ । बचत सङ्कलक सन्देश लिम्बु गौतमले फटाई गरेको कारण सहकारीमा समस्या आएको बताउँछन् । बिना धितो ऋण दिने र अन्यत्रै पैसा लगानी गर्ने उनको कार्यशैलीले जटिलता बढेको उनले सुनाए । साथीको नाममा धेरै ऋण दिने र पैसा फिर्ता नआउने समस्या बढेको कारण यस्तो भएको उनले बताए । 
गौतमले एयरलाइन्स सञ्चालन गर्ने भन्दै सहकारीको पैसा रोयल त्रिलोक एयरलाइन्समा लगानी गरेको लिम्बुले जानकारी दिए । सहरकारीमा व्यवस्थापकको जिम्मेवारीमा रहेकी सविना राउतलाई नै उनले एयरलाइन्सको प्रबन्ध निर्देशक बनाएका छन् । 
इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर विष्णु खड्काका अनुसार गौतम पक्राउ परे पनि अहिलेसम्म जाहेरी परेको छैन । पहिला निवेदन परेको र त्यसपछि मौखिक उजुरी परेको आधारमा प्रहरीले पक्राउ गरेको उनले बताए । ठगीमा परेका पीडित पक्षले जाहेरी दिएपछि म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइने उनले प्रस्ट पारे ।