चतरा : धार्मिक पर्यटकीय नगरीको रूपमा रहेको वराहक्षेत्रको पर्यटन प्रवर्द्धनलाई योजना बनाएर विकास गरिने भएको छ । वराहक्षेत्र नगरपालिका धार्मिक, ऐतिहासिक एवम् पुरातात्त्विक हिसाबले महत्त्वपूर्ण स्थलको रूपमा रहेको छ । वराहक्षेत्र नगरपालिका वडा नं.१ स्थित संसारको चारधाम मध्ये एक धामको रूपमा रहेको धर्तीको पहिलो तीर्थ वराहक्षेत्र धामको पर्यटन प्रवर्द्धनको लागि नगरपालिकाले योजना बनाए काम गर्ने नगर प्रमुख रमेश कार्कीले बताए । 
मङ्गलवार सङ्घीय सरकार अन्तर्गत सहरी विकास र अन्तर्राष्ट्रिय सहयोगी संस्था एसियाली विकास बैकका प्रतिनिधि र नगरपालिकाका प्राविधिक सहित वराहक्षेत्र धाम पुगेका नगर प्रमुख कार्कीले वराहक्षेत्र धामको गुरुयोजना बनाएर पर्यटन र भौतिक संरचना निर्माण गर्ने बताए । नगर प्रमुख कार्कीका अनुसार नगरपालिकाले योजना बनाएर प्रदेश, सङ्घीय सरकार र सहयोगी सङ्घ, संस्थाको सहयोगमा वराहक्षेत्रको विकास, प्रवर्द्धन गरिनेछ। वराहक्षेत्र धामको क्षेत्रमा सप्तकोसी नदिको कटान नियन्त्रण, बसपार्क, कोसी पुलदेखि वराहक्षेत्रसम्म पुग्ने सडकको स्तरउन्नति, धर्मशाला लगाएको पूर्वाधार विकाश र पर्यटन प्रवर्द्धनको योजना बनाएर सहरी विकास र एसियाली विकास बैङ्क सँग योजना माग गरिने छ। त्यस्तै वराहक्षेत्र-१ मै रहेको सुर्यकुण्ड क्षेत्रको पर्यटन प्रवर्द्धनको लागि समेत नगरपालिकाले काम गर्ने योजना बनाइएको नगर प्रमुख कार्कीले बताए। चतराबाट सुर्यकुण्ड जोड्न सडकको स्तरउन्तीको लागि प्राथमिकतामा राखेर काम गरिदिन सहरी विकास र एसियाली विकास बैङ्क सँग आग्रह गरिएको नगर प्रमुख कार्कीले बताए ।
सहरी विकासका प्रतिनिधि मनिसराज जोशीले वराहक्षेत्र धामको पर्यटन प्रवर्द्धनको लागि पूर्वाधार बिकासकोलागि अध्ययन सुरु गरिएको बताए । जोशीका अनुसार सहरी विकासले एसियाली विकास बैङ्कसँगको सहकार्यमा सुनसरीको वराहक्षेत्रधाम, सुर्यकुण्ड, रामधुनी र कोसीटप्पुको पर्यटन प्रबर्द्धनकोलागि काम गर्ने योजना रहेको छ। स्थानीय सरकार र सहरी विकाससँगको सहकार्यमा एसियाली विकाश बैङ्कले काम गर्ने छ। पर्यटन प्रबर्द्धनकालागि सडक, खानेपानी, पूर्वाधार विकास लगाएको काममा योजना बनाइने जोशीले बताए । 
वराहक्षेत्र धामको गुरु योजना बनाएर प्रवर्द्धन, संरक्षण र विकासको काम गर्नु पर्नेमा स्थानीय वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठको भनाई रहेको थियो । हिन्दुहरूको प्रमुख धार्मिक स्थल वराहक्षेत्र धामको जोखिमको न्यूनीकरण र प्रवर्द्धनमा काम गर्नु स्थानीय समाजसेवी रवि श्रेष्ठले आग्रह गरेका थिए ।
मङ्गलवार नगर प्रमुख कार्कीको नेतृत्वमा सहरी विकास र एसियाली विकाश बैङ्कको टोलीले वराहक्षेत्र धाम र सुर्यकुण्ड क्षेत्रको स्थलगत अवलोकन र अध्ययन समेत गरेको थियो । टोलीमा वराहक्षेत्र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋद्धि प्रकाश सिटौला,वराहक्षेत्र वडा नं.१ अध्यक्ष किसन थापा, सहरी विकासका प्रतिनिधि मनिषराज जोशी, वास्तुकलाविद् पुनम अमात्य, सुरज महर्जन, वराहक्षेत्र नगरपालिकाका इन्जिनियर राजु भट्टराई, नवीन खनाल लगायत रहेका थिए ।
baraha-kshetra-yojana-1