धरान : सङ्घीय संसद् र प्रदेश सभाको आम निर्वाचन पछि खाद्यान्न र तेल अप्रत्याशित रूपमा महँगिएको पाइएको छ । मुलुकमा गत मङ्सिर ४ गते आम चुनाव भएको थियो । चुनाव सम्पन्न भएको एक महिना भित्रको अवधिमा खाद्यान्न र तेलमा मूल्य बढेको हो । परम्परागत नेपाली समाजमा दैनिक दुई छाक भात खाने चलन छ। हुने खाने र हुँदा खानेका लागि पनि भातको लागि चाहिने खाद्यान्न चामल महँगिएको हो ।   

सर्वसाधारणले खाजाको रूपमा प्रयोग गर्ने खाद्य परिकार तयार गरिने मैदा र भातको सट्टा रोटी खानेहरूलाई चाहिने गहुँको आँटा पनि उत्तिकै मंहगीएको छ । दैनिक भान्सामा पौष्टिकताको लागि चाहिने तेल पनि यो एक महिनाको अवधिमा २० प्रतिशत सम्म महँगिएको छ । यसबाट निम्न आयका गरिब परिवारलाई भुटुन जुटाउन पनि कठिन भएको छ । रोजगारीको अवसर घट्दै गएको र ज्याला मजदुरीमा समानुपातिक पारिश्रमिक नबढ्दा बढ्दो महँगीले सबैभन्दा बढी निम्न स्तरका परिवारलाई ठुलो मारमा पारेको छ ।

धरान बजारमा यसै साता खाद्यान्नका खुद्रा पसलहरूमा गरिएको मूल्य अध्ययनमा खाद्यान्न र तेलमा बिस प्रतिशत भन्दा बढी मूल्य बढेको पाइएको हो । यसै क्रममा धरान-१ को एक खाद्यान्नको थोक पसलमा भेटिएका अग्रज शेखर आचार्यले चामल, तेलको भाउ पसलै पिच्छे फरक हुने गरेको बताए । मूल्य वृद्धि छाडा वस्तु जस्तै भएको तथा नियन्त्रणका लागि अनुगमन गर्ने कोही गोठाला नभएको जस्तो भएको उनको भनाई छ । 

धरान बजारमा 'कपुरी न्यूज'को अध्ययनबाट तयार गरिएको खाद्यान्न चामलको सूचि अनुसार चुनाव अघि मोटा चामल ५० केजीको बोरा ३ हजार ८ सय रुपैयाँमा विक्री वितरण भइरहेकोमा चुनाव पछि ४ हजार २ सय रुपैयाँ पुगेको पाइएको छ । पानमाराको चामल भनिने सोना मन्सुली ४७०० सयबाट ५२०० सय पुगेको छ । ५० केजीको बोरामा पाइने मन्सुली ५५ सयबाट ५९ सय पुगेको छ । २५ केजीको प्याकेटमा पाइने जिरा मसिना चामल १८ सयबाट २१ सय पुगेको भने बास्मति चामल २९ सयबाट ३१ सय पुगेको छ ।

चामलहरू मध्ये मोटा र सोना मन्सुली निम्न वर्गले बढी उपभोग गर्ने चामल हो । धरानबाट पहाडी गाउँहरूमा अत्यधिक रूपमा यही चामल आपूर्ति हुने खाद्यान्नका थोक व्यापारी सिताराम आचार्यले बताए । उनी सुनसरी उद्योग वाणिज्य सङ्घका पूर्व वाणिज्य सचिव हुन् । बास्मति चामल विवाह पार्टी, भोजहरूमा पुलाउका लागि बढी उपभोग हुने गर्दछ । सम्पन्न परिवारका घरको भान्सामा पनि यो चामल सामान्य रूपमा पाक्ने गर्दछ । यो भन्दा महँगो ससाना प्याकेटका आयातित चामलहरू पनि धरान बजार पाइन्छन् । 

यसै गरी तेलको मूल्य विभिन्न ब्राण्डका आधा आधा लिटरको पाउचका कुल १० लिटरको कार्टुनको दाम चुनाव अघि ३ हजार रुपैयाँ थियो भने चुनाव पछि ३३ सय पुगेको छ । सनफ्लावर प्रति कार्टुन २२ सयबाट २६ सय पुगेको छ । रिफायन तेल २१ सयबाट २४ सय पुगेको छ । तेलका विभिन्न ब्राण्डमा पाइए तापनि यसको गुणस्तरमा कुनै भिन्नता नपाइने उपभोक्ताहरूको अनुभव छ । सनफ्लावर भनिए तापनि कतिपय प्याकेटको खोलमा मात्र लेखिएको हो कि भन्ने अनुभव उनीहरू सुनाउँछन् । तर अनुगमनकारी निकायले यसलाई गम्भीरतापूर्वक लिएको पाइँदैन ।

अधिकांश मधुमेह, उच्च रक्तचापको सिकायत हुनेहरूले दैनिक रूपमा गहुँको आँटाका रोटी खाने चलन बढेको छ । यसले आँटाका उपभोक्ताको सङ्ख्यामा पनि बढाएको छ । गहुँको आटाले पनि आफ्नो मूल्य त्यसरी नै बढाउँदै छ । चुनाव अघि प्रति केजी ६५ रुपैयाँमा पाइने आँटा चुनाव पछि ७२ रुपैयाँ पुगेको छ । फास्ट फुडको रूपमा अत्यधिक उपभोग गरिने मम, चाउचाउ, थुक्पा, सिँगडा र पाउरोटी, ब्रेड, केक उद्योगमा लगायत खाजा पसलमा प्रयोग गरिने मैदाको भाउ पनि पछाडि छैन । चुनाव अघि र पछि मैदा प्रति केजी ५६ बाट ८० रुपैयाँ पुगेको छ ।

सहर बजारमा बसेर अर्ग्यानिक दूध खाऊँ भन्ने र एउटा दुधालु गाई, भैँसी पालेर जीविकोपार्जन गरौँ भन्नेहरूलाई पनि बढ्दो महँगीले सङ्कटमा पारेको छ । पछिल्लो समय गाईबस्तुका लागि खाद्यान्न उद्योगहरूले उत्पादन गर्ने चोकरको मूल्य पनि चुनाव पछि आकासिएको छ । ५० केजीको बोरामा पाइने चोकर चुनाव अघि प्रतिबोरा १७ सय थियो भने चुनावपछि २६ सय रुपैयाँ पुगेको छ ।

‘नेपाली धानको सिजन भएकाले चामलको मूल्य नबढेको हो ।’ उद्योग वाणिज्य सङ्घका पूर्व वाणिज्य सचिव सिताराम आचार्यको भनाई छ । पुरानो स्टकले धान्न सक्ने अवस्था नहुँदा मूल्य यो भन्दा बढी उचाइमा जान सक्थ्यो तर नयाँ धान निस्केकाले व्यापारीहरूले पुरानो स्टकको चामलको दाम बढाउन पाएनन् । चुनावमा राजनीतिक दलहरूलाई दिइने चन्दाका कारण बजारमा हरेक वस्तुको मूल्य बढ्ने कुरा मानिँदै आएको बताउँदै भने ‘यस्का लागि उत्पादकहरू जिम्मेवार छन्, थोक र खुद्रा विक्रेताहरू यसमा दोषी छैनन् ।’

सुनसरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजय श्रेष्ठले खाद्यान्न, तेलको मूल्य नियन्त्रण नेपालीको हातमा नरहेको बताउँदै भने ‘भारतबाट ८० प्रतिशत खाद्यान्न चामल दाल आउने गरेको छ, मूल्य उतैबाट बढेपछि त्यसको प्रभाव नेपाली बजारमा पर्छ ।’ उहिले नेपालमा एक वर्ष फलेको धानले नेपालीलाई छ वर्ष खान पुग्थ्यो, अहिले नेपालको उत्पादनले बजारको आवश्यकतालाई २० प्रतिशत मात्र पुरा गर्ने उनले बताए । 

रुस-युक्रेनको युद्धले खाद्यान्न र तेलको बजारमा ठुलो सङ्कट ल्याएको उनको भनाई छ । अधिकांश दलहन, गेडगुडजन्य खाद्यान्न युक्रेनबाटै अन्तर्राष्ट्रिय बजारमा आपूर्ति हुन्थ्यो । युद्धले जर्जर भएपछि युक्रेनबाट आपूर्ति प्रायः ठप्प भएको अवस्था छ । खाद्यान्नको मूल्यवृद्धिमा पेट्रोलियमको भाउ आकासिनू पनि मुख्य कारण भएको उनले बताउँदै यसले ढुवानीमा ठुलो खर्च बढाएको बुझ्न आग्रह गरे । राजनीतिक दलहरूलाई व्यापारीले दिने चन्दाले बजार मूल्य बढाउनुमा खासै प्रभाव नपार्ने उनको भनाई छ ।