विराटनगर : नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियु)ले पेट्रोलियम पदार्थ र खाना पकाउने ग्याँसको मूल्यवृद्धि विरुद्ध संयुक्त विरोध प्रदर्शन गरेका छन् ।

नेपाल आयल निगमको प्रादेशिक कार्यालय विराटनगर अगाडी युवा सङ्घ विराटनगर महानगर कमिटी र अनेरास्ववियु मोरङ जिल्ला कमिटी आबद्ध युवाहरूले बढ्दो मूल्यवृद्धि विरुद्ध प्रदर्शन गरेका हुन । 

अनेरास्ववियुका केन्द्रीय उप–महासचिव भास्कर खनालको अगुवाइमा भएको विरोध कार्यक्रममा युवाहरूले ब्यानर, प्लेकार्ड बोकेर सरकार विरुद्ध नारा–जुलुस गर्दै निगमको प्रादेशिक कार्यालय अगाडी प्रदर्शन गरेका छन् ।

अनेरास्ववियु मोरङका सहसचिव नवीन पहाडीले निगमले गरेको मूल्यवृद्धिलाई केन्द्रीय सरकारले नियन्त्रण गर्न नचाहेर सर्वसाधारण जनताको ढाड सेक्न खोजेकोले आफूहरू प्रदर्शनमा उत्रनु परेको बताए । उनले सरकारले मूल्यवृद्धि नियन्त्रण गर्न कदम नचालेसम्म आन्दोलन चर्कँदै जाने बताए ।

पहाडीले मूल्यवृद्धि विरुद्ध विराटनगरको मेन रोडमा खाली सिलिन्डर सहित प्रदर्शन र मसाल जुलुस गरिसकेको र सरकारले मूल्यवृद्धि रोकथाम गर्न ठोस कदम नचाले सम्म संयुक्त युवा–विद्यार्थीको आन्दोलन जारी रहने बताए ।