धरान उपमहानगरपालिकाको आयोजनामा धरान २०१७ सालमा नगरपालिका घोषणा भएको सम्झनामा आज देखी तिन दिने धरान उत्सव सुरु हुँदैछ । नगरपालिका घोषणा भएको ६२ वर्ष भए पनि धरान मानव बसोबास सुरु भएको १२२ औँ वर्ष पुरा भएको पनि यस वेला सम्झनु पर्ने हुन्छ ।

धरान उत्सवको सुरुआत धरानमा बस्ती विकास सुरु भएको १ सय वर्ष पुरा भएको इतिहास सार्वजनिक गर्दै २०५७ सालमा तत्कालीन मेयर मनोजकुमार मेयाङबोको कार्यकालमा पहिलो पटक धरान शतवार्षिक महोत्सव आयोजना गरिएपछि सुरु भएको हो । धरान स्थापना भएको स्मृति लाई निरन्तरता दिनका लागि शतवार्षिकीकै अवसरमा हरेक वर्ष पुस महिनामा धरान उत्सव आयोजना गर्ने घोषणा गरिएको थियो ।  

दुई दशक अघि शतवार्षिकी मनाउँदै धरानको समग्र विकासको लागि ५० वर्षे अवधारणा पनि तयार गरिएको थियो । धरानको विकास सम्बन्धी गोष्ठीले धरान पचास वर्षपछि शिक्षा, स्वास्थ्य, पर्यटन र सांस्कृतिक पूर्वाधार युक्त सहरको रूपमा विकाश भएको हुने मार्गचित्र निर्धारण गरेको हो । सोही अनुसार संक्षिप्त रूपमा धरानेको नारा ‘शैक्षिक, स्वास्थ्य, पर्यटन, सांस्कृतिक पूर्वाधार युक्त सहर धरान’ तय गरेको थियो ।

धरान उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट त्यही मार्गचित्रमा केन्द्रित गराउन उक्त पचास वर्षे मार्गचित्र निर्धारण गरिएको हो । शतवार्षिकीमा  निर्धारण गरिएको विकासको लक्ष्य र मार्गचित्रमा उपमहानगरपालिका अघि बढेको छ, छैन ? निर्धारित लक्ष्यमा कति उपलब्धि हासिल भए ? कति बाँकी छन् ? प्रत्येक वर्ष त्यसको समीक्षा गर्नका लागि धरान उत्सव मनाउने गरिएको हो ।

शतवार्षिकीमा निर्धारित नारा निकै पछि सम्म उपमहानगरपालिकाले आफ्ना प्रचार समाग्रीहरुमा प्रयोग गर्दै आएको थियो । दुई दशक सम्म नगरपालिका जनप्रतिनिधि विहीन अवस्थामा रहेपछि ती कुराहरू हराए । यसअघि द्वन्दकालमा धरान उत्सवले निरन्तरता पाउन सकेन । निरन्तरता टुटेपछि जनप्रतिनिधि विहीन अवस्थामा २०६७ सालमा एक पटक धरान उत्सवको आयोजना गरिएको थियो ।

पछिल्लो कालखण्डमा मेयर तारा सुब्बाको कार्यकाल एक वर्षको मात्र रह्यो । उनको निधनपछि उपनिर्वाचनबाट आएका मेयर तिलक राईले कोरोना महामारीसँग सामना गर्दै धरान उत्सवलाई माइल स्टोन बनाउने प्रयास गरे । उनले देशका प्रधानमन्त्री नै ल्याएर धरान उत्सवको उद्घाटन गराए । धरानको इतिहास र विकाश क्रममा अहिले धरान जस्तो छ, त्यस्तै देखाउने अवसरको रूपमा धरान उत्सवलाई प्रस्तुत गरे ।

धरानको इतिहास पढ्ने हो भने हिजो धरान जस्तो थियो आज त्यस्तो छैन । विकासको गतिले धरानलाई जति अघि बढायो त्यति अघि बढेकै छ । सवाल भने विकासको त्यो गति आर्थिक, सामाजिक, भौतिक र सांस्कृतिक रूपमा समृद्धिको व्यवस्थित दिशा तिर गइरहेको छ छैन भन्ने हो । धरान बजारको इतिहास खोज्दै जाँदा धरान २०१७ सालमा नगरपालिका बनेको हो । त्यस अघि तिन सय वर्ष अघिको इतिहास रहेको विजयपुर सँग जोडिएको धरानको इतिहासका बारेमा कमै चर्चा हुने गरेको छ ।

राणाकालको बेला नै वस्ति विकास भएकाले धरानले अहिलेको सुविधा सम्पन्न उपमहानगरको रूप लिएको हो । रुख काटेर लकडी बनाउने आराको धरान थाप्ने पुरानो प्रविधिलाई धरान भनिने र त्यसैबाट धरान सहरको नाम बसेको जनश्रुति पुस्तान्तरले धरानवासीले सुन्दै आएका छन् । आज भन्दा डेढ सय वर्ष अघि सखुवाको जङ्गलको रूपमा रहेका धरानको बन फडानी गरेर तत्कालीन राणा सरकारले भारत लाई रेलको लिक बिछ्याउन लकडी निर्यात गरेपछि धरानमा मानव बसोबासको सम्भावना बढेको थियो ।

त्यस बेला आज भन्दा सवा सय वर्ष अघि राणा सरकारको सुब्बाका रूपमा रत्नप्रसाद श्रेष्ठ धरानमा कार्यरत थिए । बन फडानी भएर आवाद भएको धरानमा बस्ती बसाउनका लागि उनले राणा सरकार समक्ष पहल गरे । परिणाम स्वरूप १९५७ साल देखी धरानमा बसोबास सुरु भएको थियो । त्यस बेलाका भूमिहीनहरू लाई जग्गा दिलाउने कार्यबाट उनले सुरु गरेको धरान बजार बसाउने अभियानको परिणाम स्वरूप धरान अहिलेको अवस्थामा आइपुगेको हो ।

स्वतःस्फूर्त रूपमा भएको धरानको विकाशले आधुनिक नेपालको विकाश क्रम सँगै वैज्ञानिक सहरी विकाशको बाटोमा छ । यसको मार्ग चित्र पनि स्पष्ट छ ‘शैक्षिक, स्वास्थ्य, पर्यटन, सांस्कृतिक पूर्वाधार युक्त सहर धरान ।’ केवल यसलाई लक्ष्यमा पुर्‍याउन उपमहानगरपालिकाको नेतृत्व गर्ने मेयर, जप्रतिनिधिहरुको प्रतिबद्धता चाहिएको छ । पछिल्लो समय निर्वाचित मेयर हर्कराज राई जो हर्क साम्पाङ नामबाट चर्चित छन् उनको कार्यशैली र कार्यकालमा धरानको अबको भविष्य निर्भर रहको छ ।