धरान : धरान नगरको स्थापना दिवस जस्तो महत्त्वपूर्ण उत्सवको निर्णय उपमहानगरपालिकाको कार्यपालिका बैठक छलेर हुने भएको छ । कार्यपालिका बैठक सुचारु गर्नका लागि सहमति गर्न छोडेर मेयर हर्कराज राईले कार्यपालिका बैठकमा निर्णय नगरी एकै चोटि सुनसरी उद्योग वाणिज्य सङ्घमा आज दिउँसो १ बजे आम भेला बोलाएका छन् ।

यसअघिका धरान महोत्सव, उत्सवहरू आयोजना गर्दा कार्यपालिका बैठकले उत्सव मनाउने कार्यक्रमहरू र बजेट स्वीकृत गरेपछि सङ्घ संस्था, नागरिक अगुवाहरू, समाजसेवी, युवा, महिला अगुवाहरूको विस्तारित बैठक बोलाउने गरेको थियो । बर्सेनि मनाइँदै आएको 'धरान दिवस’ यसपालि भने धरान कार्यक्रमको निर्णयहरू कार्यपालिकालाई छलेर हुन लागेको हो ।

यसपालि धरान दिवसको कार्यक्रम र बजेटको बारेमा कार्यपालिका बैठकले कुनै निर्णय गरेको नगरेको उपमहानगरपालिका श्रोतले बतायो। कार्यपालिका बैठकले निर्णय गरेपछि स्थानिय सहभागीताका लागि विस्तारित बैठक बोलाउने गरिन्थ्यो । उपमहानगरपालिकाले गर्ने उक्त कार्यक्रम र आवश्यक बजेटको बारेमा कार्यपालिकाबाट निर्णय गरिदैं आएको निवर्तमान मेयर तिलक राईले बताए ।

उद्योग वाणिज्य सङ्घमा बोलाइएको बैठकको पत्रको ब्यहोरा एकै भए पनि एउटा पत्रमा मेयर हर्कराज राई (नगर प्रमुख)को हस्ताक्षरमा जारी गरिएको छ । अर्कोमा वरिष्ठ आर्थिक विकास अधिकृत भक्तिराज शर्माको हस्ताक्षरमा जारी गरिएको छ ।

वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरू, राजनीतिक दलहरू, पूर्व मेयरहरू र उवासंघ सहितका संस्थाहरूलाई एकै ठाउँमा संयुक्त सम्बोधन गरी तयार गरिएको पत्रमा नगर प्रमुख हर्कराज राईको हस्ताक्षर छ । व्यक्तिगत रूपमा निमन्त्रणा गरिएको पत्रमा भने वरिष्ठ आर्थिक विकास अधिकृत शर्माको हस्ताक्षर छ ।  

उपमहानगरपालिकाको कार्यक्रम कार्यपालिका बैठकलाई छलेर बोलाइदा मेयर साम्पाङ र कार्यपालिका सदस्यहरू बिच विद्यमान विवादले दुरी बढाउने र सहमतिको वातावरण बन्न अवरोध हुने राजनीतिक वृत्तमा अनुभव गरिएको छ । कार्यपालिका भित्र विवाद बढाउने भन्दा सहमतीय आधारमा उपमहानगरपालिको धरान स्थापना दिवस भव्य रूपमा मनाउनु श्रेयस्कर हुने देखिन्छ ।

letter-for-member-of-dharan