उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनले व्यवसायी बिच माहौल तताएको छ । आगामी नेतृत्वको आङ्कलन र विगतको नेतृत्वको मुल्याङकन भइरहेको छ । माघ २८ गते हुने निर्वाचनमा दलीय विभाजन देखिएपछि उम्मेदवार पनि सोही अनुसार हुने भएको छन् । तथापि नेपाली काँग्रेसले आधिकारिक उम्मेदवारी दिन सकेको छैन । काँग्रेस निकट युवा व्यवसायी जीवन पराजुली भने चुनावी मैदानमा होमिएका छन् । पराजुली सँग उद्योगी व्यवसायीका समस्या र आगामी नेतृत्वका चुनौतीको विषयमा कपुरीकर्मी विनय बाह्रकोटीले गरेको कुराकानी । 

विगतमा भन्दा यस पटक निर्वाचनको माहौल शिथिल देखिन्छ । तपाईँको तयारी कस्तो भइरहेको छ ?

अहिलेको बजार नै शिथिल भएकाले माहौल पनि त्यस्तै भएको हो । मैले ७ महिना देखिनै तयारी गरिरहेको छु । दसैँ तिहारले गर्दा केही समय अलमल भयो । गत असारमै हुनुपर्ने चुनाव प्राविधिक कारण हुन सकेन । हजारौँ व्यवसायीले कस्तो नेतृत्व आउँछ भन्ने अपेक्षा गरिरहेका छन् । धेरैले राम्रो नेतृत्वको प्रतीक्षा गरेको मैले बुझेको छु । म व्यवसायीको हितको लागि काम गर्ने उम्मेदवार हुन भन्ने दाबी गर्छु । सोही अनुसार तयारी अगाडी बढाएको छु ।  

चुनावको अवस्था कसरी आङ्कलन गर्नु भएको छ ? 

मैले उम्मेदवारी दिने कुरा भएपछि धेरै व्यवसायी उत्साहित भएका छन् । यस बिचमा उम्मेदवारी फाइनल नहुँदा धेरैले निराश भएको बताए । मैले केही दिन देखिनै आधिकारिक रूपमा उम्मेदवारी दिएको छु । प्रचार तीव्र बनाएको छु । व्यवसायीमा उत्साह बढेको छ।

तपाईँका चुनावी मुद्दा के हुन् ? 

व्यवसायीको सबैभन्दा ठुलो मुद्दा भनेको करको कुरा हो । कति बेला कर कार्यालयले छापा हान्ने हो भन्ने त्रासमा व्यवसायी छन् । घर बहाल करको नियमन गर्नुपर्ने विषय छ । व्यवसायी सुरक्षाको विषय झनै पेचिलो भएको छ । पार्किङ समस्या समाधानको लागि पहल गर्ने कुरालाई मैलो प्राथमिकताका साथ राखेको छु । पार्किङ समस्या समाधानमा पहल गर्नु नै मेरो मुख्य जिम्मेवारी हो ।

कर कार्यालयले नियमन गर्न पाउने अधिकारलाई अङ्कुश लगाउन सक्नुहुन्छ ? 

त्यस्तो हैन । पसलमा पुगेर स्टीमेट बिल खोज्दै हैरान पार्नु भएन । व्यवसायीलाई १२ सयमा बेचेर २ सयको भ्याट बिल दिने काम ठुला आपूर्ति कर्ताबाट भएको छ । अनि कसरी साना व्यवसायीले भ्याट बिल काट्न सक्छ । त्यसैले समस्याको मुहानमै समाधान गर्नुपर्ने हुन्छ । साना व्यवसायीलाई आतङ्कित बनाउनु भएन । 

घर बहाल करलाई कहिले सम्म चुनावी नारा बनाउनुहुन्छ ? 

यसमा दुवै पक्ष प्रस्ट हुनुपर्छ । स्थानीय सरकारलाई कर तिर्नुपर्ने विषयमा हामी प्रस्ट भएपछि स्थानीय सरकारले आफ्नो जिम्मेवारी पनि पुरा गर्नुपर्‍यो होला नि । हामीलाई पार्किङको सुविधा खोइ ? हामीले पाउने अन्य सुविधाको विषयमा पनि कुरा उठ्नुपर्‍यो । 

एक लाखमा भाडा लगाएर पाँच हजारको बहाल कर तिर्नु कतिको जायज हो ? 

यसमा दुवैले आआफ्नो उत्तरदायित्व पुरा गर्नुपर्ने हुन्छ । व्यवसायी पनि प्रस्ट हुनुपर्‍यो । स्थानीय सरकारले अनुगमन गरेर काम गर्नुपर्‍यो । कुन क्षेत्रको कर कति लिन पाउने, सटर भाडाको दर के हुने , व्यवसायी कम्प्लेक्सको भाडा दर के हुने ? जस्ता कुरामा स्थानीय सरकारले भन्नुपर्‍यो । जसको लागी उवासंघले समन्वय गर्नुपर्छ । मेरो नेतृत्वमा यो काम हुन्छ । रिमोट एरिया र बजार एरिया बिचमा विभेद छुट्ट्याउनु पर्‍यो । 

अहिलेको नेतृत्वले यी काम गर्ला भन्नेमा अपेक्षा छ ? 

छ । भिजन भएको बोलीमा प्रभाव भएको मेयर साब हुनुहुन्छ । वहाले गर्नु हुन्छ भन्नेमा हामी विश्वस्त छौ । अब उवासंघले नयाँ नेतृत्व पाएपछि हामी पहल गरेर स्थानीय सरकारलाई व्यवसायीमैत्री र लगानीमैत्री बनाउँछौ । 

स्थानीय तह हुँदा उवासंघको आकर्षण खासै नहुने प्रभावकारी देखिएन नि ! 

त्यस्तो हैन । कामले गर्दा आकर्षण हुने की नहुने भन्ने हो । व्यवसायीले काम गर्ने नेतृत्व चयन गर्न खोजेका छन् । अब झनै उवासंघको गरिमा बढाउन लागी पर्छौ । 

हालको नेतृत्वलाई कसरी समीक्षा गर्नु हुन्छ ? 

यो नेतृत्वले धेरै काम गरेको हो तर प्रचार भएन । कोभिड महामारीको समयमा खोपको व्यवस्थापन गर्नका हालका अध्यक्ष भीम पौडेलको पहल अविस्मरणीय छ । आइसोलेसन सेन्टर र क्वारेन्टीनको अभाव भएको बेला वहाँकै नेतृत्वमा त्यो सबै सम्भव भएको हो । हस्पिटलमा बेड नभएको बेला व्यवस्थित आइसोलेसन सेन्टर सञ्चालन गर्नुभयो । काँधमा चामल बोकेर हरेकका घरमा पुग्नु भयो । चुन र दाल बोकेर गरिबमा आगमनमा पुग्नुभयो । काम धेरै भएका छन् । 

तपाईँले होटेल व्यवसायी सङ्घको नेतृत्व गर्दा संस्थानै विभाजित भयो भन्ने आरोप छ नि !

त्यस्तो हैन । मेरो पहिलो कार्यकालको निर्वाचन हुने साधारण सभामा साथीहरूको इच्छा अनुसार नै मैले नेतृत्व गर्ने निर्णय गरे । त्यसमा असन्तुष्ट साथीहरूले २०५२ सालमै खुलेको संस्थालाई व्युताउनु भएको हो । सङ्घ फुटेको हैन । कार्यसमितिमा नअटाएका साथीहरूले पुरानो संस्थामा ठाउँ खोज्नु भएको हो । सङ्घ अहिलेसम्म एक ढिक्का छ ।

तपाइको जित्ने आधार के हो ? 

जीवन पराजुली अध्यक्ष भएपछि केही राहत र सुरक्षा महसुस हुन्छ । व्यवसायीले पनि यसलाई बुझेका छन् । मैले नेतृत्वमा नहुँदै धेरै व्यवसायीको पक्षमा काम गरेको छु । अब नगर्ने कुरा हुँदैन । व्यवसायीको साथ र सहयोग मेरो बलियो आधार हो । 

प्रतिस्पर्धीलाई कसरी हेर्नु भएको छ ? 

प्रतिस्पर्धा भनेको जहिल्यै पनि रचनात्मक हुनुपर्छ । एक आपसमा आरोप प्रत्यारोप लगाएर केही हुँदैन । सबै सबल र सक्षम हुनुहुन्छ । प्रतिस्पर्धीलाई उम्मेदवार बन्ने आँट गर्नुभएकोमा धन्यवाद । तर चुनाव म जित्छु ।