इटहरी : उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचन नजिकिए सँगै राजनैतिक दलहरूको सक्रियता बढेको छ । आफू पक्षीय व्यवसायीलाई नेतृत्वमा पुर्याउने होडबाजीको कारण उवासंघ इटहरी दल केन्द्रित बनेको हो ।

नेपाली काँग्रेसले गायत्री कटुवाल भण्डारी र नेकपा एमालेले रञ्जु सिग्देललाई उम्मेदवारको रूपमा अगाडी बढाएको छ । अध्यक्ष पदमा दुई महिला बिचको प्रतिस्पर्धा रोचक हुँदै गएको छ । रञ्जु वा गायत्री मध्ये एक विजयी भए उवासंघ इटहरीले पहिलो पटक महिला अध्यक्ष पाउने भएको छ ।

उता नेपाली काँग्रेसमा असन्तुष्ट समूहले जीवन पराजुलीलाई उम्मेदवार बनाएको छ । पराजुली निर्वाचित भए पहिलो पटक महिला नेतृत्व पाउने सम्भावनाको ढोका बन्द हुने प्रस्ट छ । पराजुलीलाई काँग्रेसको असन्तुष्ट समूह बाहेक नेकपा माओवादी केन्द्र, रास्वपा, राप्रपा लगायत दलको समर्थन छ ।

उता काँग्रेसको संस्थापन पक्षले गायत्रीलाई विजयी गराउन अभियान चलाएको छ । इटहरी उवासंघमा दर्ता भएका मध्ये अधिकांश व्यवसायी काँग्रेस निकट छन् । काँग्रेस पक्षीय सम्पूर्ण मत आकर्षित गर्न सके गायत्री विजयी हुने सम्भावना छ ।

तर पार्टीगत मतको आधारमा काँग्रेस भित्र उम्मेदवारको आकाङ्क्षी बढी भएका हुन् । काँग्रेस निकट व्यवसायी पीताम्बर पोखरेल र मणिन्द्र कटवालले समेत अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । पोखरेलले यसअघि नै पराजुलीलाई समर्थन गर्ने बाचा गरेका छन् । कटवाल भने प्रचारप्रसारमा लागिरहेका छन् ।

कमजोर अवस्थामा रहेको एमाले लामो समय सहमतिको प्रयास गरिरहेको थियो । उम्मेदवारी मनोनयनको अघिल्लो दिनसम्म सहमतिकै प्रयासमा थियो एमाले । काँग्रेस बलियो भएपछि अध्यक्ष छाडेर अन्य पदमा सहमति जनाउने एमालेले रणनीति बनाएको थियो । तर काँग्रेस भित्र उम्मेदवारको लर्को लागेपछि सहमतिको सम्भावना टुङ्गियो । व्यवसायीक चुनावमा काँग्रेस पार्टी भित्रको प्रतिष्ठा जोडिएपछि एमालेले त्यसको फाइदा लिने सम्भावना देखिएको छ ।

काँग्रेस उपमहानगर सभापति सहित उवासंघ पूर्व अध्यक्ष रोहित प्रसाईँ र वरिष्ठ उपाध्यक्ष दिवस पोखरेल गायत्रीलाई विजयी गराउन लागिपरेका छन् । उता अर्को समूह जसरी पनि गायत्रीलाई रोक्न लागिपरेको छ । जीवनलाई विजयी गराएर पार्टी सभापतिको निर्णयलाई चुनौती दिने तयारीमा असन्तुष्ट समूह छ ।

नेकपा एमालेले सर्वसम्मत रूपमा रन्जुलाई उम्मेदवार बनायो । अहिले चुनावी प्रचार पनि तीव्र बनाएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै रन्जु नेतृत्वको प्यानलले आफूहरू जितको नजिक रहेको बताएको छ । अहिलेको कार्यकाल जस्तो निष्क्रिय सङ्घ विगतमा नभएको बताउँदै उद्योगी व्यवसायीको हित र क्षमता अभिवृद्धिमा लाग्ने रन्जुको भनाई छ ।

उवासंघ निर्वाचनले व्यवसायी बिच मतभिन्नता बढाएको प्रश्नमा रन्जुले भनिन्, ‘हामीले अन्तिम समय सम्म सर्वसम्मत गरौँ, यो सेवा गर्ने ठाउँ हो, बरु हामी हदैसम्म लचिलो हुन तयार छौँ भनेर भनेका थियौँ  तर उता पट्टि धेरै आकाङ्क्षी भएपछि त्यो सम्भव भएन ।’

४८९९ उद्योगी व्यवसायीले मतदान गर्ने निर्वाचनमा यस पटक मतदानको सङ्ख्या कम हुने आकलन गरिएको छ । आफू पक्षीय व्यवसायीलाई मतदान गराउने अधिकतम प्रयास थालेको एमालेको रणनीतिको कारण रन्जुको सम्भावना बलियो देखिन्छ ।