इटहरी  : उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा त्रिपक्षीय भिडन्त हुने भएको छ । नेपाली काँग्रेसले गायत्री कटुवाल भण्डारीलाई आधिकारिक उम्मेदवार घोषणा गरेको छ । काँग्रेस उपमहानगर सभापति हेमकर्ण पौडेलले औपचारिक रूपमै गायत्रीको पक्षमा मत मागेका हुन् । त्यस सँगै उवासंघ इटहरीका पूर्व अध्यक्ष रोहित प्रसाईँ र वर्तमान वरिष्ठ उपाध्यक्ष दिवस पोखरेल गायत्रीको पक्षमा खुलेर लागिपरेका छन् ।
गायत्रीलाई एकलौटी रूपमा घोषणा गरिएको भन्दै काँग्रेस भित्रको असन्तुष्ट समूहले जीवन पराजुलीलाई समर्थन गरेको छ । काँग्रेस समर्थित व्यवसायी दुई पक्षमा विभाजित हुँदा नेकपा एमालेले रञ्जु सिग्देललाई अध्यक्षमा विजयी गराउने अभियान अगाडी बढाएको छ । अर्का स्वतन्त्र उम्मेदवार मणीन्द्र कटवाल पनि प्रचारप्रसारमा व्यस्त छन् । उनको प्रभावकारी उपस्थिति नभएकाले तिन उम्मेदवार बिचको प्रतिस्पर्धा रोचक हुने देखिएको छ । 
स्वतन्त्र रूपमै उम्मेदवारी दिएका वर्तमान महासचिव पीताम्बर पोखरेलले पराजुलीलाई समर्थन गरेका छन् । काँग्रेस निकट पोखरेलले पराजुलीको टिमले व्यवसायीको हित गर्ने बताउँदै मङ्गलवार समर्थन गर्ने घोषणा गरेका हुन् । महासचिव मात्र हैन वर्तमान सचिव सविना कोइराला पनि जीवनकै प्यानलबाट उम्मेदवार बनेकी छिन् । अध्यक्ष भीम बहादुर पौडेले पराजुली जिताउने अभियानका कमान्डर हुन् । उनी व्यवसायी माझ बलियो पकड भएका नेता हुन् । 
मङ्गलवारको उम्मेदवारी घोषणा सभामा पराजुली निक्कै उत्साहित देखिए । इटहरीमा प्रभावशाली प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पराजुलीलाई नै समर्थन गरेको छ । त्यस सँगै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काँग्रेसको असन्तुष्ट समूहको खेमाले पराजुलीको उम्मेदवारी बलियो बन्दै गएको छ । 
नेकपा एकीकृत समाजवादी सँग पनि पराजुलीको समूहले संवाद जारी राखेको छ । बुधवार बिहान ११ बजे बस्ने बैठक पछि आधिकारिक धारणा सार्वजनिक गरिने नेकपा एसका नगर इन्चार्ज केवल फुयाँलले बताए । 
इटहरीमा काँग्रेस निकट व्यवसायीको बाहुल्य रहेको कारण विजयी हुने विश्वासमा छिन् गायत्री । काँग्रेस भित्रको प्रतिस्पर्धाको फाइदा लिने एमाले उम्मेदवार रञ्जुको योजना छ । उता काँग्रेस भित्र पनि व्यवसायीक पकड भएका नेताहरूको समर्थन र अन्य तिन दल सँगको गठबन्धनको कारण पराजुली बलिया देखिन्छन् । पराजुलीका चुनावी अभियन्ता प्रमोद भट्टराई न्यूनतम दुई सय मतान्तरले विजय हासिल गरिने बताउँछन् । 
राप्रपाका नेता अनिल सुब्बा पराजुली वर्तमान अवस्थामा पराजुलीको प्यानललाई विजयी गराउन अपरिहार्य रहेको बताउँछन् । विगतमा कोभिड महामारी देखी व्यवसायीका हरेक सङ्कटमा पराजुलीले काम गरेको उनले बताए । 
रास्वपा प्रदेश सङ्गठन विभाग प्रमुख चन्द्र राई राजनैतिक दल र सम्पूर्ण व्यापारीको प्रतिनिधित्व गर्ने उम्मेदवार जीवन पराजुली भएको बत्ताउँछन् । विगतमा ठुला राजनीतिक दलले सिन्डिकेट गरेको सङ्घमा अब व्यवसायीक नेतृत्व आउने उनको विश्वास छ । पराजुली साझा उम्मेदवार भएको बताउँदै उनले कोरोना महामारी र बैंङकिङ समस्यामा उनको ठुलो योगदान रहेको बताए । 
माओवादी केन्द्रका नेता जगदीश सापकोटाले चुनावी अंगकणीतको चाबी आफ्नो हातमा रहेको बताउँदै पराजुलीलाई अध्यक्ष बनाउने गरी लागिपरेको उल्लेख गरे । एउटा पार्टीको उम्मेदवारलाई विजयी गराउँदा पार्टीले जित्ने तर व्यापारीले हार्ने हुँदा संयुक्त उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । 
मङ्गलवार चुनावी घोषणापत्र सार्वजनिक गर्दै पराजुलीले समेत व्यवसायीक हितमा लाग्ने बताए । प्रादेशिक औद्योगिक प्रदर्शनी गर्ने देखी पार्किङको व्यवस्थापनमा पहल गर्ने उनको प्रतिबद्धता छ । व्यवसायीलाई राजस्व तथा लेखा सम्बन्धी तालीम प्रदान गर्ने, रोजगार अभिवृद्धि गर्ने कार्यक्रम ल्याउने, महिला उद्यमशीलताको प्रवर्धन गर्ने र उवासंघ इटहरीलाई प्रविधिमैत्री बनाउने उनले जनाएका छन् । 
माघ २८ गते शनिवार हुने निर्वाचनमा ४८९९ उद्योगी, व्यापारी तथा व्यवसायीले मतदान गर्ने भएका छन् । उम्मेदवारहरूको विजयी हुने आआफ्नो दाबी रहे पनि उवासंघ प्रति व्यापारीको निराशाको कारण यसअघि भन्दा कम सङ्ख्यामा मतदान हुने अनुमान गरिएको छ ।