इटहरी : उद्योग वाणिज्य सङ्घ इटहरीको निर्वाचनमा नेपाली काँग्रेसले गायत्री कटवाल भण्डारी लाई समर्थन गरेको छ । लोकतान्त्रिक प्यानलबाट भण्डारीको उम्मेदवारी फाइनल भएको हो ।

लामो समयदेखि स्वतन्त्र प्रचार गरिरहेकी भण्डारीलाई समर्थन गर्दै इटहरी काँग्रेसले मतदान गर्न आह्वान गरेको छ । लोकतान्त्रिक प्यानलबाट उम्मेदवारी दिने तयारीमा रहेका जीवन पराजुलीले भने छुट्टै टिम घोषणा गरिसकेका छन् । नेपाली काँग्रेस निकट भण्डारी र पराजुली दुवै प्रतिस्पर्धामा उत्रिएका छन् ।

पराजुलीले यसअघि पार्टीले गरेको निर्णय मान्य हुने बताउँदै आएका थिए । तर उम्मेदवारी दर्ता गरेर राप्रपा र माओवादी केन्द्र सहितको समर्थनमा उनले प्रचार अगाडि बढाइसकेका छन् । लामो समय पार्टीको निर्णय पर्खिरहेका पराजुलीले दुई कार्यकाल होटेल व्यवसायी सङ्घ इटहरीको नेतृत्व गरेका छन् ।

काँग्रेस निकट व्यावसायि मानिएका हालका महासचिव पीताम्बर पोखरेल र मणिन्द्र कटवालले पनि उम्मेदवारी दर्ता गरेका छन् ।

नेकपा एमालेले नेतृत्व गरेको वामपन्थी प्यानलबाट रन्जु सिग्देलको नेतृत्वमा उम्मेदवारी घोषणा गरिएको छ ।

निर्वाचन तालिका अनुसार माघ १९ गते बिहीबार मनोनयन र माघ २२ गते आइतबार उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ । २८ गते हुने निर्वाचनले नयाँ कार्यसमिति चयन गर्ने भएको छ ।