कुनै नागरिकले व्यक्तिगत रूपमा गरेको सकारात्मक वा नकारात्मक कामले ऊ कस्तो मान्छे हो ? भन्ने चिनारी दिन्छ । त्यसैको आधारमा उसको परिवार, समाज अनि समग्र देशलाई चिनाएको हुन्छ । किनभने जो कोहीले परिवार वा समाजमा गर्ने राम्रा, नराम्रा कामले नै कुनै पनि परिवार, समाज अनि देश कस्तो हो ? भनी मूल्याङ्कन गर्ने गरिन्छ ।

उदाहरणका लागि जापानीज भन्ने बित्तिकै विश्वका मानिसहरूले मेहेनेती, वीनित, नम्र, शीलस्वाभाव भएको, क्षमाशील, अरूको प्रगति, उन्नतिको डाह, रिस नगर्ने, लोभ, लालच आदि नभएका समयको एकदमै ख्याल गर्ने भन्ने बुझिन्छ ।

हुन त कोही कोही सहमत नहुन पनि सक्नु हुन्छ । नपत्याउन पनि सक्नु हुन्छ । कुरो आजभन्दा झण्डै चार वर्ष अघिको हो । सन् २०१९ को अन्त्य हुँदै गर्दा र सन् २०२० को सुरु हुँदै गर्दाको समयको । जुन वेला नेपाल सरकारले विभिन्न कार्यक्रम सहित सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने औपचारिक रूपमा घोषणा गरेको थियो ।

उक्त कार्यक्रम महत्त्वाकाङ्क्षी थियो । किनभने त्यो वेला २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य सहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने औपचारिक घोषणा गरिएको थियो । जबकि त्यो वेला (सन् २०१७–२०१८–२०१९ ताका) नेपालमा वार्षिक रूपमा लगभग साढे १० लाख, ११ लाखदेखि १२ लाख चानचुन विदेशी पर्यटक मात्रै नेपाल भ्रमणमा आई रहेका थिए ।

नेपाल सरकारले भने झण्डै ५० प्रतिशत बढी अर्थात् सन् २०२० मा २० लाख विदेशी पर्यटकलाई नेपाल भ्रमण गराउने महत्त्वाकाङ्क्षी योजनासहित ‘नेपाल भ्रमण वर्ष–२०२०’ भव्य रूपमा मनाउने औपचारिक रूपमा घोषणा गरेको थियो ।

जे भए तापनि २० लाख विदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित नेपाल सरकारले ‘नेपाल भ्रमण वर्ष–२०२०’ मनाउने कार्यक्रमलाई नेपालका निजी क्षेत्रका विविध खाले पर्यटन व्यवसायीहरूले पनि आ-आफ्नो तर्फबाट पनि विदेशी पर्यटकलाई विभिन्न सहुलियत र छुटका आकर्षक कार्यक्रमहरू ल्याएका थिए ।

यसरी हेर्दा नेपाल सरकारले विश्वका धेरैभन्दा धेरै देश र ती देशका नागरिकहरूलाई नेपाल हुने विभिन्न खाले पर्यटकीय सम्भावना र भई रहेका विभिन्न पर्यटकीय गतिविधि सम्बन्धमा उद्देश्य मूलक जानकारीहरू दिने र प्रचार प्रसार गर्ने उद्देश्यले सन् २०१९ को डिसेम्बर महिनाको सुरुदेखि नै विभिन्न अनौपचारिक तथा औपचारिक कार्यक्रम गर्न सुरु गरिसकेको थियो ।

दुर्भाग्य के भई दियो भने सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको दक्षिण पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट अचानक कोरोना फैलन सुरु भयो । सामान्य रूपमा कोरोना फैलन सुरु भएको केही समयपछि नै कोरोनाले विश्वव्यापी महामारीको रूप लिएपछि नेपाल सरकारले सन् २०२० लाई ‘नेपाल भ्रमण वर्ष–२०२०’ को रूपमा भव्य रूपमा मनाउने घोषणा गरेको कार्यक्रमलाई स्थगित ग¥यो ।

जेजस्तो भए तापनि सरकारले ‘नेपाल भ्रमण वर्ष-२०२०’ को अवसरमा गर्ने विभिन्न कार्यक्रमहरू सुरु भई सकेको थियो । साथै धीमा गतिमा भए तापनि आफ्नै ढङ्गले कार्यक्रम चल्दै थियो । सोही अवसरमा निजी क्षेत्रका पर्यटन व्यवसायी तथा पर्यटन उद्यमीहरूले पनि ‘नेपाल भ्रमण–२०२०’ को अवसरलाई टेवा पुग्ने किसिमका विभिन्न कार्यक्रमहरू गरेका थिए, गर्दै थिए ।

सो अवसरमा देशका विभिन्न क्षेत्रका खास गरी पर्यटनसँग सम्बन्धित रहेर उद्योग–व्यवसाय गर्ने निजी क्षेत्रका धेरै जसो उद्योगी–व्यवसायीहरू जस्तै ट्रेकिङ एजेन्सी, ट्राभल एजेन्सी, पर्वतारोहण सङ्घ, होटेल सङ्घ नेपाल, होमस्टे, र्याफटिङ लगायत पर्यटनसँग सम्बन्धित उद्योगी–व्यवसायीहरूले नेपालमा भ्रमण गर्न आउने विदेशी पर्यटकहरूलाई विभिन्न खाले छुट र अतिरिक्त सेवा, सुविधा, सहुलियतका योजनाहरू ल्याएका थिए, लागू गरेका थिए । जुन कुरो निजी क्षेत्रबाट गरिएको धेरै नै राम्रो काम रहेको थियो । किनभने निजी क्षेत्रको त्यस्तो कार्यक्रमले समग्र नेपाल र नेपाली पर्यटन क्षेत्रबारे विश्व पर्यटन बजारमा राम्रो सन्देश जाने थियो ।

त्यसै सन्दर्भमा भन्नु पर्दा त्यो वेला नेपालको पूर्वी पहाडी जिल्लामा अवस्थित इलाम जिल्लाका होटेल व्यवसायी सङ्घले गरेको, सम्भवतः नेपालभरिकै होटेल, लज, गेस्ट हाउस, होमस्टे, रेस्टुरेन्टसँग सम्बन्धित व्यवसायीहरूका लागि एक अनुकरणीय र मननीय काम गरेको थियो ।

त्यो हो, ‘नेपाल भ्रमण वर्ष–२०२०’ को अवसरमा सन् २०१९ को अन्तिम रात बिताउन इलाम जिल्लाको सदरमुकाम इलाम बजारमा वास बस्न पुगेका विभिन्न देशका पर्यटकहरूलाई एक रुपैयाँ मात्रै शुल्क लिएर ‘एक रात वास र दुई छाक खाना’ सित्तैमा (कम्प्लिमेन्ट्री) उपलब्ध गराउनु । इलामेली होटेल व्यवसायीहरूले गरेको सो कामका सम्बन्धमा राष्ट्रिय समाचार समिति (रासस) ले समाचार बनाएको थियो । सो समाचारलाई उद्धृत गर्दे विभिन्न सचारमाध्यमहरुले प्रचारप्रसार गरेका थिए ।

यसरी भ्रमण वर्ष सन् २०२० को पहिलो दिन लाग्ने र सन् २०१९ को अन्तिम रात बिताउने विदेशी पर्यटकहरूलाई इलाम जिल्लाको सदरमुकाम इलाम बजारमा सञ्चालित होटलहरुले एक रुपैयाँ मात्रै शुल्क लिएर विभिन्न देशका पर्यटकहरूलाई ‘एक रात वास र दुई छाक खाना’ सित्तैमा (कम्प्लिमेन्ट्री) उपलब्ध गराउनुलाई कम आँक्न हुँदैन ।

त्यसो त संयोगले सन् २०१९ को अन्तिम रात बिताउन इलाम बजार पुगेका विभिन्न देशका पर्यटकहरूले यसरी कहिल्यै कल्पना नगरेको फल प्राप्त गरेपछि (‘एक रात वास र दुई छाक खाना’ सित्तैमा अर्थात् कम्प्लिमेन्ट्रीमा पाएपछि) आश्चर्यमा परेको भनी समाचारमा उल्लेख गरिएको थियो ।

निश्चय नै उनीहरूले आफूहरू आश्चर्यमा मात्रै नपरेर आफूहरू आफ्नो देशमा फर्केर गएपछि इलामको मात्रै नभएर समग्र नेपालको पर्यटन र नेपाल भ्रमण वर्षको प्रचारप्रसार गर्ने बताएको भनी समाचारमा जनाइएको थियो । यसरी हेर्दा सानो होस्, वा ठुलो, सकारात्मक काम-कुरोले मान्छेलाई सँधैका लागि सकारात्मक बनाउँछ भन्ने उदाहरण पनि हो, इलामेली होटेल व्यवसायीहरूको कामले देखाएको नतिजा अर्थात् विदेशी पर्यटकहरूले गरेको प्रण ।

त्यस बेला नेपाल भ्रमण वर्ष सन् २०२० को अवसरमा नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकहरूलाई विभिन्न खाले र अतिरिक्त सेवा, सुविधा, सहुलियत र छुटहरू दिने सन्दर्भमा नेपाल सरकार भने पछि परेको थियो । हुन त विश्वको कुनै पनि देशमा सरकारभन्दा माथि कोही हुन सक्दैन ।

नेपालमा सञ्चालित निजी क्षेत्रका पर्यटन व्यवसायीहरू जस्तै ट्रेकिङ, ट्राभल, होटेल, होमस्टे, र्याप्टङ, जङ्गल सफारी, सिकार पर्यटन, निकुञ्ज पर्यटन लगायत पर्यटनसँग सम्बन्धित व्यवसायीहरूले नेपालमा भ्रमण गर्न आउने विदेशी पर्यटकहरूलाई सन् २०२० को अवधिभर विभिन्न खाले र अतिरिक्त सेवा, सुविधा, सहुलियत र छुटहरू दिने भनी केही महिनाअघि नै घोषणा गरेका थिए ।

जसले गर्दा २० लाख नै नभए तापनि धेरैभन्दा धेरै विदेशी पर्यटक नेपाल भित्र्याउनका लागि सरकारलाई सहयोग पुग्ने थियो । जस्तै त्यो वेला ट्राभल एजेन्सीहरूको छाता सङ्गठन ‘नाट्टा’ले आफ्ना हरेक ग्राहकहरूलाई १० प्रतिशत छुट दिने घोषणा गरेको थियो । ट्रेकिङ एजेन्सीहरूको सङ्गठन ‘टान’ले आफ्ना ग्राहकहरूलाई २० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।

त्यस्तै होटेल, लज तथा होम स्टेहरुले आफ्ना ग्राहकहरूलाई बेडमा ३० प्रतिशत र खानामा १५ प्रतिशत छुट दिने जनाएको थियो । यसरी हेर्दा नागरिक स्तरमा पनि चाहेमा केही न केही गर्न सकिनछ भन्ने उदाहरण इलामेली होटेल व्यवसायीहरूले ऊ वेला (सन् २०१९ को अन्त्य र सन् २०२०को सुरुमा) देखाएका थिए ।