- अनन्तराज न्यौपाने
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पूर्वी नेपालको जङ्गली क्षेत्रमा सात दिने हात्तीमैत्री पदयात्रा सम्पन्न गरेका छन् । यो पदयात्रा विविध कारणले महत्त्वपूर्ण, चर्चित र अलिकति विवादास्पद समेत बनेको छ । त्यसो त, समाजमा
एक थरी समूह पुरातन कालदेखि नै विरोध र विवादका लागि तयार छ । जसले जे गरे पनि वा नगरे पनि त्यस समूहको काम नकारात्मक टिप्पणी गर्नु नै हो । तर पदयात्रा उचित थिएन भन्ने कुरालाई यस समूहले पुष्टि गर्न सकेन; केवल सामाजिक सञ्जालमार्फत विरोधका स्वरहरू आइरहे ।
त्यसैले यी आवाजले जनमानस र समाजमा खासै महत्त्व पाएनन् । बरु प्रदेश सरकार गाउँघरमै आएको भनेर स्थानीय जनता हर्षित, प्रफुल्ल र विभोर देखिए । अक्सर, नेपालमा सरकारमा बस्नेहरूलाई जनताका समस्या, आवाज र दुःखबाट टाढा रहेको भन्ने आरोप लाग्छ । सरकारमा बस्नेहरू
पनि चुनाव जितेपछि औपचारिक रूपमा मात्र गाउँ समाजमा फर्किएको नाटक रच्दछन् । यात्राका क्रममा धेरैजसो के देखियो भने उनी गाउँको कुनै ठुलाठालुका घरमा पुगेनन् । बरु भुईँ मान्छेका घरमा, झुपडीमा वास गर्नेसित र धेरैजसो सुकुम्वासी बस्तीमा पुगेको पाइयो ।
उनले अन्तरक्रिया र संवाद गरेका धेरै नागरिकहरू भूमिहीन थिए । कुनै साहुको अथवा ऐलानी वा सरकारी जमिन केवल २–४ कट्ठा क्षेत्रमा खेती गरेर जीविका चलाइरहेका नागरिक थिए । यिनका घरमा कुनै मन्त्री वा मुख्यमन्त्री पुग्नुको त परको कुरा गाउँको वडाध्यक्ष वा वडा सदस्य पनि पुगेका छैनन् । यसरी सिङ्गो प्रदेश सरकार नै भुईँ तहमा पुगेपछि यसले एउटा छुट्टै तरङ्गको सिर्जना गरेको छ ।
मुख्यमन्त्रीले के पनि थाहा पाएका छन् भने हात्ती आतङ्कको वास्तविक पीडितले कहिल्यै क्षतिपूर्ति पाउँदैन किनकि ऊसित कुनै पनि जमिनको धनी पुर्जा छैन र, क्षतिपूर्तिका लागि धनी पुर्जा हुनु आवश्यक छ । त्यसैले अब कुनै उपायले वास्तविक पीडितले क्षतिपूर्ति पाउने सम्भावना बढेको छ । यस यात्राले पूर्वी नेपालको हात्तीको समस्यालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा बहस गराउन ढोका खोलिदिएको छ ।
यस कारण कि, यात्रा राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा चर्चित भएको छ । वन्यजन्तु, चराचुरुङ्गी, वन तथा वातावरणकाक्षेत्रमा काम गरिरहेका विज्ञ र अभियन्ताले यात्रालाई चासोका साथ हेरेका र समीक्षा गरेका छन् । त्यसैले भोलिको नीति निर्माणमा यो सात दिने यात्रा ठुलो सहायक र निर्णायक पनि हुने कुरामा शङ्का छैन ।
खासमा हात्ती, बाँदर, नीलगाई वा अनेक प्रकारका चराचुरुङ्गी हिजोआज मानववस्तीमा पुग्नुको कारण जङ्गलभित्र तिनको आहाराको कमी भएर नै हो । जङ्गल मासिएको छ, पूरै खाली भएको छ । त्यसैले त्यहाँ अब जैविक मार्ग र वातावरणको सिर्जना गर्नुपर्छ । मुख्यमन्त्री कार्कीको यात्राले यस तथ्यलाई स्पष्टतः हृदयङ्गम गरेको हुनुपर्छ ।
नेपालमा जो मन्त्रिपरिषदमा पुगे पनि ऊ एउटा गिरोह, बन्धन र सञ्जालभित्र बाँधिएको जस्तो देखिन्छ । उसले स्वतन्त्र मनमस्तिष्कले काम गर्न पाएको हुँदैन । उसलाई कार्यालयको सचिवालय, मन्त्रालयका सचिव र अन्य अधिकारी तथा आफ्नै सल्लाहकारले चङ्गुलमा पारेका हुन्छन् । ऊ यो चङ्गुल तोडेर बाहिर निस्कन सक्तैन । त्यसैले सरकारमा बस्नेहरू अलोकप्रिय, विफल र अक्षम देखिँदै आएका छन् । तर यो परम्पराको माखेसाब्लोलाई मुख्यमन्त्री कार्कीले छिनालेका छन् ।
उनी आफ्नो व्यूहबाट बाहिर निस्किएर पीडितका आवाज सुन्न र तिनलाई विश्लेषण गर्न घरघर पुगेका छन् । उनले समस्याको पहिचान गर्न खोजेका छन् । पीडितको स्पन्दन छाम्ने प्रयास गरेका छन् । पु्र्वी नेपालको जङ्गली क्षेत्रमा हात्ती आतङ्क किन हुन्छ र यसका निराकरणका उपाय के छन् भन्ने तथ्यलाई अब सम्भवतः उनले स्पष्ट व्याख्या गर्न सक्नेछन् । अब उनलाई कुनै पनि सल्लाहकार वा कन्सल्ट्यान्टका टालटुले खालका परामर्श र सल्लाहले प्रभावित गर्न पाउने छैन । किनकि समस्यालाई मुख्यमन्त्री स्वयंले बुझिसकेका छन् ।
मुख्यमन्त्रीको यात्रा हात्तीसित मात्र सम्बन्धित भएन, चुरे क्षेत्रका समस्या र मुद्दाका बारेमा उनले पर्याप्त अन्तरक्रिया गरेको पाइयो । आज चुरे क्षेत्रको विनाशले गर्दा सम्पूर्ण तराई मधेस क्षेत्र मरुभूमीकरणको सङ्कटमा परिरहेको छ । चुरेको पर्यावरण विनाश, बलात् उत्खनन र अवैज्ञानिक कटानले गर्दा सम्पूर्ण मुलुकको जलवायुको सन्तुलनमा असर परिरहेको छ । यसका कारण चुरेदेखि दक्षिण तराई सम्मका भूभागमा जलाधारका क्षेत्रहरू सुकिरहेका छन् ।
मुख्यमन्त्रीको यात्राले यो मुद्दालाई पनि समेट्न र सम्बोधन गर्न खोजेको देखिएको छ । यसबाहेक यात्राका कारण यस क्षेत्रको पर्यटकीय गतिविधिले पनि चलायमान हुने अवसर पाएको छ । कोशी प्रदेश स्वयंमा एउटा पर्यटकीय क्षेत्र हो तर पर्याप्त प्रचार र अभियानको कमी अझै खट्किएको अनुभव हुन्छ ।