इटहरी : विराटनगर महानगरपालिकाले ‘कर करले हैन रहरले तिरौँ’ कार्यक्रम सार्वजनिक गरेको छ । सोमबार प्रस्तुत बजेट नीति तथा कार्यक्रममा उत्कृष्ट करदातालाई सम्मान गर्ने र स्वयंसेवक परिचालन गरी कर सङ्कलन गर्ने कार्यक्रम सार्वजनिक भएको हो ।

३ अर्ब ४९ करोड ९८ लाख ८६ हजारको बजेट ल्याएको कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिकाले १ अर्ब १० करोड आन्तरिक आय प्रक्षेपण गरेको महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले बताइन् ।

आर्थिक वर्ष २०८१/८२ को बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले कृषकलाई बिउमा ५० प्रतिशत अनुदान दिने र कृषि बिमालाई अगाडी बढाउने जानकारी दिइन् । ‘मेयर इन्जिनियरिङ छात्रवृत्ति कार्यक्रम’ मार्फत २५ जनालाई निःशुल्क प्राविधिक शिक्षा प्रदान गरिने बताउँदै उनले महानगरमा सुलभ फार्मेसी सञ्चालन गर्ने बताइन् ।

प्लास्टिक झोलामा प्रतिबन्ध लगाउने घोषणा गर्दै प्लास्टिकको झोलालाई प्रतिस्थापन गरेर कपडाको झोलालाई प्रयोगमा ल्याउने उनको भनाइ छ । वातावरण प्रदूषण गर्ने उद्योग, कलकारखाना तथा सवारीलाई कार्यविधि बनाएर नियमन गरिने कार्यक्रममा उल्लेख छ । व्यक्ती वा संस्थाको खाली जग्गामा फोहोर राख्न नपाउने र त्यस्तो अवस्था भेटिए स्वयम् जग्गा धनीको मालपोत वा राजस्वमा थप गरेर जरिवाना तिर्नुपर्ने भएको व्यवस्था गरिने भएको छ । 

सडक पेटीमा जथाभाबी सामग्री राख्न नपाउने नीति अवलम्बन गर्ने बजेट नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सञ्चार माध्यमको विकासको लागि लोक कल्याणकारी विज्ञापन मार्फत सहयोग उपलब्ध गराइने भएको छ । कात्तिक मसान्त सम्म दर्ता नवीकरण भएका सञ्चार माध्यमलाई मासिक सुविधा उपलब्ध गराइने भएको हो । खोज पत्रकारिता गर्ने पत्रकारको क्षमता अभिवृद्धि गर्ने नीति अवलम्बन गर्ने भएको छ ।

बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ५९ करोड रुपैयाँ बजेट विनियोजन गरेको भने ऋणको सावा र ब्याज भुक्तानीमा ५ करोड विनियोजन गरिएको छ ।

सङ्घीय सरकारकै भर परेको महानगरपालिकाले समानीकरण अनुदान बापत ३२ करोड ६६ लाख र प्रदेश सरकारबाट २ करोड ४९ लाख २९ हजारको अनुमान गरिएको छ । सङ्घीय सरकारकै सशर्त अनुदान ८० करोड ७७ लाख, विशेष अनुदान ७ करोड ५० लाख र समपूरक अनुदान १ करोड १० लाख प्राप्त हुने अनुमान गरेको छ ।

प्रदेश सरकार सशर्त अनुदान तर्फ रु ३ करोड ९० लाख ४३ हजार र प्रदेश सरकार समपूरक अनुदान रु २ करोड गरी कुल रु ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार आउने अनुमान विराटनगरको छ ।

राजस्व बाँडफाँड मध्ये मूल्य अभिवृद्धि करबाट १६ करोड ११ लाख ७६ हजार, अन्तःशुल्कबाट ५ करोड ८५ लाख, वन रोयल्टी ५ लाख ८२ हजार आय हुने अनुमान कार्कीले प्रस्तुत गरिन् । घर जग्गा रजिस्ट्रेसन दस्तुरबाट ५६ करोड ७९ लाख २८ हजार, सवारी साधन करबाट ३ करोड ८७ लाख १ हजार र मनोरञ्जन तथा विज्ञापन कर बापत १ करोड गरी आन्तरिक आयतर्फ १ अर्ब १० करोड ८६ लाख ८५ हजार अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०८०/८१ को लागी विराटनगरले आन्तरिक आयतर्फ ८९ करोड ५० लाख अनुमान गरेकोमा २०८१ जेठ मसान्त सम्ममा ४१ करोड ९८ लाख २५ हजार मात्र सङ्कलन भएको छ । जुन कुल अनुमानित आन्तरिक आयको ४६.९० प्रतिशत मात्र हो ।

उपमेयर कार्कीले पेस गरेको बजेटमा बहुवर्षीय ठेक्का तथा गौरवका आयोजना एवं दायित्वका योजनाहरूको भुक्तानीका लागि ५० करोड, बस्ती विकास र तराइ मधेस समृद्धि कार्यक्रम तर्फ ५ करोड ६० लाख र मर्मत सम्भार तर्फका लागि १० करोड विनियोजन भएको छ । 

सवारी साधन खरिदका लागि २ करोड बजेट विनियोजन गरेको बताएकी उनले सामाजिक विकास क्षेत्र अन्तर्गत शैक्षिक विकास कार्यक्रम तर्फ ७८ करोड ७८ लाख विनियोजन भएको बताइन् ।