इटहरी : विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ कालागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ। बिहीबार महानगरपालिकाको आठौँ नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले नीति तथा कार्यक्रम तथा राजश्व तथा व्ययको अनुमान (बजेट) प्रस्तुत गरेकी छन्।

अघिल्लो आर्थिक वर्ष महानगरले ४ अर्ब २३ करोड ३ लाख रुपैयाँको आय अनुमान गरेको भए पनि १० महिनामा १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ मात्र यथार्थ आम्दानी भएको छ। यो अवधिमा ३ अर्ब ६३ करोड पुँजीगत खर्च हुने अनुमान गरिएकोमा ८८ करोड मात्र खर्च गर्न सकेको छ। ९५ करोड आन्तरिक आम्दानी हुने अनुमान गरेको महानगरले पछिल्लो १० महिनाको अवधिमा ३१ करोड ३८ लाख मात्र आम्दानी गरेको छ।

उपमेयर कार्कीद्वार प्रस्तुत बजेटमा कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ ४६ करोड ७० लाख ५२ हजार ९ सय २५ रुपैयाँ, पुँजीगत तर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार र वित्तीय व्यवस्था तर्फ ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। बजेटमा प्रशासनिक खर्चतर्फ ११ प्रतिशत र पुँजीगततर्फ ८९ प्रतिशत बजेट छुट्याएको हो ।

अन्तर सरकारी वित्तीय हस्तान्तरणमार्फत सङ्घीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजश्व बाँडफाँडबाट १ अर्ब १ करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार, अन्य अनुदान तथा ऋणबाट ७० करोड ५५ लाख ८ हजार ५००, सङ्घसंस्थाबाट १ करोड ४४ लाख र जनसहभागिता बाट १० करोड आम्दानी हुने अनुमान गरिएको छ।

यसैगरी पुँजीगत खर्चमध्ये पूर्वाधार विकासमा २ अर्ब ४ करोड ३९ लाख ४८ हजार,आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सामाजिक विकास क्षेत्रमा १ अर्ब २६ करोड ६९ लाख, सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरिएको छ । क्रमागत योजनाको भुक्तानीका लागि २५ करोड ३५ लाख, शिक्षातर्फ ५५ करोड ७७ लाख, युवा तथा खेलकुदतर्फ १ करोड ६१ लाख, स्वास्थ्यतर्फ १८ करोड १ लाख र विपद् व्यवस्थापनतर्फ ३ करोड रुपियाँ बजेट विनियोजन गरिएको छ । उपमेयर कार्कीले भनिन्, "कोभिड महामारीका कारण उत्पन्न समस्यालाई समेत सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रमहरू केन्द्रित गरिएको छ।"

बजेटमा वडास्तरीय आयोजनाहरूको लागि २६ करोड ७८ लाख, नगर स्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्याण्डफिल्ड साइड, अन्तर्राष्ट्रिय सभा हलको जग्गा खरिद गर्न १५ करोड विनियोजन भएको छ । विराट राजाको दरबार क्षेत्रका लागि ५ करोड, सिंघिया तटमा सन्ध्याकालीन आरतीका लागि २ करोड, हिमालय रोड निर्माण गर्न ३ करोड, महानगर आवास योजनाका लागि ९० लाख, फोहोर पानी प्रशोधन केन्द्रलाई २ करोड, फ्लाइ ओभर पुल निर्माणका लागि २ करोड ४५ लाख, प्रधानमन्त्री पार्ककालागि ५ करोड र अन्य नगरस्तरीय आयोजनाका लागि ४० करोड रुपैयाँ विनियोजन भएको छ ।

त्रिवर्षीय मध्यकालीन खर्च संरचना अन्तर्गत आगामी तीन वर्षको खर्चको अनुमान समेत पेस भएको छ । आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब ३७ करोड र आर्थिक वर्ष २०८०/८१ मा ४ अर्ब ७३ करोडको आयव्ययको अनुमान गरेको छ।

महानगरपालिकाले पछिल्लो चार वर्षको अवधिलाई पूर्वाधार निर्माणमा प्रगति भएको निर्क्योल निकालेको मेयर भीम पराजुलीले बताएका छन् । पूर्वाधार विकासमा महानगरभित्र भएको प्रगतिको प्रभाव सकारात्मक देखिएको उनको भनाई छ।

दातृ निकायको ऋण सहयोगमा सञ्चालित दुई ठुला परियोजना सम्पन्न हुँदा महानगरभित्र ६२८ किलोमिटर नाला, ७९ किलोमिटर ढल प्रणाली, २ हजार २३३ वटा हाउस कनेक्सन, ५९ किलोमिटर फुटपाथ सहितको पिच सडक, ४१ किलोमिटर सडक सुधारको काम सम्पन्न गरेको जनाइएको छ ।