विराटनगर : प्रदेशको राजधानी एउटै महानगर भएकोले विराटनगरमा सामाजिक क्षेत्रलाई प्राथमिकता दिएर महानगरपालिकाको बजेट ल्याउनुपर्ने गैरसरकारी संस्थाहरूले सुझाव दिएको छ ।

गैरसरकारी संस्थाका प्रतिनिधिहरूले आगामी आर्थिक वर्षको बजेटमा लैङ्गिक हिंसा रोकथामका कार्यक्रमलाई विशेष प्राथमिकता दिए बजेट ल्याउन जोड दिएका हुन् ।

बजेट सम्बन्धी सुझावका लागि बुधवार आयोजित छलफलमा एवीसी नेपाल कोसी प्रदेश अध्यक्ष विष्णु शर्माले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक हिंसा पीडित, बालबालिकाको हितमा बजेट ल्याउन सुझाव दिइन् ।

कोकनकी प्रमुख मञ्जिता उपाध्यायले खुल्ला सीमानाका कारण हुने लागूऔषध सेवन र ओसारपसारलाई न्यूनीकरण गर्न विशेष अभियान जारी रहेकाले त्यसतर्फ पनि बजेट केन्द्रित हुनुपर्ने सिविनका वासु अधिकारीले सुझाव दिइन् ।

भीएनएफपीएका श्याम थापा, बाल समाजकी सीता पौडेल, नारी विकास सङ्घकी सीता शर्मा, ज्येष्ठ नागरिक महासङ्घ प्रदेश अध्यक्ष मणि अज्र्याल, विराटनगर अध्यक्ष सुरेशकुमार श्रेष्ठ, सामर्थ्य समाजकी आकृति रानी फुयल, अधिकारकर्मी कोषराज न्यौपाने गैरसरकारी संस्थासँगको सहकार्यमा जोड दिए ।

छलफलमा कार्यवाहक मेयर मधुबाबु तिवारीले सुझावहरूलाई आगामी वर्षको बजेटमा समेट्ने प्रतिबद्धता जनाए । वडा ३ का अध्यक्ष वासुबहादुर बस्नेत, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामान्य प्रशासन प्रमुख अर्जुन थपलिया, राजस्व प्रमुख सरोज गौतम पनि छलफलमा सहभागी थिए ।