धरान : धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले हिजो शुक्रवार एउटा स्ट्याटस लेखेका छन् ‘अशोक राई सङ्घीय सांसद ज्युले पनि सप्तकोशीको पानीका लागि गम्भीर बनेर केन्द्रमा भिड्नु है !, राजनीति मात्र नगर्नु ।’

पछिल्लो समय सुनसरी क्षेत्र १ बाट नेकपा एमालेको समर्थनमा जनता समाजवादी पार्टी सङ्घीय प्रतिनिधिसभामा निर्वाचन जितेर माननीय बनेका अशोककुमार राई जनता माझबाट बेपत्ता भएको चर्चा चलिरहेको बेला नगर प्रमुख साम्पाङको उक्त स्ट्याटस आएको हो ।

ऊनीसँग सांसद राईको नियमित सम्पर्क भइरहेको छ छैन, त्यो कुरा स्ट्याटसमा नगर प्रमुखले खुलाएका भने छैनन् । भाषा भने आत्मीय सम्बन्ध भएका नेतासँग निकट सम्पर्क रहेको भाव प्रकट गरिएको बुझिन्छ । सांसद राईको बारेमा प्रमुख साम्पाङको यो पहिलो स्ट्याटस भने होइन ।

‘माननीय’बाट धरानको विकाश, निर्माणमा गतिलै काम गरेकोले ‘कोशीको पानी ल्याउने’ प्रमुख साम्पाङको सपना पुरा गर्नका लागि सामाजिक सञ्जाल मार्फत आग्रह गरिएको हो कि ? सांसद राई हराएको जस्तो लागेकाले खोजी गरिएको हो ? नगर प्रमुख साम्पाङले खुलाएको भए राम्रो हुन्थ्यो ।

काम नलाग्ने मानिस रहेछन् 

कुनै बेला सांसद अशोक राईका दाहिने हात रहेका तत्कालीन जसपा नेपालका प्रदेश सदस्य कृष्ण माङलेन लिम्बुसँग भने उनी निकट रहेर काम गर्दाको कुनै सुखद अनुभूति छैन । उनले भने ‘सांसदमा जिताएर त पठाइयो तर, आफ्नो क्षेत्रलाई खासै ध्यान नदिने मान्छे रहेछन् ।’

त्यसैले निर्वाचन क्षेत्र फेर्दै हिँड्ने गरेको अनुभव आफूलाई भएको माङलेनको भनाई छ । सुनसरी १ मा पहुँचवाला राष्ट्रिय नेता भए केन्द्रमा सजिलै सुनसरीको समस्या पुगेर समाधान गर्दे विकासको काम हुन्छ भन्ने थियो । उनले भने ‘तर काम नलाग्ने मानिस रहेछन् ।’

सांसद राईकी श्रीमती सुशीला श्रेष्ठ पनि सङ्घीय समानुपातिक सांसद हुन । श्रीमतीलाई सांसद बनाउनु बाहेक ‘उहाँले केही गर्नु भएन। संसदमा सुनसरी क्षेत्र १ को विकासमा एक शब्द बोलेको सुनिँदैन ।’

माङलेनको गुनासो छ, निर्वाचन क्षेत्रको संरचनागत विकासमा स्थानीय सरकारको पहुँच नपुग्ने सडक, पुल, खानेपानी र अन्यत्र सरेका पुरानो सरकारी संरचनाको साख व्युताउन काम गर्छन् भन्ने आशा थियो आशा चुनावी एजेण्डामा मात्र सीमित रह्यो । 

नैतिक जिम्मेवारी समेत निर्वाह गरेनन् 

एमाले धरान नगर अध्यक्ष हर्कजंग एभेङले सांसद राई पार्टी फरक भए पनि राष्ट्रिय नेता भएकाले धरानको विकासमा टेवा पुग्छ भनेर पार्टीले जिताए पनि जितेर गएको २ वर्ष पुग्दा सम्म भेटघाट र धरानको विकासका बारेमा सरसल्लाह नगरेको बताए ।

चुनाव पछि २ पटक मात्र निर्वाचनको समीक्षा गर्न बाहेक केही सल्लाह र भेट नभएको बताउँदै अध्यक्ष एभेङले भने ‘उहाँले निर्वाचन क्षेत्रको समस्यामा नैतिक जिम्मेवारी पनि वहन गर्नु भएन, यो त गैरजिम्मवारी पनि हो ।’

प्रतिनिधि सभाको बैठकमा धरान तथा सुनसरी–१ को विकासको एजेण्डाप्रति खासै चासो देखाएको र बोलेको पाइँदैन । उनले भने ‘हिजोअस्ती भारी वर्षा हुँदा सर्दुमा फोटो खिचेर हालेको फेसबुकमा देखियो तर क्षतिग्रस्त स्थानको विषयमा केही बोलेको पाइएन ।’

खोटाङबाट उदयपुर हुँदै सुनसरीको यात्रा  

वरिष्ठ नेता राई सुनसरी–१ बाट २०७९ मङ्सिर १२ गते निर्वाचित भएका हुन । यसअघि उनी खोटाङ जिल्लाबाट २०४८ र २०५१ सालमा सांसद बनेका थिए । खोटाङको विकासमा उनले भूमिका नदेखाएको खोटाङेहरुको भनाई छ ।

२०५६ सालमा उदयपुर झरेर राईले चुनाव जितेका थिए । उदयपुरमा पनि उनको कार्यशैलीप्रति जनगुनासो रहेको उदयपुरे राजनीतिक कार्यकर्ताहरू बताउँछन् । उदयपुरबाट सुनसरी आएका राई २०७४ मा सुनसरी–१ मा नेपाली काँग्रेसको सहारामा उम्मेदवार बनेका थिए । तर सफल भएनन् ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुँदा निजी शैक्षिक संस्थाको वार्षिक उत्सव जस्ता कार्यक्रममा निकै धरान आएका सांसद राई हाल धराने जनतामा आइपरेको समस्यालाई टुलटुल हेरेर काठमाडौँ केन्द्रित हुने गरेको आरोप लाग्दै आएको छ ।

पछिल्लो समय जनता समाजवादी पार्टी विभाजन गरेपछि धरानका धेरैले राईको साथ छोडेका छन् । धरानमा थोर बहुत पकड बनेको बेला नयाँ परिस्थिति आएपछि उनी सम्पर्क विहीन भएकोले निकटवर्तीहरु अन्यौलमा छन् ।

राईको चुनावी एजेण्डा अलपत्र

सांसद राईले चुनाव ताका एजेन्डाका रूपमा आफ्नो उम्मेदवारी अन्तिम भएको बताउने गरेका थिए । कोणसभाको भाषणमै ‘यस पटक मेरो अन्तिम उम्मेदवारी हो’ भनेको युट्युवरहरुको क्लिप अहिले पनि भेटिन्छ ।

तै पनि लामो समयको राजनीतिक इतिहास भएका नेता राईलाई ‘धरानले बल्ल राष्ट्रिय नेता पायो’ भनी जनताले जिताएका थिए । उनले धरानको विकासका लागि केन्द्रीय तहमा प्रभावशाली पहुँच स्थापित गर्ने विश्वास धरानवासीलाई थियो ।

अहिले ती सबै चुनावी एजेण्डा अलपत्र परेको छ । त्यस मध्ये ‘अन्तिम उम्मेदवारी’को एजेण्डालाई उनले प्राथमिकतामा राखेका हुन की ? अन्यथा इमानदार छवि भएका उनको राजनीतिक सङ्घर्षका इतिहासलाई सम्मान गर्नेहरू सबै निराश भएका छैनन् ।

राईलाई माया गर्नेहरू भन्छन् ‘कसैको भरमा राजनीति गर्ने आशा राख्न भन्दा चुनाव क्षेत्रका जनताको आशा र विश्वास पुर्नस्थापीत गर्ने अझै समय छ, उहाँ जनता माझ आउनु पर्‍यो ।’ फेसबुकमा भाइरल भएर मात्र अब हुन्न धराने मतदाता चेती सकेका छन् भन्ने उनीहरूको भनाई छ ।