इटहरी : जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई सुनसरी क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फको उम्मेदवार भएका छन् । उनकी पत्नी सुशीला श्रेष्ठ सोही पार्टीबाट प्रतिनिधिसभाको समानुपातिक सुचीमा परेकी छिन् । नेकपा एमाले र जसपा गठबन्धनका साझा उम्मेदवार रहेका राई सत्तारुढ गठबन्धनका उम्मेदवार मुक्साहाङ मेन्याङ्बो सँग चुनावी प्रतिस्पर्धामा छन् । 
धरानका पूर्वमेयर मनोज मेन्याङ्बोले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन् । नेकपा एमाले धरानका लोकप्रिय नेता मनोजको उम्मेदवारीले राईलाई समस्या बनाएको छ। आफूले चुनाव जित्न गाह्रो हुन् बुझेपछि उनले श्रीमतीलाई समानुपातिक सुचीबाट संसद् छिराउने प्रयास गरेका हुन् ।
नेकपा एमाले सुनसरी २ बाट प्रतिनिधिसभा उम्मेदवार हुन भीम प्रसाद आचार्य । उनकी पत्नी निरा देवी खनाल प्रदेशको समानुपातिक सुचीमा छिन् । एमाले स्थायी कमिटी सदस्य समेत रहेका आचार्य सुनसरीका प्रभावशाली नेताको रूपमा चिनिन्छन् । त्यही प्रभावको आधारमा खनालको नाम खस आर्यको ३ नम्बरमै समेटिएको छ । उनी आगामी निर्वाचन पछि सांसद बन्ने पक्का भएको छ । 
सुनसरी २ मा नेपाली काँग्रेसका सिताराम मेहता उम्मेदवार भएका छन् । यसअघि वाम गठबन्धनलाई पराजित गरेका मेहेतालाइ यस पटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको साथ छ । जसले गर्दा आचार्यको संसद् प्रवेश त्यति सहज देखिँदैन । त्यही मनसायले आचार्य शक्तिमा रहनकै लागि श्रीमतीलाई अगाडी सारेका छन् । प्रदेशमा नेकपा एमालेको सरकार बन्ने अवस्थामा मन्त्री बनाउन सक्ने गरी उनको तयारी देखिन्छ । 
एउटै परिवारमा केन्द्रित राजनीतिले युवा पुस्तालाई निराश बनाएको बताउँछिन् नेकपा एमाले केन्द्रीय सदस्य लक्ष्मी गौतम । समानुपातिकबाट पार्टीमा पर्ने मतमा योगदानलाई भन्दा पनि पुरुष नेताको आफन्तलाई भाग लगाउन थालिएको उनको तर्क छ । 
लामो समय देखी आन्दोलनमा लागेका महिलाहरू पछि परेका र आन्दोलनको स्पिड कमजोर बनेको गौतमको बुझाई छ। महिलाले अवसर नपाउने भएपछि ठुलो नैरास्यता आएको बताउँदै उनले यसले जनतामा आक्रोश बढाएको बताइन् । 
जनता समाजवादीकी केन्द्रीय सदस्य योशा गुरागाईँ नेतृत्वमा परिवारवाद हाबी भएकाले देश र जनता प्रति उत्तरदायी नभएको बताउँछिन् । शक्ति आफ्नै वरिपरि राख्ने कोसिस बारम्बार भइरहेको बताउँदै उनले नेतृत्वले गर्ने गतिविधिले पार्टी र समग्र राजनीति प्रति नै निराशा बढाउने बताइन् । यो चुनावको समानुपातिकको सुचीले जनतामा धेरै निराशा बढाएको उनको बुझाई छ । राजनीतिमा होमिएका महिला र युवाहरूको लागी बेकार राजनीतिमा लागियो भन्ने धारणा विकाश गरेको उनको गुनासो छ ।