धरान : विदेशी चलनले नेपालीको घरभित्रका संस्कारहरू अतिक्रमणमा परेको उदाहरणहरू थुप्रै छन् । यसबाट नयाँ पुस्तामा परम्परागत संस्कृति लोप हुँदा जाने कुरा सङ्घीय सांसद सुशीला श्रेष्ठले बताएकी छन् ।
नेवार एकता समाजको चौथो केन्द्रीय सम्मेलनमा प्रमुख अतिथि रहेकी श्रेष्ठले उदाहरण दिदैं भनिन् ‘जन्म दिनमा बत्ती निभाउने होइन, बत्ती जलाई राख्ने हो ।’ नेवारहरूको संस्कारमा बत्ती निभाउने होइन बाल्ने संस्कार रहेकोले बर्थडे लगायतका शुभ कार्यहरूमा बत्ती बालेर राख्नु पर्ने उनले बताइन् ।
नयाँ पुस्तालाई परम्परागत संस्कार, संस्कृति हस्तान्तरण गर्न अभिभावकको महत्त्वपूर्ण भूमिका हुने बताउँदै सांसद श्रेष्ठले नेवारहरूले आफ्नो संस्कार र संस्कृतिलाई उच्च सम्मान राख्न, जोगाउन प्रतिबद्ध हुँदै सम्पूर्ण संस्कारमा गुभाजु र देवाजु चलाउन आग्रह गरिन् ।  
समाजको नवनिर्वाचित कार्यसमितिको पदस्थापन र बधाई कार्यक्रम समेत रहेको सभामा निवर्तमान अध्यक्ष राजेशमान शाक्यको सभापतित्वमा भएको थियो । सभामा प्रतिनिधिसभा सांसद श्रेष्ठ, प्रदेश सांसद यशोदा कायस्थ बधाई पत्र प्रदान गरियो ।
यसै गरी समाजसेवी प्रभु प्रसाद श्रेष्ठ र चन्द्र प्रसाद श्रेष्ठलाई दोसल्ला ओढाइ सम्मान पत्र प्रदान गरियो । संस्थाका ५ जना देवाजु ३ जना गुभाजु एवं नेवार समुदायबाट निर्वाचित ११ जना जनप्रतिनिधिलाई बधाई पत्र प्रदान गरियो ।
यस्तै सङ्घ संस्थामा निर्वाचित अध्यक्षहरू सिटी कलेजका अध्यक्ष आशिष् मास्के, रेडिमेड व्यवसायी सङ्घका अध्यक्ष ज्ञान शोभा शाक्य, राष्ट्रिय खेलकुद स्वर्णपदक विजेता अवतार श्रेष्ठ, अन्तर्राष्ट्रिय खेलमा रजत पदक विजेता कबिर भगत प्रधानाङ्ग, उद्योग वाणिज्य सङ्घ सुनसरी अध्यक्ष विजय श्रेष्ठलाई बधाई पत्रले सम्मान गरियो ।
नेवार एकता समाज नवनिर्वाचित पदाधिकारीहरू अध्यक्ष महेश श्रेष्ठ, सदस्यहरू सुरेन्द्रमान स्थापित, हिमाल श्रेष्ठ, मोहन श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, दीपेन्द्र श्रेष्ठ, विद्या शाक्य, मञ्जुला श्रेष्ठ, विष्णु श्रेष्ठ, सुन्दरी श्रेष्ठ, सुमन श्रेष्ठ, राजकुमार श्रेष्ठले उक्त अवसरमा शपथ ग्रहण गरे ।
शपथ ग्रहणमा १० जना मनोनीत सदस्य समेत कुल २१ जना सहभागी थिए । सम्मेलनले विद्या शाक्यको संयोजकत्वमा १७ सदस्य महिला सेल कमिटी गठन गरेको छ । यसैगरी सम्पूर्ण ताम्राकारको संयोजकत्वमा युवा कमिटी गठन गरेको छ ।