धरान  : जनता समाजवादी पार्टीको सङ्घीय परिषद् अध्यक्ष अशोक राईले नेकपा एमाले सँग पार्टी एकता हुने सङ्केत गरेका छन् । शुक्रवार धरानमा आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै राई पार्टी एकताबारे कुरा भइरहेको बताएका हुन् । 
राजनीतिमा असम्भव कुनै कुरा नभएको बताउँदै उनले लामो समय कार्यगत एकता गर्ने गरी तालमेल गरिएको बताए । सुनसरी क्षेत्र नम्बर १ को एमाले जसपा संयुक्त पत्रकार सम्मेलन कार्यक्रममा बोल्दै राईले वर्तमान चुनावी तालमेल राष्ट्रिय आवश्यकता भएको जानकारी दिए । 
एमाले जसपा गठबन्धनबाट सुनसरी १ को प्रतिनिधिसभा उम्मेदवार रहेका राईले दुवै पार्टीले दीर्घकालीन हितको लागि अगाडी बढ्ने निर्णय गरेको सुनाए । सुनसरी १ मा एमालेको बलियो प्रभाव रहेकोले त्यसैको बलमा प्रदेशसभाका दुवै उम्मेदवार र प्रतिनिधिसभामा विजयी हुन सक्ने उनले प्रस्ट पारे । 
सुनसरी १ का सुरु भएका धेरै योजना अधुरो रहेको कारण आफ्नो कार्यकालमा पुरा गर्ने अठोटका साथ उम्मेदवारी दिएको उनको भनाई छ । प्राचीन साहित्यको अध्ययन केन्द्र बनाउने देखी भौतिक र सामाजिक पूर्वाधार विकाशमा लाग्ने उनको अठोट छ । धरानमा खेलकुद तथा सङ्गीत विश्वविद्यालय बनाउने उनको योजना छ । 
सुनसरी १ (क) मा विजय राई र (ख) बाट रमेश बस्नेतले उम्मेदवारी दिएका छन् । एमालेको चुनाव चिन्हलाई सम्मान पुग्ने गरी प्रदेशमा जसपाले मत हाल्ने र जसपालाई सम्मान गर्न प्रतिनिधिसभामा मत हाल्नुपर्ने गठबन्धनका संयुक्त मूल निर्वाचन परिचालन कमिटीका संयोजक मीन कुमार सुब्बाले बताए । 
जसपाले एमालेको प्रभाव क्षेत्र कब्जा गरेको भन्दा पनि अहिलेको आवश्यकताको रूपमा यसलाई हेर्नुपर्ने उनले आश्वस्त पारे । 
सुनसरी १ मा नेपाली काँग्रेस नेतृत्वको सत्तारुढ गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका मुक्साहाङ लिम्बु , प्रदेश (क) मा काँग्रेसका उमेश थापा र (ख) मा नेकपा एकीकृत समाजवादीका रेवतिरमण राई उम्मेदवार भएका छन् ।
एमाले जसपा गठबन्धनलाई चुनौती दिँदै सत्तारुढ गठबन्धन बाहेक धरानका पूर्व मेयर मनोज मेन्याङबोले उम्मेदवारी दिएका छन् । धरानका चर्चित मेयरको रूपमा स्थापित उनले नेकपा एमालेको अधिकांश मत प्रभावित पार्ने देखिएको छ ।