• रमेश काफ्ले  

पृथ्वीनारायण साहको समय समाप्त पछि विश्वमा फैलिएको बेलायती साम्राज्यवादले नेपालमा प्रत्यक्ष अङ्ग्रेजले शासन सञ्चालन गर्न पाएन । जङ्गबहादुर राणाले सुरुवात गरेको राणा शासन एक हिसाबमा अङ्ग्रेज सामु नरम देखियो । राणाले यो देशमा एक सय चार वर्ष शासन सञ्चालन गरे । 

त्यस समयमा नेपालमा केही विकास हुन सकेन नेपालको अँध्यारो युगको रूपमा चित्रित हुँदै गएपछि प्रजातन्त्रको लागि सङ्घर्ष सुरु भयो भन्ने भाष्य बनाइयो । ‘इतिहास जित्नेको लेखिन्छ’ भन्ने मान्यता यहाँ आएर स्पष्ट पार्नुपर्ने हुन्छ । डाक्टर दयाराम श्रेष्ठले भनेजस्तै साहित्य मात्र त्यस्तो सत्य हो जसले तत्कालीन समयको वास्तविक अवस्थाको चित्रण गर्दछ । 

वास्तवमा साहित्यले हार्ने र जित्ने दुवैको वास्तविकतालाई बुझाउँछ । दर्पणवादी दार्शनिकहरू पनि यही मतलाई मान्दछन् । म साहित्यको विद्यार्थी भएको नाताले आजको आलेखमा नेपाली शासकको विगत र वर्तमानको अवस्थालाई केलाउने क्रममा पछाडि परिएका वा कम महत्त्व दिएका विषयहरूलाई उजागर गर्ने कोसिस गर्दछु । 

राणा शासन

नेपालमा विक्रम सम्मत १९०३ साल देखी २००७ साल सम्म १०४ वर्ष राणा शासन चल्यो । नेपालमा चलेको हाल सम्मको सबै भन्दा लामो शासन यही हो । यस समयमा जनता शिक्षा बाट वञ्चित रहे देशमा कानुन, संविधान केही थिएन राणाका हुकुम नै कानुन थियो । जनता राणाका आदेश पालक मात्र थिए । उनीहरूले जनतालाई दुःख सिवाय केही दिएनन् भन्ने मान्यता वा बुझाइलाई हामी समक्ष पढाइएको वा बुझाइएको सत्य हो । 

तर के राणा शासकहरूले देशका लागी केही गरेनन् त ? दर्पणवादी मान्यता को आधारमा हेर्ने हो भने राणाहरूले पनि यो देशमा धेरै राम्रो कार्य गरेका छन् । जङ्गबहादुरले १९०६ देखी १९१० सम्म बेलायत यात्रा गरिरहँदा आज सम्म विदेश भ्रमणमा जाने नेपाली नेताहरूमा सबै भन्दा बढी सम्मान पाए । उनले देशको स्वतन्त्रताको पक्षमा लिएको अडानले विश्व सामु नेपाललाई चिनाएको वास्तविक सत्य जति सुकै लुकाउन खोजे सम्भव छैन । 

जङ्गबहादुरलाई बेलायतको यात्राबारे कमलमणि दीक्षितले ‘जङ्गबहादुरको बेलायत यात्रा’ पुस्तक प्रकाशित गरे । जहाँ नेपाल र बेलायतमा भएको विकासका बिचको फरक अवस्थाको चित्रण गरिएको छ । बेलायतबाट फर्कँदा जङ्गबहादुरले अङ्ग्रेजी भाषालाई शिक्षाको रूपमा ल्याए । नयाँ घर र भवनका नमुनाका डिजाइन ल्याए, के यो उपलब्धि हैन ?

राणाहरूकै पालामा सिंहदरबार बबरमहल, केशर महल हुँदै टुडीखेल देखी खुल्ला मञ्च सम्म निर्माण भएका छन् । दशरथ रङ्गशाला देखी विभिन्न पुरातात्त्विक सम्पदा भएका ठाउँको संरक्षण राणाजीहरूबाट नै भएको हो । राणाले बनाइदिएको सिंहदरबारमा बसेर उनैले राखिदिएको खुल्ला मञ्चमा भाषण गरी राणालाई गाली गर्नु कति उचित होला ? राणाले समय अनुसार परिवर्तन बुझ्न सकेनन् तर उनीहरूले गरेका राम्रा कामबाट पाठ सिकेर अझ राम्रो कार्य गर्नुपर्दछ । राणाले जोगाइदिएका ललिता निवास देखी अन्य संरचनाहरू अवाञ्छित रूपमा भागबन्डा गरेर राणाको विरोध गर्न मिल्दैन । राणाहरूले चन्द्र नहर बनाउने देखी सती प्रथाको अन्त्य गर्दै नेपालबाट गुमेको कैलाली, कञ्चनपुर, बाँके र बर्दिया समेत फिर्ता ल्याए  । जसलाई हामी पाठक सम्म पुर्‍याउन कन्जुस्याइँ गरिरहेका छौ । 

पञ्चायती व्यवस्था

नेपालमा राणा शासनको अन्त्य पछि प्रजातन्त्रको स्थापना भयो जसको चर्चा म पछाडि गर्ने छु । २०१७ साल पुष १ गते बाट पञ्चायती व्यवस्थाको सुरुवात भयो । मलाई लाग्छ त्यो नेपाल विकासको स्वर्णिम युग हो । किनकि ३० वर्षमा नेपालले ठुलो फड्को मार्‍यो । 

हाम्रो पाठ्यक्रममा एक तन्त्रीय पञ्चायती व्यवस्थाका कमीकमजोरीहरू मात्र प्राथमिकतामा राखी पढाइए । त्यस समयका विकास निर्माणलाई गौण बनाई अध्ययन गराइयो । २०११ साल चैत्र ११ देखी २०२८ साल माघ १७ सम्म यो देशमा जम्मा १६ वर्ष १० महिना ६ दिन राज्य सञ्चालन गर्दा राजा महेन्द्रले ताप्लेजुङ देखी दार्चुला सम्म रहेका भारतीय सेनामा १७ वटा क्याम्प हटाए । 

विराटनगरको सूखा बन्दरगाह हटाए, जनकपुर चुरोट कारखाना, वीरगन्ज चिनी कारखाना, हिमाली सिमेन्टको स्थापना भयो । नेपाल राष्ट्र बैङ्क, राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्कको सुरुवात भयो । गाउँ गाउँमा शिक्षालय, महेन्द्र राजमार्ग, कोदारी राजमार्ग, भूमि सुधार देखी मोहियानी हक सम्मको व्यवस्था जस्ता महत्त्वपूर्ण कार्य महेन्द्रकै शासन कालमा भए । यति हुँदा समेत नेपाली जनताका नाममा एक रुपैयाँ ऋण सम्म बोकाएनन् । 

राजा वीरेन्द्रका पालामा पनि धेरै कामहरू भए । सुधारिएको पञ्चायती व्यवस्था र गाऊँ फर्क अभियान उनैले चलाए । यस्ता राम्रा कार्यबाट आजका नेताहरूले किन पाठ नसिकेका होलान् भन्ने प्रश्नले मलाई सताई रहन्छ । यद्यपि मैले राणा शासन वा पञ्चायती व्यवस्था ल्याउनु पर्छ भनेको हैन । उनीहरूको राम्रा कामको अनुसरण गर्न पर्छ भन्ने मान्यता हो ।

राजतन्त्र देखी गणतन्त्र सम्म

२००७ सालमा नेपालमा प्रजातन्त्र आयो, २०१५ सालमा आम निर्वाचन भयो । त्यस पछिका १ वर्षमा धेरै कामहरू भए । बिपी कोइराला जनताका छोरा जनताको जनमत द्वारा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बने । केन्द्रीकृत शासन व्यवस्था रहेको त्यस समयमा राणाको प्रभाव बाकी थियो । पञ्चायती व्यवस्थाले जरो गाड्न थालिसकेको थियो । त्यही बेला हो बिपीले चीनसँग वार्ता गरी सगरमाथा नेपालको भनी कायम गराएको । 

नेपालका ३६ जिल्लाहरूमा आयुर्वेद स्वास्थ्य केन्द्र खोली जनतालाई सित्तैमा औषधी बाँड्न त्यही बेला सुरु भयो । सुवर्ण शमशेरलाई उपकुलपति बनाई त्रिभुवन विश्व विद्यालयको स्थापना बिपीले नै गराए । नेपालका धेरै ठाँउहरुमा विद्यालयहरू खुले, नेपाललाई संयुक्त राष्ट्र सङ्घमा दर्ता गराउने लगायत धेरै महत्त्वपूर्ण कार्य बिपीको एकबर्षे कार्यकालमा भए । 

२०४६ सालको जनआन्दोलन मार्फत जनताले अँध्यारो हटेर उज्यालो आउने आस गरेका थिए । तर त्यसो भएन । बहुमत प्राप्त गरेको काँग्रेस बौलाएर मध्यावधि गर्न तर्फ अगाडि सर्न खोज्यो । मध्यावधि निर्वाचन भयो । त्यसपछि नेपालको राजनीतिमा नातावाद कृपावाद चल्न थाल्यो । विभिन्न काण्डहरू देखा पर्न थाले । धमिजा काण्ड, लाउडा काण्ड, महाकाली सन्धि जस्ता काण्डले जनता आजित हुँदै गए । फलतः २०५२ साल बाट माओवादीले सशस्त्र युद्ध सुरु भयो । 

सोझा सिधा जनतालाई युद्धमा होमियो । १७ हजारको नागरिकको ज्यान गयो । त्यसपछि गणतन्त्र प्राप्ति भयो तर गणतन्त्र कम र छाडातन्त्र बढी देखापर्यो । नेता र राजनीतिक दलहरू नातावाद र कृपावादमा चुर्लुम्म डुबे । देशमा झन् काण्डै काण्ड मच्चियो । क्यान्टोनमेन्ट घोटाला, सुडान घोटाला, यती र ओम्नी काण्ड, टेरामेक्स प्रकरण, एनसेल कर छली, भुटानी शरणार्थी, ललिता निवास, कैलाली जग्गा काण्ड, गिरीबन्धु जग्गा प्रकरण, सुन तस्करी हुँदै सहकारी सम्मका प्रकरण बाहिर आए । परिणाम स्वरूप जनता निराश भएर विदेश हिँड्न बाध्य भए ।

गणतन्त्र पछि काम नै नभएको भने हैन तर जति हुन पर्ने त्यति न भएको भने पक्का हो । नेताले जनतालाई आस देखाई भरोसा योग्य कार्य गर्नुपर्नेमा आफन्तवादमा रुमलिएको सत्य हो । गणतन्त्र प्राप्ति पछि जनता पनि छाडा भए । अड्डा अदालत र कानुनलाई मान्न छोडेर दल र नेताका आसेपासे बने । कहिले काँग्रेस र कहिले कम्युनिस्टका नाममा र अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका नाममा प्रशासन, कानुन र न्यायपालिकाको धज्जी उडाइरहेका छन् । 

अन्त्यमा, राणा शासन ढल्यो राणा यही देशमा बसिरहेका छन् । पञ्चायत ढल्यो पञ्चहरू यही देशमा बसिरहेका छन् । राजसंस्था ढल्यो राजा पनि देशमै बसिरहेका छन् । किनकि उनीहरूले सत्ता सञ्चालन गरे तर राष्ट्रघात र भ्रष्टाचार गरेनन् । त्यसैले आज पनि उनीहरू खुल्लमखुल्ला चौडा छातीका साथ देशमै हिडीरहेका छन् । 

राणाले देश जोगाए । पञ्च र राजाहरूले पनि जोगाए । जनताका छोराछोरीले देशको बागडोर आफ्नो हातमा लिई राज्य सञ्चालन गर्दा देशमा बेथिति, भ्रष्टाचार, दुराचार, अन्याय, अत्याचार, निराशा बाहेक केही पाएनन् । यस्तै अवस्था मौलाउँदै गएमा देश नै नरहने खतरा समेत हुन सक्दछ । समयमै नेताहरू सुध्रिन नसके राजा र राणाले देशमा बस्न पाए तर दलका नेतालाई जनताले कुटिकुटी देशबाट निकाल्ने र देशमै बस्न नदिने अवस्था टाढा छैन ।

*शिर्षकमा भुलसुधार गरिएको I