• रमेश काफ्ले 

नेपालको सबैभन्दा ठुलो प्रजातान्त्रिक राजनैतिक दल भनेर नेपाली काँग्रेस दलिल गर्छ । २००६ सालमा नेपाली राष्ट्रिय काँग्रेस र नेपाल प्रजातान्त्रिक काँग्रेसको एकीकरणबाट नेपाली काँग्रेसको निर्माण भयो । तत्कालीन समयमा बिपी कोइरालाले जनताबाट निर्वाचित एउटा संस्था बनाउने सङ्कल्प गरे ।

बिपी आफ्नो पालामा स्पष्ट दृष्टिकोणका साथ काँग्रेस अगाडि बढेको थियो । देश विकासको मोडल बनाउने बेलामा गरिबको झुपडीलाई हेरेर बनाउनु पर्ने विचार थियो उनको । हरेक नेपालीको एउटा घर होस्, एउटा गाई होस्, बालबालिकाहरूले शिक्षा पाउन र सबैको स्वास्थ्य उपचार होस् भन्ने मान्यता बिपीको थियो । यसको मतलब हरेक परिवारलाई जीविकोपार्जन गर्न समस्या नहोस् भन्ने हो । स्वावलम्बी परिवार होस भन्ने चाहना हो।

समाजवादी बिपीले आफ्नो जीवन कालमा साम्यवादी कम्युनिस्टसँग सम्झौता गरेनन् र नगर्न सुझाव पनि दिए । कम्युनिस्ट आफ्नो आकार भन्दा धेरै माग्दछन् र माग्न पाउँदा उनीहरू शक्तिशाली भए भने जति मागे पनि दिँदैनन् भन्ने बिपी बुझाई थियो । अहिले हेर्दा रुखमा हुर्किएका कार्यकर्ता हँसिया हतौडा, कलम र छाता बोक्न बाध्य छन् । जे होस काँग्रेसको नेतृत्वमा राम्रै रमिता चलिरहेको छ ।

२०४६ सालमा काँग्रेस र कम्युनिस्ट एकै भएर आन्दोलन भयो । त्यो आन्दोलनको भरमा २०१७ सालमा गुमेको प्रजातन्त्र पुनर्स्थापना भयो । मिलीजुली सरकार बनाइयो । त्यसपछि सुरु भयो काँग्रेसको क्षयीकरण । २०४८ सालमा नेपाली काँग्रेसले बहुमत ल्यायो । आफ्नै कारण काँग्रेसले सरकार ढल्यो । मध्यावधि चुनावपछि नराम्रोसँग काँग्रेस पछारियो । जुन स्वाभाविकै थियो । २०५६ मा पुनः कृष्ण प्रसाद भट्टराईको लोकप्रियताको आधारमा काँग्रेसले बहुमत पायो । 

२०५८ मा शक्तिको होडबाजीले काँग्रेसलाई फुट सम्म पुर्‍यायो । शेरबहादुर देउवाले नेपाली काँग्रेस फुटाएर प्रजातान्त्रिक काँग्रेस गठन गरे । पछि दुवै काँग्रेस एकीकृत भए । अहिले काँग्रेसको सभापतिमा अवसर नपाएर पार्टी फुटाउने उनै देउवा छन् । 

अब उपनिर्वाचनकै कुरा गरौँ न । तनहुँ १ मा काँग्रेसले गोविन्द भट्टराईलाई उम्मेदवार बनायो । भट्टराई असल नेताकै रूपमा चिनिन्छन् । नेपाल विद्यार्थी सङ्घको अध्यक्ष भइसकेका परिपक्व नेता हुन भन्ने लाग्छ । लामो समय हालका राष्ट्रपति रामचन्द्र पौडेलको छाँयामा परेका उनलाई न्याय भएको मैले पनि महसुस गरेँ । 

यही बेला स्वर्णिम वाग्लेले पार्टी छोडे । वाग्ले काँग्रेसमा रहँदा महामन्त्री गगन थापा निकट मानिन्थे । अहिले सभापति देउवाले गगनलाई अप्ठ्यारोमा पार्ने गरी भट्टराईलाई जिताउने कमान्डर बनाएका छन् । भलै सफल होलान् नहोलान् गगनले पनि आफ्नो धर्म निर्वाह गरिरहेकै छन् ।

स्वर्णिम राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त व्यक्तित्व हुन् । उनको क्षमता, बौद्धिकता र अन्तर्राष्ट्रिय पहुँच लोभलाग्दो नै छ । उनका क्षमता देखाउने सवालमा काँग्रेसले अवसर दियो । जसले स्वर्णिमको राजनीतिक हैसियत उचालिएको सत्य हो । 

स्वर्णिम काँग्रेसमै भएको भए केही आकर्षण थपिन्थ्यो होला । तर पार्टी भनेको मजदुर, किसान, व्यापारी, वकिल, शिक्षक, स्वास्थ्य कर्मी, कलाकर्मी, पत्रकार, सङ्गीतकार, बौद्धिक, विश्लेषक सम्म अटाउने थलो हो । 

गगन थापा र विश्वप्रकाश शर्माले महामन्त्रीको नेतृत्व सम्हालिरहेका छन् । यही बेला मनिष झा, स्वर्णिम वाग्ले जस्ता प्रतिभाशाली युवाले नयाँ पार्टी प्रवेश गरिरहेका छन् । राजनीतिमा परिवर्तन गर्न नसकेका दुई महामन्त्रीले किन भरोसा दिलाउन सकेनन् ? यो प्रश्न मेरो मनमा गढिएको छ । 

हुन त मैले सोचेजस्तो सहज राजनीति पनि छैन । तर काँग्रेसले स्वर्णिमलाई अर्थमन्त्री बनाई ६ महिनामा राष्ट्रिय सभा सदस्य बनाएको भए हुने थियो । अर्थतन्त्र पनि सही गतिमा आउने थियो की भन्ने आशा हुन्थ्यो । गोविन्द भट्टराईको राजनैतिक भविष्य पनि सुरक्षित गर्न सकिन्थ्यो । असन्तुष्टि आशा भएका सँग नै पोख्ने हो । खोइ त दुई युवा महामन्त्रीले आफ्नो क्षमता देखाएको ? युवा महामन्त्रीको आकर्षक कार्यक्रम के छ ? अझै कहिले सम्म पर्खिनुपर्ने ? स्वर्णिम र मनिषले पार्टी छाड्दा गगन विश्वको मन पोलेन ?  

काँग्रेस भित्रको गिरोहको कारण स्वर्णिम गए । मनिष झाले काँग्रेसमा अवसर देखेनन् र नयाँ पार्टी राजे । यस्ता धेरैले काँग्रेस छोडिसके । अरू धेरै छाड्ने तयारीमा छन् । यही शैलीले काँग्रेस सच्चिएला भन्ने आशा र अपेक्षा पनि छैन । ठुलो पार्टी भएको अहङ्कारमा चलिरहेको छ काँग्रेस ।  

स्थानीय तहदेखि केन्द्रसम्मका जनप्रतिनिधि गुटबन्दीको घेराबन्दीमा छन् । एउटाले अर्काको राजनीति सिद्ध्याउने खेलमा छन् । राजतन्त्रकै झल्को दिलाउने गरी रवाफ छ जनप्रतिनिधिको । अब ४ बर्षमात्र बाँकी छ भन्ने हेक्का राख्दैनन् उनीहरू । यसरी काँग्रेस जराबाट क्षयीकरण भइरहेको छ । १०० किलो फलाम भन्दा १ किलो सुनको दाम बढी हुन्छ भन्ने काँग्रेसले बिर्सियो । किनकि आज राम्रा मानिसले काँग्रेस फटाफट छोडी रहेका छन् । 

पत्रकार चेतन धमला पुस्तक ‘पौरख’ मा ‘मानिसले कार जिन्दगी होइन डोजर जिन्दगी बाँच्नु पर्छ’ भनिएको छ । अर्थात् डोजरले बाटो बनाउँछ र डोजरले बनाएको बाटोमा कार हिँड्छ । काँग्रेस डोजर हुनुपर्ने कार भयो यो नै विडम्बना हो । बिरुवालाई सपार्न जरामा पानी हाल्नु पर्छ पातमा हैन । स्वर्णिम, मनिष र जगन्नाथ पौडेल जस्ता काँग्रेसका डोजरले काँग्रेसलाई छोडी सके । नेताको चाकडी गर्ने हुक्के, चिलिमे र बैठकेहरू संसद् र मन्त्री भए । 

अन्त्यमा बिपीको एउटा भनाई स्मरण गर्न मन लाग्यो । ‘पार्टीमा एक समय आउने छ । जति वेला सुकिला मुकिला पार्टीमा हाबी हुनेछन् र तिनका विरुद्ध सच्चा कार्यकर्ताले पुनः क्रान्ति गर्नुपर्नेछ’ ।  

लेखक नेपाली काँग्रेस सुनसरीका नेता हुन् ।