औजार : आजको औजार दैनिकमा “घर–घरमा पाइपलाईनबाट ग्याँस वितरण गर्ने योजना” शीर्षकको समाचार छापिएको छ । धरान उपमहानगर पालिकाले फोहोरबाट ग्याँस उत्पादन गर्ने तयारी अन्तिम चरणमा पुर्याएको छ । उर्जा उत्पादन गर्दै धरान ६ स्थित पानवारीका स्थान्ीयलाई पाइपलाइनबाट ग्यास वितरण गर्ने धरान उपमहानगरपालिकाले योजना बनाएको छ । धरान उपमहानगरपालिकाले फोहोरमैलालाई व्यवस्थापन गर्दै बायो ग्याँस उत्पादन गर्न निजी कम्पनी संगको साझेदारीमा वडा नम्बर ६ स्थित पानबारीमा फोहोरबाट उर्जा उत्पादनका लागि प्लाण्टको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । करिब डेढ महिनामा सम्पन्न भईसक्ने उर्जा उत्पादन प्लान्टबाट पहिलो फेसमा ट्याम्पोमा प्रयोग गर्ने र पुरै फेस सञ्चालनमा आएपछि पहिलो चरणमा वडा नं. ६ का स्थानीयलाई पाइपलाइनबाट ग्यास वितरण गर्ने योजना बनाएको धरान उपमहानगरपालिकाकी कार्यबाहक प्रमुख मञ्जु भण्डारी सुवेदीले बताइन् ।

ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “फेल भएको निहुँमा विद्यार्थीमाथि कुटपिट” शीर्षकको समाचार छापिएको छ । विराटनगर ४ राजवंशी चौकस्थित अर्पण स्कुलका शिक्षकले नियमित स्कुल नआएको र फेल भएको भन्दै एकजना विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन् । अर्पण स्कुलका सञ्चालक पनि रहेका शिक्षक निमेष बस्नेतले धाराको पाइपले कक्षा ८ मा अध्ययनरत मोरङ बूढीगंगा गाउँपालिका २ टङ्कीसिनवारीका १४ वर्षीय रोशनी भण्डारीलाई निर्घात कुटपिट गरेका छन् । शिक्षक बस्नेतको कुटाइबाट विद्यार्थी घाइते भएकी छन् । स्कुलले लिएको दोस्रो सेमिस्टारको परिक्षामा फेल भएको र नियमित स्कुल नआएको भन्दै सोमबार दिउँसो शिक्षक बस्नेतले विद्यार्थीलाई धाराको पाइपले कुटपिट गरेको भनाई छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “पूर्ववाणिज्य मन्त्री मीन विश्वकर्मालाई कारबाहीको माग” शीर्षकको समाचार छापिएको छ । राजनीतिक आडमा सहकारीको रकम हिनामिना गरेको आरोपमा सल्लेरी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले पूर्व वाणिज्यमन्त्री मीन कुमार विश्वकर्मालाई समेत कारवाहीको माग गरेका छन् । सल्लेरी सहकारीका अध्यक्ष तथा शिखर सगरमाथाका सञ्चालक कृष्णबहादुर विश्वकर्मासँग मिलेर नेपाली कांग्रेसका नेता तथा पूर्ववाणिज्यमन्त्री विश्वकर्माले जनताको सम्पति हडपेको उनीहरुको आरोप छ । ठगी काण्डमा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य सांसद विश्वकर्माको पनि मिलेमतो भएको तर कतैबाट पनि निष्पक्ष छानविन गरेर कारबाहीको दायरामा नल्याएको पीडितहरुले बताए । विश्वकर्मालाई कारबाहीको माग गर्दै सल्लेरी बचत तथा ऋण सहकारी संस्था पीडित सङ्घर्ष समितिले बचत फिर्ता अभियान अन्तर्गत पूर्व वाणिज्य मन्त्री विश्वकर्मासहित कृष्ण विश्वकर्माको परिवारलाई छानविनको दायरामा ल्याउन माग गरेको हो ।