हँसिलो मुहार भएको मानिस सबैको प्यारो हुन्छ । जस्तोसुकै परिस्थितिमा पनि जो मुस्कुराउन सक्छ, उसैको जीवन सफल हुन्छ । हाँसो सर्वसुलभ प्राकृतिक औषधि नै हो । हाँस्नुका फाइदा यस्ता छन्:

तनाव कम

हामी हाँस्दा हाम्रो शरीरमा एक किसिमको हर्मोन उत्पन्न हुन्छ , जसले तनाव कम गर्छ । त्यसैले, दिल खोलेर हाँसौ । कठिन परिस्थितिमा पनि हाँस्न सक्नु नै स्वस्थ रहने सरल उपाय हो ।

स्वस्थ जीवन

हाँस्दा शरीरका अंगहरू सक्रिय हुने गर्छन् । जसकारण हाम्रो शरीरमा स्वतः ऊर्जा आउँछ । खुलेर हाँस्दा रक्तप्रवाह राम्ररी हुन्छ । शरीरमा पर्याप्त अक्सिजन पुग्छ र मुटुको पम्प रेटलाई ठीक राख्न मद्दत हुन्छ । त्यस्तै, हाँसोले प्रतिरक्षा प्रणाली पनि बलियो बनाउने भएकाले शरीरलाई बाहिरी ब्याक्टेरियाबाट जोगाउँछ । साथै, अनिद्राको समस्या हटाउन पनि हाँस्न जरुरी छ ।

व्यवसायमा सफल

व्यवसाय गर्ने मानिस प्रायः सधैँ हँसिलो देखिन्छ । अरूको मन जित्नका लागि पनि मुस्कुराउन जरुरी छ । मुस्कुराउने वा नरम हुनाले एक-अर्कासँगको सम्बन्ध सुमधुर बनाइदिन्छ । जो व्यवसायीका लागि सकारात्मक पक्ष हो । हँसिला मानिस मात्र व्यवसायमा सफल छन् भन्ने प्रमाणित भइसकेको तथ्य हो ।

सकारात्मक ऊर्जा पैदा

जब हामी हाँस्छौँ, फोक्सोमा ताजा हावा पुग्छ । यसले शरीरमा अक्सिजनको आपूर्ति सहज बनाइदिन्छ । अनि, शरीरमा सकारात्मक ऊर्जा प्रदान हुन्छ । खुलेर हाँस्दा पीडा, चिन्ता दूर गराउँछ र नकारात्मक भावना पैदा हुन दिँदैन । बिहानको ताजा हावामा उन्मुक्त तरिकाले हाँस्नुपर्छ । अनि, बिहानैदेखि खुसी छाउँछ ।

सामाजिक सम्बन्ध विकास

अमेरिकामा भएको एक अध्ययनले हँसिला मानिसको परिवारमा सम्बन्धविच्छेद कम हुने देखाएको थियो । मुस्कुराएर बोल्दा परिवारमा झै-झगडा कम हुने र सम्बन्ध सुमधुर रहने हुन्छ । यसले एक-अर्कामाथि द्वेषको भावना आउँदैन । फलस्वरूप सामाजिक सम्बन्धसमेत बलियो हुन्छ ।