ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “बजेट फ्रिज गराउने ठेकेदारलाई नै ठेक्का” शीर्षकको समाचार छापिएको छ । झापाको केर्खा क्याम्पा सरङ्पाडा बैगुन्धुरा सडक निर्माणका लागि पहिलो पटक २०७४ साल असार २० गते ६ करोड ३३ लाख रुपैयाँको लागतमा २०७६ साल असार १९ गतेसम्ममा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । तर सडक निर्माण पूरा नभई बजेट फ्रिज भएर गयो । सडक निर्माणका लागि ललितपुरको रोशन शाह इञ्जिनियरिङ जेभीसँग सम्झौता गरेको भएपनि सो अवधिमा ३० प्रतिशतमात्र काम गरेर निर्माण कम्पनी सम्पर्कविहीन भएको थियो । विनियोजित बजेट काम नभएपछि फ्रिज भएको थियो । यसरी काम नगरेर रकम फ्रिज गराउनेलाई कारबाही गर्नुको साटो सोही बाटो निर्माणका लागि उही ठेकेदारसँग नयाँ सम्झौता गरिएको छ । सो सडक निर्माणका लागि पछिल्लो पटक ७ करोड २२ लाख ८ हजार रुपैयाँमा नयाँ ठेक्का सम्झौता भएको छ । यो अघिल्लो ठेक्काको तुलनामा ९० लाख ८ हजार रुपैयाँ बढी हो ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “रंगेलीका मेयर विरुद्ध कार्यपालिकाका बहुमत सदस्य आन्दोलित” शीर्षकको समाचार छापिएको छ । मोरङको रंगेली नगरपालिकाका प्रमुखविरुद्ध बहुमत सदस्यले आन्दोलन शुरु गरेका छन् । नगरप्रमुख दिलिप बगडियाले मनोमानी ढंगले काम गर्ने गरेको र कार्यपालिका सदस्यलाई समेत वास्ता नगरेको भन्दै आन्दोलन शुरु भएको हो । कार्यपालिकाका चार वडा अध्यक्ष सहित १२ सदस्यहरु न्गरपालिकामै संयुक्त रुपमा पत्रकार सम्मेलन गरी प्रमुख बगडियाले चार महिनादेखि कार्यपालिका बैठक नराखी मनोमानी ढंगले नगरपालिका चलाएको आरोप लगाएका छन् । उनीहरुले प्रमुखले आफ्नो कार्यशैली नसच्याए मंसिर ८ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गर्ने चेतावनी दिएको छ ।

उद्घोष : आजको उद्घोष दैनिकमा “डिजेल बोकेको ट्यांकर गायब” शीर्षकको समाचार छापिएको छ । नेपाल आयल निगमको अमलेखगञ्ज डिपोबाट बिराटनगर डिपोका झण्डै साढे १९ लाख रुपैयाँ बराबरको २० हजार लिटर डिजेल बोकेरहिडेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर नम्बरको ट्यांकर अपहरमा परेको छ । आइतबार अमलेखगञ्जबाट विराटनगरका लागि हिंडेको उक्त ट्यांकर राती सिरहाको लहान बजार आइपुगेर बास बसेको थियो । सोही समयमा टाटासुमोमा आएका अपहरणकारीको समूहले चालक र सहचालकलाई नियन्त्तणमा लिएर ट्यांकर अपहरण गरेर बर्दिबासको जंगलतर्फ लगेको जानकारी आएको सम्बद्ध ट्यांकर व्यवसायीहरुले जानकारी दिएका छन् ।