सुनसरी : बास्केटबलकोलागि उर्वर भूमि मानिने धरानमा अहिले हराइजन कपले बास्केटबल प्रेमीलाई उत्साह थपेको छ। सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बास्केटबलको प्रतिस्पर्धा र १३ औँ दक्षिण एसियाली खेलकुद सागको सफलतापूर्वक प्रशिक्षण गरिएको धरानमा बास्केटबल निकै लोकप्रिय छ । 
पछिल्लो समय राष्ट्रिय स्तरका प्रतियोगिता नभइरहेको बेला धरानमा होराइजन क्लबले आयोजना गरेको होराइजन कपले खेलाडी, दर्शक र आयोजकमा समेत उत्साह थपेको हो। धरानमा निकै लोकप्रिय रहेको बास्केटबल खेलका प्रतियोगिता हेर्न बास्केटबलप्रेमीहरु पूर्वी पहाडी जिल्लाबाट समेत आउने गरेको छन् । 
धरानमा अहिले जारी होराइजन कपमा प्रतिस्पर्धा गर्न नेपालका प्रतिष्ठित टिमदेखि विभागीय टिमका खेलाडीहरू समेत आतुर र उत्साहित हुने गरेको विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाण्डौका प्रशिक्षक पूर्णबहादुर खड्काले बताए । बास्केटबल खेलको प्रवर्द्धन गर्न स्थानीय स्तरका टिमहरू सहभागी गराई धरानकै प्रतिष्ठित प्रतियोगिता हराइजन कप अहिले राष्ट्रिय स्तरमा भइरहेको छ । 
प्रतियोगितामा विभागीय आर्मीसहित विभिन्न क्षेत्रका प्रतिष्ठित ८ टिमहरू सहभागी छन् । खेल हेर्ने दर्शकको सङ्ख्या पनि दिनानुदिन निकै बढिरहेको आयोजकको दाबी छ । नेपाली खेलकुदमा कमै मात्र चर्चा हुने बास्केटबलमा दर्शकको बढ्दो सहभागिताले आयोजक समेत हौसिएको हराइजन क्लबका अध्यक्ष वसन्त राई बताउँछन् । 
धरानमा कलेज र विद्यालय स्तरीय प्रतियोगिता पनि बेलाबखत हुँदै आएको छ । तर व्यावसायिक रूपमा ठुला प्रतियोगिता हुन नसकेको अवस्थामा हराइजन कप राष्ट्रिय स्तरको प्रतियोगिता बनेको छ । प्रतियोगिताको नियमित आयोजनाले खेलाडी उत्पादन, दर्शकको आकर्षण र खेलको विकासमा महत्त्वपूर्ण सहयोग पुग्ने नेपाल बास्केटबल सङ्घका उपाध्यक्ष सुरज लामा बताउँछन् ।
उनले भने ‘हराइजन बास्केटबल कप धरानमा सञ्चालन हुँदै आएको पहिलो अन्तर क्लब बास्केटबल प्रतियोगिता हो ।’ धरानमा २०१० सालमा घोपा क्याम्प स्थापना भएपछि बेलायतीहरूले उनीहरूका लागि बास्केटबल कोर्ट बनाएका थिए । त्यसबाट उत्प्रेरित भएर स्थानीय कलेज, स्कुलहरूमा बास्केटबल कोर्ट बन्न थाले पनि बास्केटबल खेलको व्यवस्थित प्रतियोगिता हुन सकेको थिए । 
पञ्चायतकलाको अन्तिम कार्यकाल तिर २०४६ मा धरान नगर पञ्चायत कलेज स्तरीय प्रतियोगिता आयोजना गरे पनि त्यसले निरन्तरता थिएन । अहिले हराइजन बास्केटबल नेपालकै ठुलो पुरस्कार राशि भएको प्रतियोगिता बनेको छ । प्रतियोगिता विजेतालाई १ लाख, ११ हजार, १११ रुपया नगद पुरस्कार प्रदान गरिने छ । उपविजेताले ५५ हजार ५५५ रुपया पाउने छ । सर्वोत्कृष्ट खेलाडीलाई ११ हजार, उदीयमान खेलाडीलाई ५ हजार र प्रत्येक खेलमा म्यान अफ दि म्याच घोषित खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने छ।    
हराइजन क्लब २०५१ सालमा स्थापना भई विभिन्न कार्यक्रमहरू गर्दै आएको थियो । २०६९ मा विधिवत् दर्ता भएपछि पहिलो पटक बास्केटबल प्रतियोगिता आयोजना गर्न थालेको हो । प्रतियोगिता अहिले छैठौ संस्करण सम्म निरन्तर सञ्चालन हुँदै आएको छ । प्रतियोगिता धरान-१७ स्थित श्री घोपा माध्यमिक विद्यालय स्थित हराइजन बास्केटबल कोर्टमा सञ्चालन भइरहेको छ । उक्त कोर्ट २०४५ सालमा ब्रुनाइमा रहेका धरान-१७ का गोर्खा भूपूहरूको सहयोगमा बास्केटबल कोर्ट बनेको हो । 
प्रतियोगिताको मुख्य प्रायोजक टुबोर्ग बियर उत्पादक गोर्खा ब्रुअरी प्रालि रहेको छ । सह-प्रायोजक धरान-१७ हङकङ समाज र धरान युके समाज रहेका छन् । नेपाल बास्केटबल सङ्घ, सुनसरी जिल्ला बास्केटबल सङ्घ, कोइच क्याफे, सेन्ट जोसेफ इङ्लिस स्कुल, मेहर कलेक्सन सहयोगी संस्थाहरू रहेका छन् ।
Horizan-Basket-ball