धरान : विभागीय टिम त्रिभुवन आर्मी क्लबले छैठौं हराईजन राष्ट्रिय बास्केटबल कपमा विजयी सुरुवात गरेको छ । 

धरानमा शनिवार देखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक हराइजन क्लब धरानलाई ८६–१३१ स्कोरले पराजित गर्दै आर्मीले विजयी सुरुवात गरेको हो । पहिलो क्वाटर २४–३६, दोस्रो ४५–५९, तेस्रो क्वाटर ६०–९७ स्कोरले जितेको आर्मीले अन्तिम क्वाटरमा ८६ का विरुद्ध १३१ स्कोर निकाल्दै सहज जित हात पारेको हो । 

खेलको म्यानअफ द म्याच डिफेण्डिंग च्याम्पियन आर्मीका निश्चल महर्जन भए । उनले सर्वाधिक २७ अङ्क जोडेका थिए । चैत ११ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद १ लाख ११ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ भने उपविजेताले ५५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा गत वर्षको तुलनामा यो वर्ष नगद पुरस्कार राशि थप गरिएको क्लबका अध्यक्ष वसन्त राईले जानकारी दिए । अघिल्लो संस्करणमा प्रथम पुरस्कार १ लाख र उपविजेताको पुरस्कार ५० हजार मात्र रहेको थियो । यस्तै, यस पटक सर्वोत्कृष्ट खेलाडीले नगद ११ हजार पाउनेछन् भने उदयीमान खेलाडीले ५ हजार पाउनेछन् ।

२०६९ सालदेखि सुरु भएको प्रतियोगितामा पहिलो र दोस्रो संस्करणमा आयोजक हराईजन क्लब विजयी भएको थियो भने २०७३ र २०७५ मा इमोर्टल्स क्लब धरान विजयी भएको थियो । यसै गरी २०७७ मा नेपाल आर्मी क्लब काठमाण्डौं विजयी भएको थियो ।